Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको सिमभन्ज्याङमा यस्तो छ, रोजगारसंगै विकासकाे नमुना काम

युवाहरु आफ्नो गाउँ टोलमा सडक खन्न, सरसफाइ गर्न एकजुट भएको खबर र क्रियाकलापहरु देखिएकै हो । तर, मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ४ सिमभन्ज्याङका युवाहरु पर्यटकीय भ्यु प्वाइन्ट बनाउनको लागि एक जुट भएकाछन् ।

भ्यू प्वाइन्ट निर्माण गरेर त्यसको नाम ‘थाहा पत्थर’ राखिएको छ । विकास पूर्वाधारतर्फ पर्यटकलाई आकर्षण गर्ने र त्यसलाई स्थानीय आजआर्जनसंग जोड्ने सिमभन्ज्याङबासीले थालेको यो अभियान प्रशंसनीय छ । सिमभन्ज्याङका युवाहरु प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जागरुप भई पर्यटन प्रवद्र्धनका काममा जुटेका हुन् । कार्यक्रम अन्तर्गत वडामा संचालन हुने योजना सिमभन्ज्याङमा संचालन गरिने निर्णय भएपछि युवाहरु विकासका लागि एकजुट भएका हुन् । रोजगार कार्यक्रम सिमभन्ज्याङमा संचालन गर्न वडा समितिबाट निर्णय भई कार्य प्रारम्भ भएको हो । पर्यटकको बसाइ लम्ब्याउने खालको युवाहरुको कामप्रति थाहानगरका मेयर लवशेर विष्टले खुशी व्यक्त गरे । 

वडामा सूचीकृत भएका बेरोजगार मध्ये ३४ युवाहरुको सक्रियामा सिमभन्ज्याङ पैदल मार्ग (ट्रेकिङ रुट) निर्माण गरिएको हो । थाहा नगरपालिका रोजगार सेवा केन्द्रको एकलाख ५७ हजार पाँचसय रुपियाँको लागतमा शुरु गरिएको योजनाले पूर्णता पाएसंगै पर्यटकलाई सिमभन्ज्याङमा लोभ्याउने संरचना स्थापित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन कार्यविधि बमोजिम वडाको प्राथमिकतामा संचालन गरिने योजना अन्तर्गत सिमभनज्याङमा ट्रेकिङ रुट निर्माण गरिएको थाहा नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक सुभाष गौतमले बताए । गौतमले ठाउँ सुहाउँदो काम सिमभन्ज्याङमा भएको बताए । थाहा नगरपालिका रोजगार सेवा केन्द्रबाट मात्र विनियोजित बजेटले त्यती धेरै काम सम्पन्न भएको होइन त्यसका लागि स्थानीयहरुले सकेको सघाउ गरेका छन् । सक्नेले ढङ्गा ओसारे, कसैले सरसफाई कोहीले खन्ने खोर्सने गरेर मिलीजुली काम भएको छ । अहिले सिमभन्ज्याङ पुगेका पर्यटकहरु एकपटक थाहा पत्थर पुग्ने रुट हिँडेरै छाड्छन् । सडकबाट करिब १ सय ५० मीटरको दुरीमा रहेको थाहा पत्थर सिमभन्ज्याङको राम्रो भ्यू प्वाइन्ट हो । गर्मी मौसम र हिउँ परेको बेला पर्यटकको ओइरो लाग्ने यहाँ भ्यू प्वाइन्टले थप आकर्षण बढाएको निर्माणको टोली प्रमुख डेनी श्रेष्ठले बताए । सिमभन्ज्याङमा अहिले पनि सार्वजनिक विदाको दिन र शुक्रबार   आन्तरिक तथा बाह्यि पर्यटकहरुको   ओइरो लाग्छ । बास बस्ने पर्यटक र घुमफिरमा आउनेहरु थाहा पत्थरमा एक्कै छिन भएपनि पुग्छन् । थाहा ढुङ्गाबाट सुर्योदय सुर्यास्त तथा हिमालका दृश्यहरु राम्रोसंग देखिने श्रेष्ठले बताए । रातको समयमा हेटौं र विरगञ्जका बजारहरुमा झलमल देखिने यहाँ अवलोकन र फोटो खिच्न पर्यटकहरु पुग्ने गर्दछन् ।

पर्यटकीय क्षेत्र थाहानगर, त्यसको पनि आकर्षण केन्द्र मध्येको एउटा ठाउँ हो, सिमभन्ज्याङ । त्रिभुवन राजपथ हुँदै हेटौंडाबाट आउँदा छिमेकी भिमफेदी गाउँपालिकाको सीमाना सकिने वित्तिकै पुगिने गन्तव्य नै सिमभन्ज्याङ हो । जिल्लाकै चिसो ठाउँको रुपमा पनि सिमभन्ज्याङ परिचित छ । करिब ५० किलोमीटरको दुरीमा रहेको हेटौंडामा असिनपसिन हुँदा सिमभन्ज्याङमा ज्याकेट लगाएर बस्नुपर्छ । यहाँको मौसम आन्दीत छ । यहि मौसमी मनोरञ्जनमा रमाउँन खास गरेर गर्मी हुँदा हेटौंडा, विरगञ्ज, चितवन तथा भारतका पर्यटकहरु सिमभन्ज्याङ आइपुग्छन् । त्रिभुवन  राजपथ सहित टापुमा टुपुक्क बसेको बजार, नजिकै घुमघामको पखेरा, सुविधासम्पन्न होटलहरु सिमभन्ज्याङको विशेषता हो ।



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।