Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको पुड्खेल खोलामा स्थानीयले चौतारो चिने, धारो बनाए

chisopani-1591281990.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पालुङ पुड्खेल खोलामा चिसोपानी धारा र चौतारो निर्माण गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको क्रममा भएको लकडाउनका बेला पालुङ मछिन्द्रघारीका ढकाल परिवारले धारा र चौतारो निर्माण गरेका हुन् । 

पुड्खेल खोलामा धेरै पहिलेदेखि चौतारो र धारो थियो । वनमा घाँस दाउरा गर्ने र भाङखोरियाबासी आउने जाने बाटै पर्ने प्ुड्खेल खोलामा रहेको चौतारा र धारो वि.सं. २०५० सालको बाढीले बगाएको स्थानीय सीताराम ढकालले जानकारी दिए । परापुर्ब कालदेखिनै आफ्ना पिता पुर्खाको नाममा चौतारा चिन्ने तथा पाटी पौवा र पोखरी निर्माण गर्ने चलन मासिँदै गइरहेको बेला ढकाल परिवारले यो काम गरेका हुन् । 

पुड्खेल खोलाको बाटो हुँदै भाङखोरियाका ८० घर तथा धुरी बदेली, पुड्खेल खोला, कार्की गाउँ र चुनिपाखाका करिब तीनसय घर वन जाने आउने बाटैमा चौतारो र धारा बनाएपछि विश्राम र पानी प्यास मेट्ने पुरानो थलो प्रयोगमा आउने भएको छ ।

पुड्खेल खोलामा मछिन्द्र पाती र लाकुरीको बिरुवा रोपिएको चौताराको पूर्वतर्फ चिसो पानीको धारो बनाइएको छ । निर्माणपछि चौतारामा मानिसहरु भारी बिसाएर बसेको देख्दा आफुलाई धेरै आत्मसन्तुष्टि मिल्ने गरेको चौतारा निर्माणमा अग्रणी भूमिकामा रहेको कविराज ढकाल बताउँछन् ।