Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको तीन पर्यटकीय गाउँको पूर्वाधार विकासका लागि तीन करोड

मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङको लाभग्राहीहरूको बस्ती माझगाउँमा पूर्वाधारहरूको विकास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ५० रुपैयाँ रकम विनियोजन गरेको छ ।

उक्त ऐतिहासिक बस्तीमा अशोक चैत्यलगायत ऐतिहासिक सम्पदाहरू रहेका छन् । थाहा नगरपालिका—६ कुन्छाल र पापुङमा पूर्वाधार विकास गर्न लागि १ करोड ५० लाख रुपैयाँ रकम छुट्याएको छ । जिल्ला आयोजना इकाई भवन हेटौंडाका इन्जिनियर रविन पाठकले भने, ‘थाहा नगरपालिकाको कुन्छाल, पापुङ र माझगाउ पर्यटकीय क्षेत्र पनि हुन्,त्यसैले पर्यटकलाई आकर्षण गर्न पूर्वाधार विकासको निम्ति रकम विनियोजित गरिएको हो ।’ २ वटा एकीकृत बस्ती र तीनवटा बस्तीका पूर्वाधार विकासका कामहरू चालु आवमा नै सम्पन्न हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

त्यस्तै मकवानपुरका दुई स्थानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना इकाई भवनमार्फत एकीकृत बस्ती निर्माण गर्ने भएको छ । एकीकृत बस्ती निर्माण गर्नका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको छ । आफ्नो स्वामित्वमा एकधुर जमिन पनि नभएका राक्सिराङ गाउँपालिका—५ का सकुम्बासी लाभग्राहीलाई मनहरी गाउँपालिका—५ जोगितालमा चार रोपनी जग्गा खरिद गरेर घर निर्माण गर्न लागेको हो ।

राक्सिराङ— ५ का १० घर लाभग्राहीलाई उक्त स्थानमा ल्याएर एकीकृत बस्ती निर्माण गर्न लागेको जिल्ला आयोजना इकाई भवन हेटौंडाका इन्जिनियर रविन पाठकले बताए । ‘जग्गा खरिद गरिसकिएको छ, डीपीआरको काम पनि हुँदै छ,’ उनले भने ।

यसैगरी मकवानपुरको दुर्गम कैलाश गाउँपालिका—१० बरमटारमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ । कैलाश गाउँपालिका—१० म्याङसेदुङस्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई वरमटारमा स्थानान्तरण गर्न लागेको हो । वरमटारमा ५ रोपनी जग्गा १० लाखमा खरिद गरिएको छ । लाभग्राहीले ३ लाख रुपैयाँको अनुदान रकमले भवन पुनर्निर्माण गर्ने तयारीमा जुटेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त एकीकृत बस्तीका लागि पूर्वाधार निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०