Sunday, 3rd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाकाे न्हुलगाउँ, टाैखेल, कलाँटु र तल्लो बिसिङ्खेलमा अझै दशैं आएन, ३ कात्तिकमा टीका

IMG_20241014_210156-1728919079.jpg

थाहा नगरपालिका चित्लाङका चार गाँउमा अझै दशै आएकाे छैन । वडा नम्बर १० स्थित गोपाली तथा गमाल समुदायले यसवर्षको दसैं एकसातापछि सारेका छन् । यस क्षेत्रका ऐतिहासिक गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दसैं परेकोले टीका पछि सारेका हुन् ।

उनीहरुले आगामी कात्तिक १ गते जात्रा मनाइसकेपछि ३ कात्तिकमा दसैंको टीका लगाउने रामकृष्ण गमालले जानकारी दिए ।

कार्तिक संक्रान्तिदेखि वरको छैठौं दिन महानवमी परेकोले दसैं पछि सरेको स्थानीय अक्षय गोपालीले जानकारी दिए । आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि 'आँग' अर्थात प्रसादका लागि जाँड राख्ने दिन हो ।कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए दसैंं मान्थ्यौंְ’ जात्राका गुरु श्याम बहादुर गोपालीले बताए ।

यसपाली अब चित्लाङको गोपालीको बसोबास रहेको न्हुँलगाउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दसैं सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए ।

कार्तिक संक्रान्तीका दिन गोपाली समुदायका गुठीयारहरुले 'आँग' अर्थात चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ अर्थात एक पटक मात्र कुटेको चिउरा प्रसादको रुपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

यस्तो छ, किंवदन्ती
धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ । यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ ।

यस मन्दिरमा पुख्यौली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाउनु पर्छ । जसलाई स्थानीय बासिन्दा ककः बजी भन्दछन् ।

सोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानीय भाषामा ‘ट्वाक प्याखा’ भनिन्छ ।

स्थानीय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जााड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचीनकालमा शोणितपूर भनिन्थ्यो । त्यहाँ राजा बाणासुरले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्द्रागिरी जंगल हुँदै बिसिङखेलको वनमा आइपुगे । उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको कथा छ ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साहृै रिस उठेछ । त्यसपछि कलाँटु गाउकाँ काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलङ पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिंग अफनो गाउँमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाउँलेमा चिन्ता बढेछ । क्षमापूजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चापको रुखको ठूटो हालसम्म मन्दिरमै छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०