nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिस्टुङमा श्रीमती जलाउने काेइरालालाई ९० सालसम्म कैद

ranjan-koirala-1653919582.jpg

पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले सशस्त्र प्रहरीका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई २० वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च हुदै सर्वोच्च पुगेका कोइरालालाई सर्वोच्च अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको २० वर्षको जेल सजाय बढी हुने ठहर गर्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए । सर्वोच्चले जतिबेला यो फैसला सुनाएको थियो, त्यतिबेला उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए । फैसलामा कोइरालालाई सुनाइएको ‘सजाय बढी पर्न जाने चित्तमा लागेको हुँदा’ कम ठहर गरिएको उल्लेख थियो ।

तर सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदनको निवेदन परेपछि सर्वोच्चले पुनरावेदनको निस्सा दिएको थियो । त्यसपछि उक्त मुद्दा पुनः ब्यूँतिएको थियो । केही दिनअघि मात्रै उक्त मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजाय हुने फैसला सुनाएका थिए । 

सर्वोच्चको उक्त फैसला लगत्तै प्रहरीको अपराध महाशाखाले कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको थियो । त्यसपछि फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । 

काठमाडौं जिल्ला अदालतले १६ जेठमा कैदी पूर्जी जारी गर्दै २३ मंसिर २०९० मा थुनामा राख्न र अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए त्यसपछि छोड्न भनेको छ । अदालतले दिएको कैदी पुर्जीमा सर्वोच्च अदालतको फैसलाको संक्षिप्त आदेशअनुसार १३ मंसिर २०९० मा थुनामा रहने र फैसलाको पूर्ण पाठमा अन्य कुरा खुलेको अवस्थामा थप राख्नुपर्ने वा चाँडै छुट्न हुनसमेत सक्ने बताएको छ । 

यता केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले कोइरालालाई सोमबार कारागार कार्यालय जगन्नाथ देवल ल्याइएको बताए । कोइरालालाई हाल कारागार कार्यालय जगन्नाथ देवलको भद्र गृहमा राखिएको छ । भद्र गृह कारागार कार्यालय जगन्नाथ देवलको सुविधायुक्त कारागार हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)