nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवको आकर्षण "उड्कलको चिउरा"

Udkal-1539405610.jpg

अहिलेको युवापुस्ताले उड्कलमा चिउरा कुट्ने परम्परागत् विधि देखेका थिएनन् । देखेका पुराना पुस्ताले समेत बिर्सिन थालिसकेका थिए । उड्कलमा चिउरा कुट्ने परम्परा समेत लोप हुँदै गएको छ ।

उत्तरी मकवानपुर थाहानगर–६, टिष्टुङ बज्रबाराहीमा शुरु टिष्टुङ महोत्सवमा गोपाली महिलाको समूहले महोत्सवमा आउने धेरैको ध्यान तानेको छ । २४ गतेबाट शुरु भएको महोत्सवमा धैरै प्रकारका प्रविधि प्रदर्शनी भए पनि गोपाली महिला समूहले परम्परागत घरेलु चिउरा कुट्ने प्रविधि हेर्न र उड्कलमा कुटेर तयार पारेको चिउरा किन्नेको भीड देखिन्थ्यो । चिउरा कुट्न आवश्यक जनशक्ति, काठको उड्कल र लुसी पनि पाइँदैन । गाउँमा उड्कल र लुसी बनाउने जनशक्ति छैन । थाहानगरमा आयोजना गरिएको महोत्सवमा एउटा स्टलका रुपमा उड्कलमा चिउरा कुटेर बिक्री गरिएको छ । उड्कलमा कुटेको चिउरा बिक्री गर्न उनीहरुलाई भ्याइनभ्याइ हुन्छ ।

उनीहरु आफ्नो स्टलमा निकै व्यस्त देखिन्थे । कोही धान भुट्दै थिए, केही खलमा कुट्दै थिए, निफन्दै थिए भने कोही चिउरा बेच्दै । नेवारी पोशाकमा सजिएका उनीहरु आफ्ना परम्परागत् प्रविधि प्रचारप्रसार गर्न र चिउराको स्वाद चखाउन महोत्सवसम्म आएका हुन् । उनीहरुले चिउरा तीन सय रुपियाँ प्रतिकिलोमा बेचिरहेका छन् । एक घान चिउरा भुट्न र कुट्नका लागि कम्तिमा २५ मिनेट लाग्छ । ताइचिन धानबाट बनाइएको चिउरा अन्य चिउरा भन्दा निकै स्वादिष्ट हुने मानिसहरुको बुझाई छ । दशैंमा भएको महोत्सव र स्थानीय महोत्सवमै किन्न पाएपछि नयाँ पुस्ताले यसपालिको दशैंमा उड्कलमा कुटेको चिउरा खाने भन्दै किनेका थिए ।

नयाँ पुस्ता चिउरा किन्नमात्र हैन, कुटेको हेर्नेको पनि उत्तिकै भिड लागेको थियो । समूहमा १६ सदस्य रहेको र चिउरा बेचेर कमाएको पैसा सदस्यमा ऋण लगानी गरेको उनले जानकारी दिए । सँस्कृति जोगाउन तथा मेलामा चिउरा बेचेर केही आयआर्जन गर्न महोत्सवमा आएको उनीहरुको भनाइ छ ।

-पुष्पराज अधिकारी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)