nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनप्रतिनीधि आए, कर्मचारी आएनन्
स्थानीय तहबाट सेवा लिन नागरिकलाई झनै सास्ती

मकवानपुरका १० स्थानीय तहका १ सय २ वडा मध्ये ५३ वटा वडामा मात्र वडा सचिव  रहेका छन् । अब जिल्ला कर्मचारी व्यवस्थापन समितिले ३८ वटा वडामा वडा सचिव पठाउने तयारी गरेको छ । अझै ११ वडामा सचिव अपुग हुने देखिएको छ । यि बाहेक अरु कर्मचारीको संख्या त झन असाध्यै न्यून छ, वडामा पठाउने भनिएको सहायक लेखापाल त छँदै छैनन् । 

कर्मचारी समायोजनमा ढिलाई हुँदा स्थानीय तहको कामकाज सञ्चालनमा अप्ठयारो भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुसार साउन १ गते भित्र सबै स्थानीय तहमा कर्मचारी समायोजन भएर पनि काममा खटिसक्नुपथ्र्यो । तर  मकवानपुरको १० वटै स्थानीय तहमा साउनको पहिलो साता बितिसक्दा पनि कर्मचारी पुगेका छैनन् । 

कुल १ सय २ वटा वडा रहेको मकवानपुरमा हालसम्म जम्मा ५३ वडामा मात्र सचिव पुगेका छन्, बाँकी ४९ वटा वडामा त सचिव नै छैनन् । वडा सचिवहरुको अभावमा वडास्तरबाट हुुने काममा अप्ठयारो परेको जनप्रतिनिधीहरुले बताएका छन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले कर्मचारी नआँउदा दैनिक कार्यसम्पादनमा समस्या भएको बताए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २४ जनाको दरबन्दी रहेकोमा जम्मा १२ जना    कर्मचारीले गाउँ कार्यपालिकादेखि वडासम्मको काम भ्याउनु परेको छ । इन्द्रसरोवर कार्यपालिका कार्यालयमा ९ र प्रत्येक वडामा ३÷३ जनाको दरले १५ जना कर्मचारी चाहिनेमा त्यसको आधा जनशिक्तले काम गरिरहेको कार्यकारी अधिकृत रोशन पुनले जानकारी दिए । पाँच वटा वडा रहेको इन्द्रसरोवरमा ४ जना सचिव र अरु सहायक तथा कार्यालय सहयोगी छन् भने कार्यपालिकाको कार्यालयमा लेखापाल र कार्यकारी अधिकृत मात्र सेवारत् छन् । 

मकवानपुरकै पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा रहेका नौवटै वडा कार्यालय खुलेका छन् । तर वडासचिव भने जम्मा ४ जना मात्र रहेका छन, त्यो पनि सरकारले भनेजस्तो नायब सुब्बा सरहको सचिव नरहेको कार्यकारी अधिकृत भिम परियारले जानकारी दिए । वडामा २७ जना कुल दरबन्दी रहेकोमा ४ जना सचिवले सबै वडा कार्यालयहरु धान्नु   परेको परियारको गुनासो छ । त्यस्तै गाउँ कार्यपालिकाको कार्यालयमा ९ जना        दरबन्दी रहेकोमा तीनजनाले काम चालाउनु पर्दा दैनिक कार्य संचालनमा ज्यादै कठिन भएको अधिकृत परियारले बताए । उनले भने–‘कार्यालयमा दर्ता चलानी समेत आफैले गर्नुपर्ने बाध्यता छ ।’ कर्मचारी अभाव भएपछि जिल्ला कर्मचारी व्यवस्थापन समितिमा धेरै पटक पहल गर्दा पनि सुनुवाइ हुन नसकेको अधिकृत परियारको गुनासो रहेको छ । 

मकवानपुरको अर्को राक्सिराङ गाउँपालिकाको पनि ३६ जना दरबन्दी    रहेकोमा १० जना कर्मचारीले वडादेखि कार्यपालिकाको कार्यालयसम्मको कार्य सम्पादन गर्दै आएकाछन् । नौवटा वडामा ९ जना सचिव सहित २७ जना      कर्मचारी हुनुपर्नेमा ३ जना सचिव सहित ७ जनाकर्मचारीले काम गरिरहेको    कार्यकारी अधिकृत राजु आचार्यले  जानकारी दिए । कार्यकारी अधिकृत आचार्यले भने–‘प्राविधिक कर्मचारी जिल्ला समन्वय समितिबाट पठाइएको भन्ने पत्र आएको छ, व्यक्ति आइपुग्या छैनन् ।’ जिल्लाको मनहरी गाउँपालिकामा पनि ३६ जनाकै दरबन्दी छ । दरबन्दी अनुसार एक चौथाई मात्र कर्मचारीले कार्य सम्पादन गरिरहेको कार्यकारी अधिकृत किसान न्योपानेले बताए । ‘कार्यपालिकाको कार्यालयमा ९ र वडामा २७ दरबन्दी हो, ९ जनाले सबै धानेका छौं’–अधिकृत न्यौपानेले भने । मनहरी कार्यपालिकामा कार्यकारी अधिकृत, लेखा र एकजना नायब सुब्बा तहका कर्मचारी छन् भने वडामा जम्मा २ जना मात्र सचिव र कार्यालय सहयोगी तथा कार्यालय सहायक २/२ जना छन् । 

जिल्लाको बकैया गाउँपालिकामा १२ वटा वडा छन् । वडामा मात्र सचिव सहितको दरबन्दी ३६ जना छ । तर ३ जना वडा सचिवले सबै वडा धान्नु परेको कार्यकारी अधिकृत सुरेन्द्र प्रधानले    जानकारी दिए । कर्मचारी खटाइदिन जिल्ला कर्मचारी व्यवस्थापन समितिलाई पटक पटक आग्रह गरेको भएपनि एकजना पनि गाउापालिकामा खटाइ नपठाएकोमा प्रधानले दुःख व्यक्त गरे । उनले भने–‘१२ वटा वडामा कमसेकम अरु ३ जना सचिव थप्दिएको भए पनि ६ जना सचिव हुन्थे, म मिलाएर सेवा प्रवाह गराउँथे ।’ कर्मचारीको अभावमा काम गर्न साह्रै कठिन भएपछि मन्त्रालयदेखि जिल्लासम्म भन्दा पनि कर्मचारी पाउन नसकेको उनको गुनासो छ । उनले आफ्नो गाउँपालिकामा पाँच वटा वडा एउटै सचिवको भरमा संचालन गर्नुपरेको बाध्यता सुनाए ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा पनि कर्मचारी अभावकै कारण जनप्रतिनीधिहरुले सेवालाई सरल पहुँचबाट प्रदान गर्न नसकेको गुनासो  गरेका छन् । १२ वटा वडा रहेको थाहामा ६ जना सचिवको अझै अभाव छ । थाहामा एउटा सचिवले तीन वटासम्म वडा कार्यालयको सेवा प्रदान गर्नुपरेको छ । स्थानीय तह प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धी आदेश २०७४ तथा यसअघि थाहाको नगर परिषद्बाट स्वीकृत दरबन्दी सहित थाहामा ६१ जनाको दरबन्दी रहेको छ । तर, अहिले थाहामा स्वीपर सहित २६ जना कर्मचारी मात्र कार्यरत् रहेको कार्यकारी अधिकृत जीवन प्रसाद आचार्यले बताए । कर्मचारी अभाव भएपछि जिल्ला     कर्मचारी व्यवस्थापन समितिमा अनुरोध  गर्दा पनि साविक बाहेक एकजना पनि कर्मचारी खटि आएका छैनन् । 

हेटौंडानगरसंगै जोडिएको मकवानपुरगढी गाउँपालिकामा ३३ जना दरबन्दी छ । तर, कार्यपालिकाको कार्यालयमा ३ र वडामा २ जना सचिवकै भरमा सिंगो गाउँपालिका ुंचालन भइरहेकोे कार्यकारी अधिकृत मिनराज कँडेलले जानकारी दिए । कार्यपालिकामा ढोका खोल्ने मान्छे समेत नभएकोले      ज्यालादारीमा एकजना राखिएको सुनाउँदै कँडेलले दुखेसो पोखे । कर्मचारी अभावमा दैनिक कार्य सम्पादन समेत समस्या भएको उनले बताए । 

मकवानपुरको भिमफेदी गाउँपालिकाको कार्यालयमा ९ र वडामा २७ सहित ३६ जनाको दरबन्दी छ । अहिले कार्यपालिकामा ४ जना छन् भने वडा सचिव ५ जना मात्र रहेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती   रानाले जानकारी दिइन् । कर्मचारी अभावमा चार वटा वडा कार्यालय अझै विस्तार गर्न बाँकी रहेको उनको भनाइ छ । स्रोत साधन र जनशक्तिको अभावमा गाउँपालिका र मातहतका वडा कार्यालयहरुबाट प्रदान हुने सेवाहरु प्रभावकारी रुपमा प्रदान गर्न नसकिएको उपाध्यक्ष रानाको भनाइ छ ।  जिल्लाको कैलाश गाउँपालिकामा ३९ जनाको दरबन्दी रहेको छ । दरबन्दी अनुसार १० जना सचिवको ठाउँमा ५ जनाले कार्य सम्पादन गरिरहेका छन् । गाउँपालिकाको कार्यालयमा ९ जनामा ३ जना मात्र रहेको लेखापाल सुनिल ढकालले जानकारी दिए । गाउँपालिकामा सेवारत् कार्यकारी अधिकृत, लेखापाल र सव इन्जिनियर पनि काजमै रहेको ढकालले बताए ।

पहिले वडा सचिव पठाउँछौं–संयोजक दुवाडी

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कर्मचारी व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद शर्मा दुवाडीले स्थानीय तहमा थप जनशक्ति पठाउन पहल भइरहेको बताएकाछन् । 

कवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेक ९ वटा स्थानीय तहमा जनशक्ति अभावमा दैनिक कार्य सम्पादनमा समस्या भइरहेको बताउँदै उनले कर्मचारी पठाउन गृहकार्य भइरहेको बताए । स्थानीय तहमा  कर्मचारी पठाउँदा वडा सचिवहरुलाई प्राथमिकता राखिएको संयोजक दुवाडीले बताए । 

असार महिनामा भएको जिल्ला कर्मचारी व्यवस्थापन समितिको बैठकबाट ३८ जना स्थानीय तहमा पठाउने तयारी भएको संयोजक दुवाडीले जानकारी दिए । यसरी पठाउने अधिकांश कर्मचारी वडा सचिवका लागि भएको उनले बताए । जिल्लामा रहेका कर्मचारीहरु मध्ये अप्राविधिक     कर्मचारीहरुलाई स्थानीय तहको वडा सचिवको रुपमा पठाउने प्रक्रियामा रहेको उनको भनाइ छ । 

जिल्लाका कर्मचारी मात्र स्थानीय तहमा पठाउन प्रायाप्त नहुने उनको भनाइ छ । यसका लागि मौखिक रुपमा सामान्य प्रशासन मन्त्रालयलाई पनि अनुरोध गरिएको उनले बताए । 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।