nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

खोला किनारमा भब्य हुँदै तेस्रो मनहरी महोत्सव

20170125_151153-1485420511.jpg

पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरीमा आयोजित तेस्रो मनहरी महोत्सव २०७३ लाई मनहरी खोलाको किनारमा भब्य बनाइँदैछ । माघ १४ गतदेखि सुरु भई २४ गतेसम्म चल्ने महोत्सवलाई भब्य रुपमा चलाउनका लागि मनहरी–४ बेलुवास्थित मनहरी खोला किनारमा स्टल निर्माणका सबै कामहरु अन्तिम चरणमा पुगेका छन् । त्यससँगै बाल उद्यानका सबै सामग्रीहरु ल्याएर धमाधम जडानको काम भइरहेको मेला मूल आयोजक समितिका संयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गोविन्द रिजालले जानकारी दिए । उनका अनुसार मेलालाई भब्य पार्नका लागि अहिले अन्तिम चरणको काम भइरहेको छ ।

केन्द्रबाट प्रायोजकहरु खोजेर मनहरी महोत्सव सफल पार्नका लागि उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष राजकुमार न्यौपाने लागिपरेका छन् । उनीसहितको टोलीले काठमाडौँमा रहेका ठूला उद्योग तथा उद्योगीहरुलाई मनहरी महोत्सवका बारेमा जानकारी गराउँदै सहयोगका लागि पहल गरिरहेका छन् । महोत्सवमा यसपटक मनहरी खोला थुनेर ताल निर्माण गरी बोटिङको व्यवस्थाप गर्ने तयारी गरिएको छ । यसका लागि सबै तयारी भइसकेको आयोजकले जनाएको छ । अघिल्ला महोत्सवभन्दा यसपटक बोटिङसँगै हात्तीमा जंगल सफारी पनि दोस्रोअ ाकर्षणको रुपमा रहेको छ । ‘अघिल्लो बर्षभन्दा यसबर्ष यी दुई बिषयले पनि महोत्सव अलि आकर्षक बन्ने आशा गरेका छौं’, अध्यक्ष रिजाल भन्छन् । महोत्सवमा हालसम्म दुई सयवटा स्टल निर्माण गरिएको छ । १७५ वटा कपडा, कृषि, आइटी र अन्य स्टलहरु राखिएका छन् । ९ बिशेष स्टलहरु छन् ।

जसमा बहुराष्ट्रिय कम्पनीहरुले बुकिङ गरेका छन् । १६ वटा स्टलहरुमा होटल रहनेछ । महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु आउँदैछन् । गायिका कोमल वली, गायकहरु बद्री पंगेनी, पशुपति शर्मा, मिलन लामा, प्रजापति पराजुली लगायतका गायक गायिकाहरु आउँदैछन् । त्यसैगरी हाँस्यकलाकार मनोज गजुरेल पनि आउने भएका छन् । उनीहरुसँग आयोजकका तर्फबाट अग्रिमेन्ट भइसकेको मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ । स्थानीय रुपमा गायक, गायिका तथा नृत्यकार÷नृत्यांगनाहरुले पनि महोत्सवमा आफ्नो प्रतिभा देखाउनेछन् । महोत्सवलाई सुरक्षा दिनका लागि सुरक्षागार्डहरुको व्यवस्थापन गरिएको छ । जसले रात्रीकालीन सुरक्षा समेत दिने छ । माघ १५ गते पर्ने ल्होसारको अबसरमा महोत्सवमा हुने सबै कार्यक्रमहरु तामाङ समुदायले ह्यान्डिल गर्नेछन् । यसका लागि ल्होसार विशेष महोत्सवको रुपमा तामाङ समुदायले तयारी गरेका छन् । सोही दिन गायक मिलन लामाको प्रस्तुति रहनेछ ।

समग्रतामा महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा यसपटक ३ करोडको कारोबार हुने अपेक्षा गरिएको छ भने डेढलाख दर्शकहरुले महोत्सव अबलोकन गर्ने अनुमान गरिएको मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका उपाध्यक्ष नारायण सुवेदीले बताए । महोत्सवलाई व्यवस्थित पार्नका लागि संघले २१ वटा उपसमिति निर्माण गरी काम गरिरहेको छ । उपसमिति अन्तर्गतका संयोजकले थप ५ जना सदस्य मनोनयन गरी काम अघि बढाइएको छ ।