nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

खुल्ला दिसा मुक्त नेपाल घोषणामा सघाउँदै इन्द्रसरोवरको खड्बु

असोज १३ गते नेपाललाई नै खुल्ला दिसा मुक्त देश घोषणा गर्ने नेपाल सरकारको तयारी छ । अहिलेसम्म नेपालको विभिन्न स्थानहरु खुल्ला दिसा मुक्त घोषणा भैसकेका छन् । यस्तै एउटा उदाहरण हो मकवानपुर जिल्लाको खड्बु । इन्द्रसरोवर गाउँपालिकाको वडा नं ५ खड्बु नेवार गाउँ अर्थात साबिक फाखेल गाउँ विकास समितिको वडा नं ९ खड्बुलाई राडो नेपाल र प्लान नेपालको सहकार्यमा वि सं २०६८ साल जेठ २८ गते खुल्ला दिसामुक्त वडा घोषणा गर्यो । स्वास्थ, प्रतिष्ठा र विकासका लागि सरसफाइ भन्ने नाराको साथ खुल्ला दिसामुक्त वडा घोषणा भए पश्चात विगतको तुलनामा गाउँ अहिले निक्कै नै सफा, सुग्घर र स्वच्छ देख्न सकिन्छ । राडो नेपालको अभियानमा स्थानिय बालक्लब, वडास्तरीय सरसफाइ समिती, संघसंस्था र स्थानीय जनसमुदाय नै सफासुग्घरमा दत्तचित्त बनेपछी गाउँको पर्यावरणमा उल्लेखनीय सुधार भएको स्थानिय अज्रग रत्न बलामीको भनाई छ । आफू गाउँको अग्रज भएको हिसाबले पनि गाउँमा फोहोर, खुल्ला दिसा, अस्वस्थ जीवनशैलीको बारेमा छरछिमेकमा सम्झाउन र सचेत गराउन पहिले र अहिले पनि आफुमा धेरै जिम्मेवारीको बोध रहेको उनले बताए । अहिले खुल्ला दिसा नभए पनि फोहोर फाल्ने बानीमा भने अहिले पनि उल्लेख्य सुधार भएको बताए ।

उक्त वडालाई खुल्ला दिसामुक्त घोषणा गरेको केहि महिनामा नै सबैको पहल र सहयोगमा साबिक फाखेल गाउँ विकास समिती अर्थात हालको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ लाई नै खुल्ला दिसामुक्त घोषणा गर्न सफल भयो । घोषणा भए पश्चात् फाखेल गाविसको सरसफाइमा उल्लेख्य सुधार हुनुका साथै जनसमुदाय स्वस्थ जीवनशैलीमा हुनुपर्छ भन्नेमा सजग रहेको राडो नेपाल मकवानपुरका राजन दाहालले बताए ।

बाल चेतना समूह ,फाखेल ९ को फोटो।

घोषणा कार्यक्रमले खुल्ला दिसाको कारण लाग्न सक्ने संक्रमक रोग, महामारी जस्ता सरसफाइको अभावमा लाग्न सक्ने रोगबाट समेत आफ्ना जनता सुरक्षित भएको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष धनराज महर्जनको बुझाई छ । साथै राडो नेपाल र प्लान नेपालको सहकार्यले नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा सघाउ पुगेको उनको भनाइ छ । पहिलेको तुलनामा केही सुधार र सफाइ भए पनि भुकम्प पछि पानीको मुहान सुकेका कारण पानीको समस्याले नै वडाको मधुवनमा भने शौचालय निर्माण, प्रयोग र सफाइ हुन नसकेको उनले बताए । 

अहिले गाउँ, बजार र चोकमा डष्टबिन राखिएको छ, प्लास्टिक जन्य फोहोरहरु डष्टबिनमा नै राख्नु पर्छ भन्ने  साना देखि ठुला सम्म नै अधिकांश रुपमा चेतना भएकोले गाउँमा प्लास्टिक जन्य फोहोर समेत कमि हुँदै गएको स्थानिय अग्रज तेज बहादुर नगरकोटी बताउँछन् । खुल्ला दिसा नहुने भए देखि महामारीका रोगहरुको संक्रमण समेतमा निक्कै नै कमि आएको फाखेल स्वास्थ चौकीका अनमी मिठ्ठु कार्कीले बताए । 

बाल चेतना समूह ,फाखेल ९ को फोटो।
गैर सरकारी संस्था प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र राडो नेपालको सहकार्यमा खुल्ला दिसामुक्त वडा र गाविस घोषणा हुँंनाले गाउँको स्वस्थ जीवन र स्वच्छ वातावरण निर्माणका साथै नेपाल सरकारको खुल्ला दिसामुक्त नेपाल घोषणाको लक्ष्य प्राप्तीमा सहयोग गरेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।