Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

खानेपानी मुहानमा फोहोरको डंगुर, को हो दोषी ?

  • शम्भु अधिकारी 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ कुर्सीमोड नजिकै रहेको कारुलखोला खानेपानी मुहानमा नचिनेका मानिसहरुले फोहोर फालेका छन् । खानेपानी मुहान नजिकै उपभोक्ताहरुले फोहोर फालेको देखेपछि नगरपालिका र इलाका प्रहरी कार्यालय पालुङमा जानकारी गराएका छन् । 

वडा नम्बर ४ का किटेनी, थाना बजार तथा आसपासका गाउँका नागरिकले उपभोग गर्ने खानेपानी मुहानमा गलैजा तथा कपडाको धुलोसहितको फोहोर फालिएको अवस्थामा भेटिएको स्थानीय श्रीकृष्ण केसीले जानकारी दिए । पानीको मुहानमा झण्डै एक ट्रिप जति फोहोर फालेको भेटेपछि खानेपानी उपभोक्ताहरु नगरपालिका कार्यालय पुगेर नगर प्रमुख लवशेर विष्टलाई जानकारी गराएका छन् । करिब तीनसय उपभोक्ताले उपभोग गर्ने पानीको मुहानमा फोहोर फालेपछि आम नागरिकको स्वास्थ्य संवेदनशील अवस्थामा रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । खानेपानी मुहानमा राती फोहोर फालेको हुनसक्ने अनुमान गरिएको छ ।

पानीको मुहान संरक्षणका लागि थाहानगर प्रमुख लवशेर विष्ट प्रतिवद्ध रहेको बताउँदै त्यसका लागि प्रहरीसंग समेत सहकार्य गर्ने बताए । सो खानेपानी मुहानमा पटक पटक फोहोर फाल्ने क्रम भएको स्मरण गर्दे यस्ता क्रियाकलापमा जो कोहीबाट भएको भएपनि पत्ता लगाई कानूनी दायरामा ल्याउने प्रमुख विष्टले बताए । 

कारुलखोला खानेपानी मुहानमा फालिएकै प्रकृतिको फोहोर वडा नम्बर ४ को ऋषेश्वर मोड नजिकै तथा नामटारको झिरघारी नजिकै आगो लगाइएको अवस्थामा समेत भेटिएको छ ।

कारुलखोला खानेपानी मुहानमा यस अघि अस्पताल जन्य तथा मरेको बस्तु समेत फालिएको अवस्थामा भेटिएको थियो । उक्त स्थानमा फोहोर फाल्ने व्यक्ति हालसम्म पत्ता लाग्न सकेको छैन । पटक पटक हुने उक्त कार्यको अनुसन्धान सहित खानेपानी मुहान संरक्षणमा सहयोग गरिदिन थाहा नगरपालिकाले ६ चैतमा पालुङ प्रहरीलाई पत्राचार समेत गरेको छ । 

र, यो पनि पढ्नुहोस्:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०