Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना भाइरसः सतर्कता अपनाउँदै स्थानीय सरकार

Korona-thaha-1583767846.jpg

‘नोवल कोरोना भाइरस’को संक्रमणले विश्वलाई नै चुनौति दिइरहेको बेला यसको सकर्ततामा स्थानीय सरकार अग्रसर भएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले यस्तो संकटमा नागरिकलाई सर्तकता अपनाउन आव्हान त गर्ने गरेकै थियो तर स्थानीय तहहरु भने यसअघि यसरी सतर्कता अपनाउन नीतिगत रुपमै अग्रसर थिएनन् । 

२२ फागुनमा मकवानपुरको थाहा नगरपालिकाले सूचना प्रकाशित गर्दै आफ्नो नगरबासीहरुलाई सचेत हुन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुको सुझाव झै नगरपालिकाले सामान्य पारिवारिक भेटघाट बाहेकका सार्वजनिक कार्यक्रम नगर्नका सूचना मार्फत नगरबासीहरुलाई भनेको छ । यदि कहिँकतैबाट कोरोना भाइरस आइहाले सर्न सक्ने जोखिमलाई कम गर्न सूचना मार्फत यस्तो निर्देशन गरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । उनले भने,–‘अहिले जताततै त्रासैत्रास मात्र छ, हामी सतर्कतामा अग्रसर छौं ।’

थाहा नगरपालिकाले २२ फागुनमा कार्यपालिका बैठक बसी सार्वजनिक भेला, उत्सव तथा मेला नगर्न नगरबासीलाई सूचीत गर्ने निर्णय गरेको प्रवक्ता सनमसिं मोक्तानले जानकारी दिए । प्रवक्ता मोक्तानले भने,– ‘स–साना जमघट, भेटघाट बाहेकका जात्रा–पर्व, मेला महोत्सव जस्ता कार्यक्रम संचालन नगर्न नगराउनुहुन आम थाहा नगरबासीहरुमा अनुरोध गरेका छौं ।’ साथै, भीडयुक्त स्थानहरुमा नजानुहुन र त्यस्ता कार्यक्रमहरुमा सहभागी नहुन समेत थाहा नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै थाहा नगरपालिकाले स्वास्थ्य अवस्था बारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, खोक्दा, हाछ्युँ गर्दा अनिवार्य नाक मुख छोप्न, रुघाखोकी लागेमा मास्कको प्रयोग गर्न, खानेकुरा खानु अघि अनिवार्य रुपमा साबुन पानीले हात धुनुहुन र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ ।

थाहा नगरपालिकाले नगरमा औषधि अभाव हुन नदिन सम्पूर्ण तयारी अवस्थामा रहने कार्यपालिका बैठकले निर्णय गरेको छ । जुनसुकै बेला कुनैपनि महामारी हुन सक्ने आँकलन गर्दै नगरबासीलाई औषधि र उपचारको अभाव हुन नदिन नगरपालिका तयारी अवस्थामा रहेको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरिलला पुरीले जानकारी दिए । उनले भने–‘मौज्दात औषधि हेरेर किन्नु परे तत्काल प्रक्रिया थाल्न स्वास्थ्य शाखालाई निर्देशन दिइसकेका छौं ।’

थाहा नगररपालिकाले विद्यालयस्तरमा पनि  कोराना भाइरसको विषयमा सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको जनकल्याण माविकी विद्यालय नर्स रमिता भुजेलले जानकारी दिइन् । विद्यार्थीहरुमा सतर्कता भन्दा नि बढि त्रास फैदिएकोले उनीहरुलाई सम्झाउनु नै पहिलो उपचार पद्धती भएको नर्स भजेलले बताइन् । कोरोनाबाट बच्न अपनाउनुपर्ने सतर्कताको विषयमा विद्यार्थीहरुलाई दैनिक रुपमा सम्झाउने गरेको भुजेलको भनाइ छ । विद्यालयमा मास्क लगाउन र रुमाल प्रयोगलाई प्राथमिकता दिइएको उनले बताइन् । 

थाहा नगरपालिकाले जस्तै मकवानपुरको मनहरी गाउँपालिकाले पनि नागरिकलाई सचेत हुनको लागि सूचना प्रकाशित गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विमानस्थलको माध्यमबाट रोग भित्रिन नदिन २४ घण्टे हेल्थ डेस्कमार्फत विशेष सजगता अपनाइएको जनाए । हाल चीनबाट नेपाल आउने हरेक विमानमै यात्रुलाई स्वास्थ्यसम्बन्धी फारम भरेर विमानस्थलमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विमानस्थलको हेल्थ डेस्कबाट ज्वरो देखिएका बिरामी पहिचान गरी तोकिएका अस्पतालमा अवलोकन, परीक्षण, उपचारको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले आफूहरू शंकास्पद बिरामीको उपचारका लागि पूर्णरूपमा तयार रहेको बताएरु। उनले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीसहित संक्रमणबारे विस्तृत जानकारी दिनेसमेत बताए । पहिलोचोटि चीनमा देखिएको यो भाइरसको संक्रमण हालसम्म दक्षिण    कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर र अमेरिकामा पनि देखिइसकेको छ ।

सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा यस किसिमको महामारीले ठूलो असर परेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ । १८ फागुन साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको बढ्दो जोखिमका कारण ‘नेपाल भ्रमण वर्ष, २०२०’ स्थगित गर्ने निर्णय गरेको छ । बैठकले ‘सगरमाथा संवाद’को कार्यक्रम पनि स्थगित गरेको छ । अन अराइभल भिसा दिने गरेकोमा सो व्यवस्था स्थगित गरिएको छ । सरकारले संक्रमण जोखिमकै कारण भीडभाड हुने गरी सभा सम्मेलन र भोजभतेरजस्ता कार्यक्रम आयोजना नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको छ ।

नारी दिवसको कार्यक्रम स्थगित
पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाले आगामी फागुन २५ गतेको महिला दिवसको ¥याली तथा कार्यक्रम स्थगन गरेको छ । हाल विश्वका ८० देशमा फैलिएको  कोरोना भाईरस संक्रमणको कारण नेपाल सरकारले ठुला जमघट, भेला, जुलुस, भोज भतेर जस्ता ठुलो संख्यामा जमघटका कार्यक्रमहरु नगर्न नगराउन निर्देशन जारी गरेपछि कार्यक्रम स्थगन गरेको हो । सहकारीले निःशुल्क स्वास्थ्य शिविर पनि स्थगित गरेको छ ।

संस्थाको कार्यालयमा २१ फागुनमा पत्रकार सम्मेलन गरी संस्थाले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गर्ने भनिएको वृहद् कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो । संस्थाले महिला दिसको अवसरमा २४ गते बज्रबाराही र २५ गते पालुङमा निःशुल्क स्वास्थ शिविरको आयोजना भने गरिएको विज्ञप्तीमार्फत् जनाएको छ । 

पत्रकार सम्मेलनमा पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, उपाध्यक्ष कृष्णबहादुर विष्ट, सचिब अरुण रायमाझी, सदस्यहरु जर्म श्रेष्ठ, नवराज विष्ट, ,आरती श्रेष्ठ, व्यवस्थापक प्रकाश पौडेल, सहव्यवस्थापक रामप्रसाद ढकाल, लेखा समिति सदस्य इच्छापूर्ण कार्कीलगायतको उपस्थिति रहेको थियो । सशक्तिकरणका अभियान सञ्चालन गर्ने क्रममा उक्त संस्थाले विगतका वर्षहरुदेखि नै ८ मार्च अन्तर्रा्ष्टिूय श्रमिक महिला दिवसको अवसरमा प्रत्येक बर्ष करिव तीन हजार महिला सदस्यहरुको सहभागितामा विविध कार्यक्रमका साथ मनाउदै आईरहेको थियो ।  

जिल्ला प्रशासनको पूर्व तयारी 
कोरोना भाईरसका बारेमा व्यापक जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । २३ फागुनमा जिल्ला प्रसासन कार्यालय मकवानपुरमा बसेको कोरोना भाइरस  रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्व तयारी बैठकमा सहभागिहरुले अनावश्यक हल्लाको पछाडी दौड्न नहुने निश्कर्ष निकाल्दै सोको बारेमा व्यापक जनसचेतना फैलाउनु पर्नेमा जोड दिएका हुन् ।

बैठकमा सहभागिहरुले अनावश्यक हल्लाको कारण नेपालमा रोग भन्दा संत्रास फैलिएको भन्दै यस्तो संत्रास फैलन नदिने तर्फ सबै सचेत हुनु पर्ने धारणा राखेका छन् । नेपालमा आतंकित हुने अवस्था नभएको तर सचेत भने हुन जरुरी रहेकोले सुरक्षाका उपाएहरु अपनाउने र अनावश्यक हल्ला फैलन नदिने तर्फ सचेत हुनु पर्ने निष्कर्ष निकालेको छ ।

बैठक पछि जिल्ला प्रशासन कार्यालयले भिडभाड हुने खालका विभीन्न खालका कार्यक्रम नर्गका समेत आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना नै जारी गरेर जिल्लामा हुने सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । वैठकपछि निर्णय जिल्ला प्रशासन कार्यालयले धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्नका आग्रह गरेको हो । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले मास्क र स्यानिटाइजरको कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैठकले स्थानीय बजारमा मास्क र स्यानिटाइजर अभाव र अत्याधिक मूल्यमा बिक्रि भइरहेको सूचना प्राप्त भएको भन्दै बजारको अनुगमन गरेर मास्क र स्यानिटाइजरको कृतिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा बिक्री गर्नेलाई कानूनी कारबाही गर्ने निर्णय गरेको छ । बैठकले जिल्लाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ ।

होलीमा कार्यक्रम गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली पर्वमा कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागि नहुन आग्रह गरेको छ । २३ फागुनमा एक सुचनामा जारी गर्दै होली खेल्ने क्रममा हुने भिडभाडका कारण जोखिम बढ्ने सम्भाबना देखिएकाले हालीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागि नहुन सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यस अघि २२ फागुनमा मात्रै धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी तथा महोत्सवहरु नगर्न पनि निर्देशन दिँदै जिल्लामा सञ्चालन हुने यस अघि नै मिति तय गरिएका कार्यक्रमहरु समेत सञ्चालन गर्नमा रोक लगाएको थियो । कार्यालयले कोरोना भाईरसको विश्वव्यापी संक्रमण फैलीरहेको र नेपाल समेत कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यसको सम्भावित जोखिमबाट सर्तकता अपनाउन अपरिहार्य देखिएको हुँदा सबै खाले सभा, सम्मेलन, कार्यक्रम आयोजना नगर्न वा भिडभाडमा सामेल नहुन र सर्तकता अपनाउन अनुरोध गरेको छ ।

बागमती सरकारको हात नमिलाउन आग्रह
बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न प्रदेशबासीलाई हात नमिलाउन र भीडभाडमा नजान आग्रह गरेको छ ।

२२ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले एक अर्काबीच हात मिलाउँदा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै हात नमिलाउन जनसमुदायमा आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

उनले हात मिलाउनुको सट्टा नेपाली संस्कृतिको नमस्कार गर्न अपिल गरिएको पनि बताए । मन्त्रिपरिषद बैठकले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद दिएको छ ।

यस्तै प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिए ।