Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

यसवर्षको महाचुनी जात्रा सामान्य नित्यपूजा गरी मनाइने

1579970243_a-1-1588265530.jpg

हरेक बर्ष झै यस बर्ष पनि भोली शुक्रबार महाचुनी जात्रा मनाइने भएको छ । तर कोरोना भाइरस (कोभिड १९) कारण देशभर लकडाउन भैरहेका कारण यसपाली भने फरक तरिकाले जात्रा मनाइने भएको छ । यसयर्ष सामान्य रुपमा नित्य पुजा गरी महाचुनी जात्रा मनाउने तयारी गरेको महचुनी महालक्ष्मी नाटेश्वरी गुठी इन्द्रसरोवर ५ खड्बुका ठकाली जनकलाल बलामीले बताउनु भयो । जात्रामा यसपाली रथ यात्रा नलाने, बाजाहरु नबजाउने र जनमानसको जमात नगरी सामाजिक दुरी कायम गर्दै हातमा नै देवताको मुर्ती लगेर पुजा गर्ने योजना रहेको महाचुनी महालक्ष्मी गुठी थाहा नगरपालिका ९ कपुगाउँका ठकाली श्याम बलामीले बताउनु भयो । 

भोली हुने जात्राको लागि आज मन्दिर परिसरमा सरसफाइ गरिएको छ । महाचुनी मन्दिर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ र थाहा नगरपालिका वडा नं ९ चित्लाङ कपुगाउँको सिमानामा रहेको छ । सिमानाको जङ्गलमा रहेको मन्दिरमा खड्बु र कपुगाउँमा रहेका नेवारी सम्प्रदायका गुठी परिवारले १÷१ वटा रथ यात्रा गरि हरेक बर्ष यो जात्रा मनाउने गर्दै आएको थियो । दुबै गाउँबाट ल्याएको रथ दिनभर मन्दिरमा राखेर जात्रा मनाए पछि दुबै समुदायका मानिसहरु आआफ्नो गुठी अनुसार पुजा सम्पन्न गरि रथ यात्रा गरि फर्किने परम्परा रहिआएको छ ।  
गाउँपालिका र नगरपालिका दुबैको ऐतिहासिक स्थलको रुपमा रहेको उक्त मन्दिरमा हरेक बर्ष बैशाख शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । नेवारी सम्प्रदाय मात्र नभइ स्थानिय बिभिन्न जातिको समेत महत्वपुर्ण पर्बको रुपमा रहेको महाचुनी जात्रा खड्बु र कपुगाउँका दुई गुठी परिवारको समन्वय र सहकार्यमा संचालन हुने गर्दछ । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।