Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृषि पकेटका लागि ६६ करोड

प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित कृषिको पकेट तथा ब्लकहरूमा करिब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

मन्त्रालयले नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेट क्षेत्र र ५६ वटा ब्लकलाई चालु आर्थिक वर्षमा ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको हो। पुराना पकेट क्षेत्रहरूको लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रहरूको लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै नयाँ ब्लकहरूको लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरूको लागि ८ करोड ५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री दावा दोर्जे लामाले बताए। पकेटका लागि मकवानपुरबाट कोदो र गहत, चितवनमा तरकारी, सुन्तला अलैंची, मौरीपालनको माग रहेको छ।

धादिङमा सुन्तला, कागती, अदुवालगायतको पकेट क्षेत्र बनाउने गरी प्रस्ताव आएको छ भने नुवाकोटमा तरकारी, अदुवा, प्याजलगायतका कृषि उपजको ब्लक तथा पकेट क्षेत्रमा माग गरिएको उनले जानकारी दिए।

यसैगरी रसुवामा माछा, मुसुरो, धान, आलु, ललितपुरमा तरकारी, च्याउ, किबी भक्तपुरमा आलु च्याउ तरकारीलगायतको ब्लक तथा पकेट क्षेत्रका लागि माग भएका छन्।

विभिन्‍न कृषि उपजको पकेट क्षेत्र माग गरिए पनि मकवानपुरमा तरकारी, आलु मकैको पकेट क्षेत्र स्थापना गरिनेछ भने चितवनमा तरकारी, मौरी, केरा र धानको पकेट क्षेत्र स्थापना गरिनेछ। धादिङमा तरकारी, आलु र मकैको पकेट क्षेत्र रहनेछन्। यसैगरी नुवाकोटमा पनि सोही बालीको पकेट क्षेत्र घोषणा गरिने बताईएको छ। काभ्रेमा तरकारी आलुका साथै अलैंची र कफीको पनि पकेट क्षेत्र हुनेछन्। सिन्धुपाल्चोक जिल्लामा तरकारी आलुका साथै मकै र किबीको पकेट तथा ब्लक स्थापना गरिनेछ। पाण्डेका अनुसार दोलखामा किबी, तरकारी, आलु र सुन्तलाको पकेट क्षेत्र बनाइनेछ भने आलु र तरकारीको साथै जुनारको पकेट र ब्लक घोषणा गरिनेछ।

सिन्धुलीमा अदुवा, बेसार, जुनार, मकैको पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ। माटो अनुसारको उत्पादनलाई पकेट क्षेत्र बनाइँदा कृषिलाई आत्मनिर्भर बनाउन सकिने प्रदेश सरकारको लक्ष्य रहेको छ। ‘माटो, हावा पानीलगायतको अवस्था हेरेर पकेट क्षेत्र निर्धाण गरेर काममा उत्पादनबाट आत्मनिर्भर बन्‍न सकिन्छ,’ प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री दावा दोर्जे लामाले भने।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०