nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानीमा सामुहिक माछापालनः अवसरै अवसर

कुलेखानी ताल । धेरै कुराले प्रसिद्ध छ । पानीले भरिएर टिलबिल–टिलबिल भएका बेला बोटिङका लागि होस् या विद्युत उत्पादनको दृष्टिकोणले कुलेखानीको आफ्नै ‘ब्राण्ड’ छ । मकवानपुरकै चिनारी बनेको छ, पर्यटक आकर्षणको केन्द्र बनेको छ । त्यसोतः यहाँको अर्को छुट्टै ‘ब्राण्ड’ हो, ‘कुलेखानीको माछा’ । हेटौंडा–भिमफेदी–कुलेखानी हुँदै दक्षिणकाली–काठमाडौ सडक भएर यात्रा गर्ने यात्रुको पहिलो रोजाईमा यहाँको माछा पर्ने गर्छ । माछा खानकै लागि कुलेखानी पुगेका काठमाण्डौं चावेलका अजित घिमिरे भन्छन्–‘कुलेखानीको माछाको टेष्ट नै फरक हुन्छ, निकै स्वादिलो ।’ 

सबैभन्दा ठुलो मुलुककै एक मात्र मानव निर्मित कुलेखानी अर्थात ईन्द्रसरोवर तालमा खुल्ला र केज दुवैमा माछा पालिएको छ । कुलेखानी पुग्दा प्राकृतिक मनोरमतामा रमाउँदै स्वादिलो माछा खान पाउनु यहाँको विशेषता हो । स्थानीय होस् या अन्यत्रबाट आएकाहरु कुलेखानीको माछा भनेपछि हुरुक्कै हुन्छन् । कुलोखानी क्षेत्रमा व्यवस्थित होटलहरु पनि खुलीसकेका छन् । यहाँ साना ठुला गरी  दुई दर्जन भन्दा बढी होटलहरु संचालनमा छन् । ति होटलका ‘ब्राण्ड’ पनि उही कुलेखानीकै माछा हो ।  

संघीय राजधानी काठमाडौबाट नजिक तथा सडक सुबिधाको पहुँच पनि भएकाले आन्तरिक तथा बाह्यि पर्यटकका लागि कुलेखानी आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय त कुलेखानी पर्यटकीय हब मात्र होईन माछाको लागि अर्को हबकै रुपमा विकास हुँदै गएको छ । विद्युत उत्पादनको उदेश्यले बनाईएको तालमा बोटिङ र माछापालन र विक्रि वितरणका कारण ताल आसपासका बासिन्दाको राम्रो आयआर्जनको माध्यम बनेको छ । 

आयआर्जनको दरबिलो बाटो, स्थानीयलाई रोजगारी

कुलोखानी पर्यटकीय गन्तव्य हो । बागमती प्रदेश सरकारले कुलेखानी इन्द्रसरोवरलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ । काठमाडौबाट नजिक, सडक सुबिधाको पहुँचका कारण ईन्द्रसरोवर अहिले धरैको रोजाईमा छ । पर्यटकको आवागमन हुने भएपछि यहाँ तुलनात्मक रुपमा होटलहरु खुल्नेक्रम बढिरहेको छ । यसले गर्दा खेतीपातीसंगै यहाँका बासिन्दाहरु पर्यटन व्यवशायमा पनि आवद्धता बढाइरहेका छन् । 

कुलेखानी ताल घुम्ने, तालका माछाको स्वाद लिनेहरु आउन थालेपछि अहिले एकातिर माछा पालक किसानको आम्दानी बढेको छ भने अर्कातिर होटल व्यवशाय तिरको आकर्षण पनि बढेको छ  । माछा उत्पादनका संगठित किसानले शुरु गरेको शेयर मुल्य अहिले ४० हजार पुगेको छ । उनीहरुले २० वर्ष अघि ५ हजार रुपियँँमा शेयर खरिद गरेका थिए । संघ पूर्णतः नाफामा छ । शेयरको मुल्य दिनदिनै उकालो लागिरहेको छ ।  संघले आर्थिक वर्ष २०७५÷०७६ मा प्रति सदस्य ५ हजार बोनस पनि वितरण गरिएको संघका कोषाध्यक्ष योगेन्द्रराज थापा मगरले बताए । ईन्द्रसरोवरकोे माछाको उत्पादनलाई स्थानीयको आय आर्जन बढाएर स्थानीयलाई व्यवसायिक बनाएको छ भने ईन्द्रसरोवर मत्स्य व्ययसायी संघमा २६ जनाले प्रत्यक्ष रोजगारी पनि पाएको संघका शेयर सदस्य तथा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ किटेनीकी सावित्री थापाले बताइन् । 

तालको माछा, गाउँमै खपत 

विश्वमा फैलिरहेको कोरोना भाईरसका कारण देश ठप्प हुँदा कुलेखानीबाट निकालिएका माछाले स्थानीय होटलमा बजार पाएन । किनभने लकडाउनका कारण होटल पनि बन्द छ । कुलेखानीको अधिकतम उत्पादन स्थानिय होटलमै खपत हुने गरेकोे भए पनि त्यो खपत दर गाउँमा सरको परेली होटलका संचालक यश्वर बलामीले जानकारी दिए ।  दैनिक ३ देखि ४ क्विन्टल माछा स्थानीय गाउँमै खपत भैरहेको छ ।

लकडाउनको एक महिनापछि केहिदिनका लागि सुरक्षा र भौतिक दुरी मिलाई निकालिएका माछाले स्थानियको माग पुरा गर्न सकेको छैन । लकडाउन पहिले सरदर कुलेखानीमा यो सिजनमा दैनिक  एक देखि ढेड क्विीन्टलसम्म माछा निस्कने गरेको थियो । स्थानीय बजारमै पनि उत्पादन खपत हुने लकडाउनको उत्पादनबाटै पुष्टि भएको इन्द्रसरोवर भ्यू होटलका संचालक विकास बलामी बताउँछन् । राम्रो उत्पादन र बजारको कठिनाई नहुने भएपछि उत्पादनमा हौसला बढेको संघका अध्यक्ष गोपाल लामा बताउँछन् । 

माछापालनः सामुहिकतामै सफलता

कृषि होस् या पशुका क्षेत्रमा सामुहिक लगानी गरेर काम गरे सरकारको अनुदानमा समेत प्राथमिकता दिइरहेको छ । तर, कुलेखानीको माछा उत्पादन यसको उत्कृष्ट उदाहरण हो । सामुहिक लगानी र उत्पादनलाई  बजारिकरणका लागि यहाँ सामुहिकताको असल अभ्यास भएको छ । ईन्द्रसरोवर गाँउपालिका १ र २ का एक घर एक शेयरको अवधारण सहित काम शुरु गरेकोमा अहिले स्थानीय ६ सय ८६ घरधुरीको शेयर धनी छन् । उनीहरुले ईन्द्रसरोवर मत्स्य व्यवसायी संघ बनाई ईन्द्रसरोवर तालमा सामुहिक रुपमा व्यवसायिक माछा पालन तथा उत्पादन गरि विक्री वितरण गर्दै आएका छन् । 

संघले ईन्द्रसोेवरको मार्खु र कलंकी गरी दुई स्थानमा विक्री केन्द्र राखेर दिनदिनै माछाको विक्रि वितरण गर्दै आएको छ । सरदर वार्षिक तीस हजार किलोग्राम माछा उत्पादन गरि बिक्री वितरण गर्ने गरेको संघको तथ्याङ्क छ । यो तथ्याङ्क भनेको अहिलेको बजार मुल्य अनुसार करिब एक करोडको बराबर हो । ईन्द्रसरोवरका माछा आजभोलि प्रति किलोग्राम ३ सय २५ रुपियाँमा बिक्री वितरण भईरहेको छ । संभवतः मत्स्यपालनमा किसानहरुको यती ठुलो सामुहिक लागानी र उत्पादन  देशकै उदाहरणीय रहेको मार्खु सिम्लाङका शेयर सदस्य अच्युत विष्ट बताउँछन् ।  

आहा ! मान्छे जत्रै माछा

इन्द्रसरोवर तालमा खानकै लागि माछा उत्पादन गरिन्छ । यहाँ भुरा भने उत्पादन गरिदैन ।  अहिले माछा उत्पादन र बिक्रि वितरणको समय हो । खुल्ला छाडिएका माछा केजमा पािलएका भन्दा ठूला हुन्छन् ।
 
ठूला भइकन पनि कुलेखानीका माछा निकै स्वादिला हुन्छन् । माछा खाने अनि माछासंगै फोटो खिच्न पाइने । पर्यटकहरु यस बेलामा धेरै आउँथे, तर यसवर्ष लकडाउनले प्रभावित भएको छ ।  तैपनि माछा खपतमा कुनै कमी नभएको ग्राण्ड होटलका संचालक सगुन भोम्जनले बताए । पहिले होटलमा बिक्थ्यो, अहिले गाउँ–गाउँमा बिक्रि हुने गरेको छ । माछा पु¥याउनै धौधौ छ । अहिलेको सिजनमा निस्कने ठुला माछाले सबैलाई आकर्षित गरेको छ ।

कुलेखानीमा पानीको सतह घट्दै गए पछि ठुला माछा निकाल्न सजिलो हुने भएकाले ठुला माछा निस्कन्छन् । कुलेखानीमा अहिले सरदर १५ देखि २५ किलोसम्मका  एउटै माछा निस्किरहेका छन् । मत्स्य व्यवशायी संघले कुलेखानीबाट ३६ किलोसम्मको एउटै माछा निकालेको इन्द्रसरोवर मत्स्य व्यवशायी संघका शेयर सदस्य अच्युत विष्ट बताउँछन् ।    

राज्यको कमजोर लगानी 

ईन्द्रसारोवर तालमा माछा उत्पादनका लागि माछाका भुरा चितवन, जनकपुर लगाएतका क्षेत्रबाट ल्याउनु पर्छ । यहाँ भुरा उत्पादन हुँदैन । अन्यत्रको भन्दा चिसो र फरक हावापानीका कारण ल्याईएका भुरा हुर्कन निकै कठिन हुन्छ । तुलनात्मक रुपमा बढि समय लाग्छ । यस विषयमा सरकारले केही न केही सहयोग गर्नुपर्ने व्यवशायी संघको अपेक्षा छ । 

धेरै माछा उत्पादन हुने र भूरा अधिकांश अन्य जिल्लाबाट ल्याउँदा माछाका भुरा जति स्याहार गरेपनि सबै बाँच्दै बाँच्दैनन् । स्थानीय क्षेत्रमै भूरा उत्पादन गर्नका लागि सरकारले सहयोग गरे उत्पादन र गुणस्तरसंगै स्थानीयको आयआर्जन समेत बढ्ने संघका संघका अध्यक्ष लामा बताउँछन् । यसो गर्न सके मौसम अनुसार फरक फरक समयमा फरक फरक जातका माछा उत्पादन गरि अहिलेको उत्पादनलाई बढाउन सकिने उनको भनाइ छ । 

मत्स्य व्यवशायी संघका अनुसार स्थानिय बजारसँगै काठमाडौको बजारमा कुलेखानी ब्राण्डको माग पु¥याउन सकिन्छ । नेपाल जलस्रोतमा धनी भए पनि माछाका लागि भारतिय बजारमा निर्भर छ । आयातित् माछा स्वास्थ्यका दृष्टीकोणले पनि राम्रो नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)