Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

किरिया खर्च बोकेर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पुगे मृतकको घर

गएको भदौ ८ गते तीजको दिन मनहरी खोलामा डुबेर मृत्यु भएका तीनजना बालकको परिवार भेट्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि घरमै पुगेका छन् । 

१९ भाद्र साँझ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, कार्यकारी अधिकृत किसान न्यौपाने र वडा अध्यक्ष ठाकुरराम तितुङसहितको टोली मृतकका आफन्तको घरमा पुगेका हुन् । उनीहरुले मृतक बालकका अभिभावकहरुलाई सान्त्वना दिँदै गाउँपालिकाको तर्फबाट १० हजार रुपियाँका दरले सहयोग उपलब्ध गराएका थिए । मृतक १० बर्षीय अलेश रुम्बाका आमा राममाया स्याङ्तान, ११ बर्षीय अमन थिङका बुवा सुरेन्द्रकुमार थिङ र १२ बर्षीय प्रकाश रुम्बाका हजुरबुवा अक्कल बहादुर रुम्बालाई १० हजार रुपियाँको दरले आर्थिक सहयोग गरिएको हो । ‘उहाँहरु आफ्ना छोराको किरियामा हुनुहुन्छ, यो पीडामा थोरै भए पनि आर्थिक सहयोग हुँदा किरिया खर्च पुग्न सक्छ’, अध्यक्ष उप्रेतीले भने,–‘मानवीय पीडामा जनप्रतिनिधिहरु उदार दिलले साथमा रहनुपर्छ भन्ने हामीले बुझेका छौँ ।’

रकम हस्तान्तरण गर्नका लागि गाउँपालिकाको टोली मनहरी ७ स्थित मृतक अमन थिङको परिवार भएको घरमा पुगेको थियो । सोही घरमा अरु मृतकका अभिभावकलाई बोलाइएको हो । नगद हस्तान्तरण भएपछि मृतकका आफन्त भावबिह्वल बनेको थियो । उनीहरुले आफ्ना छोराहरु बितेपछि एक्लो महसुस भएकामा गाउँपालिका आफ्ना अभिभावकको रुपमा आँगनै आएर ढाडस दिएको भन्दै आभार प्रकट गरेका थिए । 
रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरु ठाकुरकुमार बर्ताैला, दीपक मिश्र, समाजसेवी एबम् मनहरी युवा क्लवका अध्यक्ष सगुन स्याङ्तान लगायतका व्यक्तिहरु सहभागी थिए । 

भदौ ८ गते मनहरी खोलामा पौडी खेल्न जाँदा तीनजना बालक खोलामा डुबेका थिए । उनीहरु स्थानीय मेरिगोल्ड टाइनिटस विद्यालय र राष्ट्रिय रोटरी माविमा कक्षा ४ र ५ मा अध्ययनरत थिए । तीजको दिन बिहान भएको दुखद् घटनापछि भोलिपल्ट शोकमा मनहरी बजार बन्द भएको थियो भने तीजको रमझम समेत यसपटक मनहरी बजारमा भएन । खानेपानी पाइपमा अल्झेपछि ती बालकहरु पानीको बेगसँगै अड्किएका थिए । चारजना अड्किएकामा १ जनालाई भने सकुशल उद्धार गरिएको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०