Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कालिदेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा

मकवानपुरको भीमफेदी–८ धार्के ईपाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरका साइक्लिष्टहरुको आर्थिक सहयोगमा सीमान्तकृत बिद्यार्थीहरुको लागि न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग अभियान अन्तर्गत मकवानपुर जिल्ला साइक्लिङ संघले कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । साईक्लिङ संघले केही बर्षदेखि जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा पुगेर न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता एवम् साइक्लिङ संघ अध्यक्ष संगीत श्रेष्ठको अध्यक्षतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । प्रमुख अतिथि लामाले पर्यटन प्रबद्र्धनमा साइक्लिङ संघसंग सहकार्य गर्न तयार रहेको जानकारी दिए । भीमफेदी गाउँपालिकाको पर्यटकीय क्षेत्रलाई समेट्ने गरी साइकल ट्रयाक बनाउने योजना रहेको सुनाउँदै उनले भने, ‘भीमफेदीमा साइक्लिङको सम्भावना रहेको छ । यहाँको पर्यटन प्रबद्र्धनमा साइक्लिङ संघसंग हातेमालो गर्न आतुर छौँ ।’ साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत साइक्लिष्टहरु मिलेर जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर बालबालिकाको पढाईमा सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा पनि यो अभियानले निरन्तरता पाउने बताए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, साईक्लिङ संघका सदस्य उज्वलराज शाक्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कविन सांगामी, वडा अध्यक्षलगायतको आतिथ्यता रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०