Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कक्षा छोडेर काफल र ऐंसेलुमा

    बिहिबारको दिन, विद्यालय चलिरहेको थियो । तर, त्यही विद्यालयको कक्षा ४ मा पढ्ने सुनिल थिङ र दिनेश बल कक्षामा थिएनन् । फाट्फुट्ट गाडी चल्ने त्रिभुवन राजपथको टिस्टुङ झाप्रे भन्ने ठाउँमा उनीहरु काफल बेच्दै थिए । दिनेशको बुवाको दिनेश सानै हुँदा मृत्यु भयो । ३ दिदीमध्ये २ को विवाह भयो । दाइ गाउँकै विद्यालयमा ७ कक्षामा पढ्छ । घर चलाउने जिम्मा आमालाई छ । विदेशमा रहेकी दिदी मनमाया बलले उनलाई पढाई खर्च पठाउँछिन् । त्यहीमाथि पनि दुईचार सय कमाइ भैहाल्छ कि भनेर दिनेश साथीसँग मिलेर काफल बेच्न सडकमा निस्कन्छन् । 
    अहिले काफल र ऐंसेलुको सिजन हो  । सिजनको मौका दिनेश र सुनिलले पनि छोपे । तर, पढाई भने छुटिरहेको छ । ‘दुई चार सयको लोभमा पढाइ नछुटाऊ, भर्खरै विद्यालय खुलेको छ, नियमित जाऊ’ संवाददाताको भनाइमा उनीहरु सहमत भएका छन् । 
    सोही दिन त्रिभुवन राजपथको नौविसेदेखि पालुङसम्म आउने क्रममा दिनेश र सुनिलजस्ता अरु बालबालिका पनि काफल बेच्दै गरेको भेटिए । झाप्रेकै अलि पर भेटिएका १३ वर्षीय सम्पूर्ण घले कक्षा ५ पढ्छन् । उनीहरुको स्कूल जनता प्रावि हो । ‘दिनमा ३–४ सय कमाइ हुन्छ,  बेलुका लगेर बालाई दिन्छु’ घलेले शान्तिपुरसित भने । उनीसँगै रहेका ११ वर्षीय राजकुमार घले भने विद्यालयभन्दा बाहिर छन् । काफल बेच्न दिदी सम्झनासँगै आएका राजकुमारलाई सरकारको भर्ना कार्यक्रमले छुन सकेन । ‘२ कक्षा पढेर पोहोर नै छोडेको’ उनले भने । बागेश्वरी माविमा पढ्ने सम्झना घले चाहिँ आमाको काम लिएर आएकी थिइन् अर्थात् उनलाई पढ्न जान मन थियो तर आमाले बिहानै काफल टिपेकोले उनले बेच्न हिँडिन् । आमाको घरमा  काम भएकोले सम्झना काफल बेच्न निस्केकी थिइन् । 


    थाहा नगरपालिकाको नौखण्डेस्थित बागेश्वरी माविभन्दा झण्डै २ किलोमिटर पर भेटिएका ३ बालिकाको बिद्यालय नजानुको कारण भने अर्कै थियो । बागेश्वरीमा कक्षा ८ मा अध्ययनरत प्रीति थोकर र जमुना लामाले भने, हामी अरु बेला यसरी हिँड्दैनौं, आज गाउँमा ‘मान्छे मरेर’ स्कूल गएनौं । गाउँमा कसैको मृत्यु भयो या कसैको विवाह छ भने त्यस दिन विद्यालयमा धेरै बिद्यार्थीहरु आउँदैनन् । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत त्रिभुवन राजपथको टिस्टुङ क्षेत्रमा अधिकाँस तामाङ जातिको बसोबास छ । विद्यार्थीहरुलाई विद्यालयमा नियमित गराउनै मुश्किल छ । तथापि बागेश्वरी २०७४ सालको ८ कक्षाको परीक्षाफलमा नगरकै उत्कृष्ट विद्यालय ठहरियो । यस्ता विभिन्न बहानामा बालबालिकाहरु विद्यालयमा गयल नहुने हो भने अझ धेरै राम्रो गर्न सकिने बागेश्वरी माविका प्रधानाध्यापक वीरमान स्याङ्तानले बताए । 
    मकवानपुरकै बस्तीपुर घर भएका १४ वर्षीय शम्भु घलान विहानै हेटौंडाको एउटा चिया पसलमा भेटिए । ‘कति कक्षामा पढ्छौं, आज स्कूल जानु पर्दैन ?’ संवाददाताको प्रश्नमा जवाफ आयो, ‘सिद्धकाली माविमा कक्षा ८ मा पढ्छु । बोडी बेच्न आएको, अब आज स्कूल जान नभ्याइने भयो ।’ उनका अनुसार अब खेतबारीमा बोडी निस्किन थाल्यो, बेच्न बिहानै हेटौंडा आउनु पर्छ ।


    यो साता भेटिएका बालबालिका कुनै न कुनै कारण स्कूल गइरहेका थिएनन् । त्रिभुवन राजपथको भैंसेबाट डिब्बा गाडी चढेर पालुङ हुँदै आएका ३ बालकको कथा अझ चर्को थियो । बर्दियाको ठाकुरद्वारा घर भएका १८ वर्षीय निसान थापा र अनिल चौधरी उक्त गाडिमा थिए । उनीहरु भन्दै थिए, ‘१२ कक्षाको परीक्षा दियौं, ११ को पनि ब्याक थियो, तर दिनै मन लागेन ।’ ८–१० दिन काठमाण्डौंमा घुमफिर गरेपछि घर फर्किने उनीहरुले बताए । उनीहरुका अनुसार उनीहरु ठाकुरद्वाराको जगदम्बा माविमा अध्ययनरत छन् । 
    सोही गाडीमा भेटिएका नुवाकोटका बालक बसन्त थिङ गाडीको सहयोगी(खलासी) थिए । भने, ‘४ कक्षामा पढ्दापढ्दै भागेर धादिङ धार्केको होटलमा काम गर्न थालेको थिएँ, पछि गुरुजीले गाडीमा हिड्छस् भन्नु भयो, अनि हस् भनें ।’    यस वर्षको पढाइ भर्खरै शुरु भएको छ । बालबालिकाहरु अहिलेदेखि ‘ड–प आउट’ वा अनियमित हुन थालेका छन्, हामीले शिक्षामा दिगो विकास लक्ष कहिले हासिल गर्ने ?
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०