nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

एक सातामा २ मीटर भरियो कुलेखानी

गत हप्ताको १८ साउन राती कुलेखानी जलाधार क्षेत्रमा भारी वर्षा भएपछि कुलेखानीको सतह तुलनात्मक रुपमा भरिने क्रम बढ्न थालेको छ । ठाउँठाउँमा मूल फुट्ने गरी वर्षा भएको कारण जलाधार क्षेत्रका खोला र खोल्साहरु बढेकाले कुलेखानीमा जलसतह माथि आउने क्रम बढेको हो । 

वर्षायाममा पानी जम्मा गरी हिउँदका लागि ‘ब्याक अप’को रुपमा लिइने कुलेखानीमा एक सातामा २ मिटर पानी जम्मा भएको कुलेखानी जलविद्युत आयोजनाको अभिलेखले देखाएको छ । नेपाल विद्युत प्राधिकरण कुलेखानीका इलेक्ट्रिसियन मानबहादुर थापाले दिएको जानकारी अनुसार १६ साउन, सोमबार विहान ९ बजेको तुलनामा २३ साउन विहान ९ बजे २ मिटर पानी बढेको छ । 

१६ साउनमा कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ६ दशमलब १९ मिटर पानी भएकोमा २३ साउनमा १ हजार ५ सय ८ दशमलब ४९ मिटर पुगेको छ । यसै साताको बीच १८ साउन राती भारी वर्षा भएपछि अहिले प्रति घण्टा १ सेन्टीमिटरको दरले  पानी जम्मा भइरहेको कुलेखानी प्रथमका इन्जिनियर लक्ष्मणप्रसाद फुँयालले जानकारी दिए । 

आयोजनाको अभिलेख अनुसार गत १७ साउनमा २० सेमी, १८ साउनमा २० सेमी, १९ साउनमा २१ सेमी, २० साउनमा ३० सेमी, २१ साउनमा ७१ सेमी र २२ साउनमा ४७ सेमी पानी भरिएको छ । गत वर्ष २३ साउन, २०७३ मा कुलेखानीको पानी १ हजार ५ सय १४ दशमलब ५१ मिटरको सतहमा थियो । यस वर्ष यही दिन अघिल्लो वर्षको तुलनामा ६ मिटर पानी कम छ । 

कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ३० दशमलब २ मिटरमा भरिन्छ । त्यसपछि ‘ओभर फ्लु’ हुने पानीलाई बाँधको माथि सिमेन्टको बोरा राखेर थप ३० सेन्टीमिटर जम्मा गर्न सकिन्छ । पूर्ण रुपमा कुलेखानी भरिन अझै २२ मिटर बाँकी छ । 

तर, यस वर्ष कुलेखानीको पानी भरिन्छ कि भरिँदैन भन्ने यसै भन्न नसकिने आयोजनाका अधिकारीहरु बताउँछन् । ‘वर्षा हुने समय अझै बाँकी छ, यसै भन्न सकिन्न,’ कुलेखानी प्रथमका एक कर्मचारीले बताए । 

२०७१ सालमा भारतमा आएको हुदहुद आँधीका कारण प्रशस्त वर्षा हुँदा कुलेखानी भरिएको थियो । त्यसयता भरिएको छैन । २०७२ को पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलब ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । त्यस्तै गत वर्ष १ हजार ५ सय २३ दशमलव ६७ मिटरसम्म पुगेको थियो । कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ  भने १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणाधीन छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)