Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एक महिनाभित्रै कुलेखानी तेस्रोको उद्घाटनको तयारी

नेपाल विद्युत प्राधिकरणले ३ मंसिरमा माथिल्लो त्रिशूली थ्रि एको उद्घाटन गरेपछि अब कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गर्ने तयारीमा जुटेको छ । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले गत असोज तेस्रो साताबाट परीक्षण उत्पादन थालेको थियो ।

यो आयोजनाले व्यवसायिक उत्पादन थालेपछि प्राधिकरणअन्तर्गत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजना पार लाग्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘एक महिनाभित्र कुलेखानी तेस्रो आयोजनाको पनि उद्घाटन गर्छौं,’ उनले भने, ‘यसपछि प्राधिकरणको ध्यान मुख्यरुपमा माथिल्लो तामाकोसीसहित कम्पनी मोडलमा बनिरहेका विभिन्न आयोजनामा केन्द्रित हुनेछ ।’

विभिन्न कारणले प्राधिकरणलाई आर्थिक बोझ बनिरहेका चमेलिया र त्रिशुली थ्री ‘ए’ ले उत्पादन थाले पनि कुलेखानी तेस्रो आयोजना अन्योलमा थियो । अहिले कुलेखानी तेस्रोबाट परीक्षण उत्पादन भइरहेको र उत्पादित विजुली राष्ट्रिय प्रसारणमा आइसकेको घिसिङले बताए । कुलेखानी १ र २ चलेका बेलामा मात्रै तेस्रो आयोजना चलाउन सकिने भएकाले त्यसैअनुरुप परीक्षण भइरहेको उनले जानकारी दिए ।

आयोजनाको शुरुको लागत अनुमानित अढाइ अर्ब रुपैयाँ थियो । निर्माण अवधि लम्बिदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् ।

पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्‍याएर १४ मेगावाट उत्पादन हुँदैछ । अप्रिल २००८ देखि सुरु भएको आयोजनाको निर्माण डिसेम्बर २०११ सम्ममा सक्ने लक्ष्य थियो ।