Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

उपत्यका प्रवेश गर्ने ६ वटै नाका सिल गर्न प्रशासनको सुझाव

KTM-1588695826.jpg

काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् । बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

यसैगरी सबै प्रवेश नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मीसहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्थासहित क्‍वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव छ ।

यी हुन् राजधानी प्रवेश गर्ने नाका

  • थानकोट
  • फर्पिङ
  • जगाती/साँगा
  • तीनपिप्ले/मुड्खुभञ्ज्याङ
  • जर्सिङपौवा
  • कात्तिके

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्ले/मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगाती/साँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धितबाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारिएको बताए । ती नाकाको स्थलगत निरीक्षणका लागि मंगलबार दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको सुरक्षा टोली पुगेको थियो । लकडाउन कार्यान्वयनसम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिने छ । त्यसपछि आवश्यकता र औचित्य हेरेर सीसीएमसीले निर्णय गर्ने उनले बताए ।

-इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०