Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज सरस्वती पुजा, आफ्ना बालबालिकालाई अक्षर चिनाउने उत्तम साइत

1577968689iQb1aP0-1580344661.jpg

सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।

विद्या र सिर्जनकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा र आरधना गर्ने प्रचलन छ । बसन्त उल्लास हो,सुगन्ध हो, मुस्कान हो,सौन्दर्य हो,प्रकृति हो,संगीत हो,साधना हो र वसन्त जीवन हो । यस्तै भावले माता सरस्वतिको पूजा तथा आराधना गरिन्छ । वसन्त पञ्चमी शुभ मूहुर्त १० बजेर ४५ मिनेट जाँदा रहेको छ । साथै तिथि १ बजेर १९ मिनेट जाँदा सकिन्छ ।

     आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई शिक्षारम्भ गराउने प्रचलन छ। विद्याकी देवी सरस्वती पूजाका दिन शिक्षक, विद्यार्थी, कलाकार र विभिन्न पेश व्यवसायका व्यक्तिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आज विवाह, व्रतबन्ध, बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य सञ्चालनका लागि साइत हेर्न नपर्ने धार्मिक विश्वास छ। 

     सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। सरस्वती पूजाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। विद्या प्रारम्भका लागि आजका दिन सवैभन्दा उत्तम हुने विश्वास गरिन्छ।