nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अबरोधहरुका बावजुद चन्द्रागिरी छिचोल्यौँ, अब स्लाब/पिच गर्छौँ : सुभाषचन्द्र ठकुरी 

chit5-1633794743.jpg

चित्लाङ–थानकोट जोड्ने ऐतिहासिक मार्ग, स्थानीयहरुको अथक प्रयासपछि मोटर गुडाउन प्रारम्भिक ट्रयाक खुलाएको दशकौँ भइसकेको अवस्था तर बैज्ञानिक सर्वेक्षण र स्तरीकरण हुन नसकेको बिडम्बना । यसबीच २०७० सालको संविधान सभाको निर्वाचनपछि संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरीको पहलमा चित्लाङ–थानकोट सडकको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन(ईआई) प्रतिवेदन तयार भयो । सडक विभागले यसको लागि छुट्टै आयोजना कार्यालय खोल्यो, टेण्डर खुलायो र विभिन्न खण्डमा विभिन्न चरणमा काम अघि बढायो । सो सडकको पानीघाट चन्द्रागिरी खण्डका लागि ठेक्कामा म्याद थपिरहने, काम नहुने र समस्या ज्यूँका त्यूँ रहने अवस्था भएपछि समस्या समाधानको लागि स्थानीयहरु नै कस्सिए । त्यसको रेखदेखको लागि अगुवा बनाए उनै संविधान सभाका सदस्य ठकुरीलाई । 

ठकुरीको अगुवाइमा पानीघाट चन्द्रागिरी भञ्ज्याङसम्मको ट्रयाक पूरा गर्ने लक्ष्यका साथ काम शुरु गरिएको २३ असोजमा ३८१ दिन पूरा भयो । यो दिनसम्म आइपुग्दा प्राय १० मिटर चौडा सडकमा सरर मोटर गुड्न सकिनेगरी प्रगति भयो । थाहानगरबाट काठमाण्डौँ आउजाउ गर्ने नियमित सेवाका सुमोहरुसहित साना गाडीहरु चल्न थाले । यही खुशीयालीमा २३ असोजमा चन्द्रागिरी भञ्ज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै सडक निर्माणका मुख्य अभियन्ता ठकुरीले भने– ‘अबरोधहरुका बावजुद चन्द्रागिरी छिचोल्यौँ, अब स्लाब÷पिच, नाली, कलभर्ट केके निर्माण गर्ने हो, त्यो गर्छौँ ।’

गत वर्षको ७ असोजमा थानकोटतर्फ २५०० मिटर सडकलाइ ‘जिरो प्वाइन्ट’ मानेर  काम शुरु गरिएको थियो । त्यस दिनदेखि अनवरत खटिएर काम गरेका थिए ठकुरीले । उनको साथमा थिए सडक निर्माण सरोकार समितिका संयोजक प्रदेश साँसद रमा आलेमगर, सदस्यहरु रामशरण नेपाल, सुनिल गुरुङ, बिनोद बस्नेत, दिपक गोपाली र बिजय बस्नेत । अझै साथमा थिए चित्लाङका बौद्धिक व्यक्तित्व बुद्धरत्न मानन्धर, राजन बस्नेत, दिलिप बलामी, दिनेश बिडारी, सुदर्शन लामिछाने, राजेन्द्र बस्नेत, परशुराम बस्नेत, रमेश बिडारी, मनोजकृष्ण गमाल, युवराज श्रेष्ठ, दिनेश बिडारी र सयौँ अभियन्ताहरु । आज ‘केही गर्न बाँकी बाहेक’ दशैँको मुखमा चित्लाङ–थानकोट सडकको ट्रयाक खुलाएर सरर गाडी चलेको खुशीयालीमा एकप्रकारको उत्सव मनाइरहँदा सभासद ठकुरी सम्झन्छन्– ‘कतिपय पहरा फोर्न लाग्दा र ननइन्जिनियरिङ घुम्तीहरु काटिरहँदा १० वर्षमा पनि बाटो बन्दैन भन्थे, तर हामीले एक वर्षभित्र बाटो नै क्लियर गरिदियौँ ।’

गत वर्ष आर्थिक वर्षको शुरुवातमै चित्लाङस्थित रामशरण नेपाल सञ्चालित रिसोर्टको सभाहलमा बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री रामेश्वर फुयालको उपस्थितिमा सरोकारवालाहरुको भेला बसेको थियो । सो भेलामा ठेकेदार सनकसिं राई पनि थिए । राईले आफ्नो समस्या राखे । सोही भेलाबाट ठेकेदारको समस्यामा सहजीकरण गर्ने र सडक स्तरीकरणको कामलाई निरन्तरता दिने प्रतिवद्धतासहित सडक निर्माण सरोकार समिति गठन भयो । समितिले सभासद ठकुरी र अग्रज व्यक्तित्व मानन्धरको साथ लियो । र, स्थानीय सरोकारवाला स्वयम् अग्रसर हुने हो भने असम्भवजस्तो देखिने कुरा पनि सम्भव हुन्छ भन्ने प्रमाणित गरेर देखाइदिए । 

यो बीचमा सडक निर्माण सरोकार समितिले थानकोटबाट २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्रयाक क्लियर’ गरेको हो ।  यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेशिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म २ मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्छीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने, लगायतको काम ग¥यो । त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । सडक निर्माणका मुख्य अभियन्ता ठकुरीका अनुसार अँधेरी खोल्छामा रक कटिङ गरेर उजेली खोल्छा बनाइएको छ भने ३ वटा अप्ठ्यारा घुम्तीहरुलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्रयाक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताए । उनले ७९०० मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमुना प्राकृतिक वालसमेत निर्माण गरिएको जानकारी दिए । 

२३ असोजमा चन्द्रागिरी डाँडामा आयोजित कार्यक्रममा ५०० बढी सहभागीहरुबीच सडक निर्माणका अभियन्ता ठकुरीले अबको दिनमा छाप्रोमाथिको खोल्छीको मोड सुधार गर्नुपर्ने, थुप्रेको माटो फाल्नुपर्ने, डोजर झरेको मोडमा ३ मिटर बाहिर आउनेगरी वाल लगाउनुपर्ने, सबै ठाउँमा १० मिटर हुनेगरी चौडा बनाउनुपर्ने, पश्चिम ६ किलोमिटरको मोडमा ३ मिटर बाहिर वाल लगाउनुपर्ने, अधेरी खोल्छीको बाटो फराकिलो बनाउनुपर्ने, राम्चेको जेड कटिङसम्मको सिङ्गल बाटोलाई डबल बनाउनुपर्ने जस्ता कामहरु बाँकी रहेको सुनाए । उनले अब सर्वेक्षणबाट इस्टिमेट बनाएर नयाँ टेण्डरमा जान सुझाव दिए । 

कार्यक्रममा हालसम्म खटिने अभियन्ताहरुको नाम सुनाउनुका साथै खाजा सहयोग, आर्थिक सहयोग र ऋण सहयोग गर्ने व्यक्तिहरुको फेहरिस्त पनि सुनाइएको थियो । सो विवरणहरुले विगतमा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले ‘काम सकेपछि हिसाव सुनाउने गरेको’ भन्ने कुराको व्यवहारिक प्रयोग भएको देखाइरहेको थियो ।  सो अवसरमा सडक निर्माणका अभियन्ता र सहयोगीहरुलाई सम्मानसमेत गरिएको थियो । 

कार्यक्रममा समाजसेवी अच्युत्तमप्रसाद ढकाल, थाहा–६ का वडाध्यक्ष शशिधर सुवेदी, थाहा–९ का वडाध्यक्ष पर्शुराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सडक निर्माण सरोकार समितिका सदस्य रामशरण नेपालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)