Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जनाको ज्यान गयो ः यसरी भयो घटना

suman-baraili-1510709662.jpg

मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।

खुकुरी प्रहारबाट मनहरी ७ कै स्थानीयवासी ५५ वर्षीय  सिताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने बाँकी दुईको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कसरी भयो घटना

- शिबकुमार काशी
मंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल मनहरी बजारबाट १ किलोटिर पश्चिम पर्छ । जानका लागि बाइक स्टार्ट गर्न कोसिस गर्दै थिएँ । साइरन बजाउँदै हत्तारिएर इलाका प्रहरी कार्यालयको गाडी मनहरी प्राथमिक स्वास्थ्य केन्द्रतिर दौड्यो । सम्झें, घटनास्थलमा जानुभन्दा यतै जानु बेश ।मोटरसाइकल चोकमै छोडेर दौडिएँ । प्राथमिक स्वास्थ्य केन्द्रनिर पुग्नै लाग्दा बाटोमा बाइकका कारण पुलिसको गाडी छिर्न सकेन । मैले हतार हतार बाइक हटाएर प्रहरीलाई सहयोग गरेँ । प्रहरीको साइरन निरन्तर बजिरहन्छ । हत्तारिँदै प्रहरीको गाडी स्वास्थ्य केन्द्रभित्र छिर्छ र इमर्जेन्सीतिर ब्याक हुन्छ । निकै हत्तारिएर गाडीभित्र रहेको मान्छे निकाल्नका लागि सहयोगको अपिल भएपछि म आफै त्यसतर्फ लम्कन्छु । बिगतमा पनि सवारी दुर्घटनाहरु हुँदा कयौँ घाइतेहरुलाई बोकेर बेडसम्म लैजाने, एम्बुलेन्स चढाउने लगायतका कामहरु गर्नेगरेको थिएँ । मैले आफूलाई सञ्चारकर्मीको रुपमा मात्रै कहिल्यै प्रस्तुत गर्दिन, म मुख्यतः सचेत नागरिक पनि हुँ भन्ने बुझेरै यी सब मानवीय सेवामा मन लगाउने गर्छु ।

मलाई घटनाबारे खास केही थाहा थिएन । खुकुरी प्रहार भो भन्ने मात्रै अपुष्ट सुनेका थिएँ । संयोजकले टाउकोपट्टि बोक्ने जिम्मा मेरै भयो । अरु प्रहरीहरुले हात, खुट्टा समाएका थिए । दुई हात लगाएर घाँटीको पछाडि भागमा समाए । अनुहार पनि राम्ररी हेरिन । तर, मेरो हात त घाटीभित्र पो गढ्यो । आङ सिरिङ्ग भो । हातभरि रगतै रगत भयो । ती व्यक्तिलाई पछाडिको भागबाट घाँटीमै खुकुरी प्रहार भएको रहेछ । लगत्तै मलाई असह्य पीडा भयो । हत्त न पत्त घाँटी छिन्न खोजेको त्यो मान्छेको ज्यानलाई थाम्नका लागि अर्काे साथीलाई गुहारेँ । उनले ढाडपट्टि ढाडस दिएपछि मैले घाँटीबाट हात हटाएर ज्यानतिर सारेँ । बेडमा उनलाई पु¥याइयो । हंसले ठाउँ छोड्यो एकछिन त ।

भीड थुप्रै बढ्यो । प्रहरीसँग थप सूचना लिएँ । अर्का दुईजनाको हालत पनि त्यस्तै छ र भरतपुर पठाइएको छ भन्ने बुँझे । त्यसपछि मिडियातिर फोन गरेर सूचना दिए । मनहरी एफएममा पनि आफैले लाइभ गरे । डाक्टरले अझै केहीबेर पर्खनुस् है भनेर चेकजाँच गरिरहे । मृत्यु घोषणामा उनीहरुले ढिलाइ गरिरहे । ती व्यक्ति थिए ५२ बर्षीय सीताराम धिताल । उनीसँग मेरो पहिलो भेट गत स्थानीय तहको निर्बाचनका क्रममा उनकै घरमा भएको थियो । सानो एकतले, दुईपाखे फुसको घर । घरले नै उनको गरिबी प्रष्ट्याउँथ्यो । अलि अड्कि अड्कि बोल्थे । 

हर्नामाडीतिरबाट केही बर्षअघि मात्रै बसाइँ सरेर यता आएका रहेछन् । छोराछोरी पाल्नका लागि ज्याला मजदुरीका काम गर्थे । आफू काम गर्ने, अरुलाई सघाउने स्वभावका उनी थिए भनेर छिमेकीहरु बताउँछन् ।उनको घरभन्दा ५० मिटर फरकमा उत्तरतिर एउटा अर्काे चिटिक्कको घर छ । त्यो घर सुमन बराइलीको हो । सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको छ । ३२ बर्षका सुमन र ५२ बर्षका सीताराम यसर्थ मित साइनोमा बाँधिए, छोराहरु मार्फत । सुमन केही बर्षयता असामान्य अबस्थामा रहेछन् । केही समयपहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएकाले औषधी पनि खुवाइएको रहेछ । मंगलबार साँझ छोराले गरेको पाप सम्झँदै रुँदै गरेकी उनकी बयोबृद्ध आमाले यो कुरा सुनाइन् । उनकी भाउजुले पनि उनी मेन्टल रहेको पुष्टि गरिन् ।

केही दिनदेखि सुमन घरबाट हराएका रहेछन् । सोमबार उनलाई खोजेर घर ल्याइएको रहेछ । हेटौँडाको कर्राक्षेत्रमा फेला पारेर ल्याइएका सुमन १ बर्षअघि मात्रै समिलडाँडा बसाइँ आएका हुन् । जसका कारण उनको आनीबानी र व्यवहार छिमेकीहरुलाई त्यति जानकारी रहेनछ । नजिकै सुमनको दाईको पनि घर छ । कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराएपछि मंगल बिहानै फेरि खोजेर ल्याइएको रहेछ । चिटिक्क परेको एकतले घर, घरको उत्तरतर्फ सफा शौचालय, पूर्व फर्केको घरको आँगन, सायद सुमनले यही घरमा बर्षाैसम्म घामपानी टारौँला भनेर सोचेरै निर्माण गरेका 
थिए । तर, उनी अब यो घरमा होइन कारागार अर्थात मामाघरमा दिन काटनेछन् । उनले आफ्नै मित, मित छोरा र बाटामा भेटिएका कान नसुन्ने र आँखा समेत नदेख्ने अर्का छिमेकीलाई खुकुरीले खसी झैँ मार हानेर पारे । त्यो पनि मित र मित छोरालाई आफ्नै घरमा । र अर्का बृद्धालाई बाटोमा हिँडिरहेको अबस्थामा ।

मंगलबार साँझ काम सकेपछि सीताराम मित अर्थात सुमनको घरमा गएछन् । घरमा बस्नु, कामधाम गर्नु, सँधै कता कता हराउनुहुन्छ भनेर सम्झाइ बुझाई गर्न उनी गएका रहेछन् । सुमन चाहिँ बिहानैदेखि चुरियामाईले बोलाको छ भन्दै असामान्य भाषा बोल्दै थिए । बेला बेलामा बली पनि माग भएको भन्न पनि भ्याउँथे रे सुन्नेहरुका अनुसार । यत्तिकैमा के झोक चल्यो, आफ्नै पूर्वपट्टि फर्केको घरको सिमेन्टेट आँगनमा मित सीतारामलाई खुकुरी प्रहार गरे । मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले । बुवालाई मारेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे । उसलाई त्यसैगरी आँगनमै ढलाई दिए, गर्दनमै ।

त्यसपछि साँढे बनेर नांगो खुकुरी लिएर बाटैबाटो दाइको घर हुँदै सुमन हिँडे । दाईको छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको घाँघर अलिकति च्यातियो भने पाखुरामा पनि स्क्र्याच भयो । देवरले मान्छे मारेपछि कोलाहाल भएको गाउँ र आफ्नो घरतिर आइरहेको देखेर उनकी भाउजुले हत्तपत्त ढोका बन्द गरिन् । गाउँलेहरुको भागाभाग भयो । यस्तैमा एकजना बृद्धा झाँक्री जीतबहादुर ब्लोनलाई सुमनले भेट्छ । खुकुरी लिएर आएको सुमन देखेर सबैजनाले ब्लोनलाई भाग्नका लागि भन्छन् । तर उनले कान सुन्दैनन् । उनको कान र आँखा दुबै कमजोर थियो । यत्तिकैमा ब्लोनलाई पनि सुमनले गर्दनमै प्रहार गर्छ, मित सीताराम र मितछोरा सुदन झै । ब्लोन बाटामै ढल्छन् ।

मान्छे मारेको र खुकुरी लिएर हिँडेको देखेपछि युवाहरुले सुमनलाई पछ्याए । र, तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे । यस्तैमा एकजना म्यादी प्रहरीको फोन इलाका प्रहरी कार्यालयमा बज्छ । र, तत्काल प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल पुग्छ । प्रहरीसहित गाउँलेहरु मिलेर सुमनलाई लखेट्छ । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छ । घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश माग्छन् । उताबाट ओके पनि आउनु र गाउँलेहरुले हानेको ढुंगा लागेर सुमन लड्नु एकैपटक हुन्छ । अनि सुमन पक्राउ पर्छन् । यो बेला सुमन घटनास्थलबाट २ सय मिटर उत्तरपूर्व खोल्सामानेर पुगेका हुन्छन् ।

यसरी निर्दाेष मान्छेको ज्यान अकालमा जान्छ । बिना कारण मान्छेहरु काटिन्छन् । राष्टिय खबरभरि मनहरी छाउँछ । कतिपय राजनीतिसँग दाजेर घटनाबारे सोध्छन् । कतिपय ग्यांङ फाइट हो कि भन्ने सोच्छन् । कतिपय छिमेकमा रिसिइबी हो कि भन्ने सोच्छन् । तर, प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । इलाका प्रहरी कार्यालयमा ल्याइएका सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । उताबाट आएका मान्छेले मेरो आमाबुवा, बुढी, छोराछोरी सबै मारे भन्छन् । उता भनेको कता भनेर प्रश्न गर्दा गढीमाई भन्छन् । गढीमाईबाट मलाई यस्तो आदेश आएको भन्छन् । उनको दिमाग ठीक ठाउँमा छैन । यस्तो घटना देखेका सुमनका श्रीमती र छोरा पनि बेहोसीमै छन् । उनीहरुलाई भरतपुर लगिएको छ । यता मृतकका परिवार शोकाकुल छ । अझ मृतककी श्रीमतीलाई साँझ ९ बजे पुग्दा समेत यथार्थ जानकारी दिइएको छैन । कसरी थाम्न सक्लिन् श्रीमान र छोरालाई एउटै हतियारले शिकार गरेको घटना ? साँझ शसस्त्र प्रहरी, इलाका प्रहरी, म्यादी प्रहरी, जनप्रतिनिधि, युवाहरुसहितको टोलीले घटनास्थलको अनुगमन गर्दा रगतका फाल्साहरु इत्रतत्र देखिन्थे । घटनास्थलबाट ढाकाटोपी, ह्याट चप्पलहरु भेटिएको छ ।

केही पर झाडीमा खुकुरी पनि भेटिएको छ । साँझ ९ः३० बजे प्रहरी र टोली फर्कने क्रममा सोचेँ, हामी सम्बृद्ध मनहरीको कुरा गरिरहेका छौँ । यस्ता मनोबृत्ति र घटना परिघटनाले हाम्रो समाज कहाँ लैजाला ? हामीले बसालेका बस्तीमा कस्ता कस्ता प्रकृतिका मानिसहरु आउलान् ? र, उनीहरुले कुन बेला कस्तो घटना घटाउलान् ? अनि हाम्रा सन्ततिले के बुझ्लान् ? के सिक्लान् ? यस्तै यस्तै कुरा मनमा खेलिरह्यो । मनहरीलाई कालो धब्बा लगाउने पात्रहरु सम्झिँरहे । यस्तैमा बीरगञ्जबाट एउटा फोन आउँछ । पत्रकार सुरेश बिडारी बोल्छन् । अघि उनले तपाईले फेसबुकमा लेख्नु भएको घटनामा मेरो भिनाजु र भान्जा परे भन्छन् । ६ बजेको समाचारमा ब्रेकिङ न्युज पढेको थिएँ, आफ्नै मान्छे परेछन् भनेर उनले भने । र, घटना सुनाइदिएँ । उनको भिनाजु शरीर उचाल्दाको घटना सुनाइरहँदा उनले सुन्न सकेनन् र फोन काटियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०