Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

३ नम्बर प्रदेश स्तरीय पर्यटन दिवसको कार्यक्रम थाहानगरमा
थाहानगर पर्यटकीय हब बन्ने पक्का

मकवानपुरको थाहा नगरपालिका तथा इन्द्रसरोवर र भिमफेदी गाउँपालिकालाई समेटेर प्याकेजकै रुपमा पर्यटन प्रवद्र्धन गर्ने ३ नम्बर प्रदेशले योजना बनाएको छ । ३९ औं विश्व पर्यटन दिवसको अवसरमा थाहानगरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री डोरमणी पौडेलले बताएका हुन् । प्रदेश सरकारले ती पर्यटकीय गन्तव्य स्थलको गुरुयोजनाको समेत तयारी थालेको जनाएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा ११ असोजमा ति स्थानीय तहहरुमा प्रदेशस्तरीय कार्यक्रम संचालन भएका छन् । 

मन्त्री पौडेलले तीन नम्बर प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा भिमफेदी र इन्द्र सरोवर तथा थाहा नगरपालिकालाई मध्येनजर गरेर विविध कार्यक्रम संचालन गरेको छ । यस अवसरमा १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने ३ नम्बर प्रदेशको घोषणा छ । भिमफेदी गाउँपालिकाको झिरघारी स्थितमैत्री बगैचा यस मध्येको एक गन्तव्य भएको घोषणा गर्दै ११ असोजमै निर्माण शुभारम्भ भएको घोषणा मुख्य मन्त्री पौडेलले गरे ।

उनले भने, ‘पर्यटकलाई आकर्षित गर्ने गरि पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षण गर्न स्थानीय सरोकारवाला सचेत र जिम्मेवार हुनुपर्दछ।’ मैत्री बगैचामा मुख्यमन्त्री पौडेल सहित प्रदेशका पाँच जना मन्त्रीले वृक्षारोपण गरेर बगैंचा निर्माणको शुभारम्भ गरेका हुन् । मैत्री बगैचा निर्माणको लागि प्रदेश र भिमफेदी गाउँपालिकाले गरी चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको छ । 

कार्यक्रममा थाहा नगरपालिकामा ‘दामन घुमफिर वर्ष–२०७५’ भन्ने नाराका विशेष कार्यक्रमको शुभारम्भ मुख्य मन्त्री पौडेलले गरे । थाहानगरको सिमभन्ज्याङमा मुख्य मन्त्री पौडेलले झण्डोत्तोलन गरेर ‘दामन घुमफिर वर्ष–२०७५’ शुभारम्भ घोषणा गरेका हुन् ।

मैत्री बगैचामा भएको कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले समृद्धीका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै प्रदेशका १० पर्यटकीय स्थानमा हिल स्टेशन बनाउँने बताए । देश विकासका लागि हरेक नागरिकले ईमान्दार पूर्वक काम गर्नुपर्ने बेला आएको उनको भनाइ थियो । समृद्धिको पहिलो आधार पर्यटन भएकाले सरकार पर्यटनको विकासमा लागेको मन्त्री नेपालको भनाई छ । मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्ज्याङ, दामन, पालुङ, चित्लाङ र ईन्द्रसरोबरलाई समेटेर पर्यटन क्लस्टर बनाउने प्रदेश सरकारको तयारी छ ।  

कुन्छाल होमस्टेमा पाँच मन्त्री

मकवानपुर थाहानगरको कुन्छाल होमस्टेमा विश्व पर्यटन दिवसको दिन पाँच मन्त्री पुगेका छन् । थाहा नगरपालिका वडा नं. १ मा रहेको कुन्छाल गाउँमा संचालन भएको होमस्टेको मुख्य मन्त्री डोरमणी पौडेल सहित उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्ेल कुन्छाल होमस्टे पुगेका हुन् । 

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले होमस्टे व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । उनले आर्थिक सम्वृद्धिको बलियो आधार पर्यटन व्यवशाय भएको बताउँदै प्रदेश सरकारको तर्फबाट कुन्छाल होमस्टे प्रवद्र्धनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमको अवसरमा क्न्छाल होम स्टे व्यवस्तापन समितिका सचिव निराज गोपालीले कुन्छालको वस्तुस्थिती समेटीएको पुस्तिका मुख्य मन्त्री पौडेललाई हस्तास्तरण गरेका थिए । 

चन्द्रगिरीमा हिल स्टेशन

मकवानपुर थाहा नगरपालिकाको चन्द्रगिरी भन्ज्याङमा हिल स्टेशनको शुभारम्भ गरिएको छ । चन्द्रगिरीमा टावर निर्माणका लागि प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमी व्यवसथा, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्ेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

चन्द्रगिरीमा निर्माण हुने हिल स्टेशनबाट मकवानपुरको थाहानगरका आकर्षक क्षेत्रहरुका साथै काठमाण्डौ, धादिङलगायतका क्षेत्रहरु खुल्ला आँखाले सहजै दृश्यावलोकन गर्न सकिन्छ । 

प्रदेश सरकारले ३ नम्बर प्रदेशका १३ जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने हिलस्टेशनका लागि प्रत्येकामा ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

चिटिक्क चित्लाङ, सम्वृद्ध थाहानगर

थाहा नगरपालिकाको पर्यटन विकासका लागि चित्लाङ मुख्यद्वार भएको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । चित्लाङ चन्द्रागिरीको स्तरीकरण र संघीय सरकारले घोषणा गरेको चित्लाङ थानकोट सुरुङमार्ग बन्न सके यहाँको पर्यटन व्यवशाय फस्टाउने उनको भनाइ थियो । उनले भने–‘संघीय सरकारको एजेण्डमा मद्दत गर्छौ, सडक स्तरीकरणलाई प्राथमिकतामा राख्छौं ।’ मुख्य मन्त्री पौडेलले चिटिक्क चित्लाङलाइृ सम्वृद्धीसंग जोड्नका लागि यहाँका हरेक वस्तु पर्यटनमैत्री बनाउन स्थानीयहरु आफै जुट्नुपर्ने बताउँदै यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे । 

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेललगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अतिथिहरुलाई थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले स्वागत गरेका थिए । कार्यक्रममा विष्टले थाहानगरको सम्वृद्धिको आधार कृषि र पर्यटन नै भएकोले यसतर्फ प्रदेश सरकारले महत्वकासाथ सहयोग गरिदिन अपील गरे । विष्टले मुख्य मन्त्री पौडेल र पर्यटन मन्त्री नेपाललाई थाहानगरको पर्यटन गुरुयोजना कार्यान्वयनमा सघाउन आग्रह गर्दै योजना किताब हस्तान्तरण गरे ।

कार्यक्रममा इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले निर्वाचित हुँदै गर्दा जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्नको लागि पनि पर्यटन प्रवद्र्धन आवश्यक भएको औल्याए । उनले संभावनाहरुलाई योजना र त्यसको कार्यान्वयनमा बदल्न सके स्वरोजगार भई आर्थिक सम्वृद्धिमा टेवा पुग्ने बताए । इन्द्र सरोवर गाउँपालिका प्रदेश नं. ३ को पर्यटकीय गन्तव्य घोषित गाउँपालिका हो । 

चित्लाङको माझगाउँमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सदस्य चित्र बहादुर बलामी, भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, इन्द्र सरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा थापा, प्रदेश मन्त्रालयका सचिवहरुलगायतकाको उपस्थिती रहेको थियो ।  



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)