nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हर्क साम्पाङले सम्झाएको ‘थाहा रिभोलुसन’
धर्मेन्द्र दाहाल

harka-rupchandra-1-1653974487.jpg

स्थानीय तहको निर्वाचन– २०७९ मा दुई पात्र सार्वधिक चर्चामा रहे । योपटक जनताले काठमाडौंका बालेन्द्र साह ‘बालेन’ र धरानका हर्क साम्पाङ राईलाई मनमा मात्र राखेनन्, स्थानीय सरकारको कार्यकारी प्रमुख पदमा समेत पुर्याइदिए ।

जनताको विषय उठाउने व्यक्तिहरु अब पार्टीको झण्डामुनि रहनुपर्ने मान्यतालाई खारेज गर्दै नेपालको राजधानीसहित घनाबस्ती भएका सहरमा योपटक स्वतन्त्र उम्मेदवारहरुले गर्विलो जित दर्ता गरे ।

काठमाडौंको बालेनलाई एकछिन पर राख्दै पूर्वी नेपालको पर्यटकीय सहर धरानमा पुग्ने हो भने त्यहाँका नागरिकहरुले एकजना भुइँमान्छेलाई ‘नगरपिता’ बनाएका छन् । धरानमा वर्षौदेखि जनताको कुरा उठान गर्दै आएका साम्पाङले मीठो जित दर्ज गरेका छन् । उनले उठाएका भुइँमान्छेको मुद्धाले जितेको छ । उनको जितले अझै पनि नेपालीहरुले भुइँमान्छेको कुरा उठान गर्नेलाई विश्वास गर्छन् भन्ने तथ्यलाई प्रमाणित गरेको छ ।

अब कुरा गरौं, मकवानपुरबाट सुरु भएको ‘थाहा’ आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको । २०३९ सालमा मकवानपुरबाट सुरु भएको ‘थाहा रिभोलुसन’ले एउटा चमात्कारी प्रर्दशन गरेको थियो । पञ्चयातकालीन जर्जर व्यवस्थाविरुद्ध मकवानपुरको पालुङबाट (हाल थाहा नगरपालिका)बाट एउटा युवा एक्लै एउटा हातमा ‘हाते माइक’ लिएर जनताको कुरा बोल्दै देशभर चर्चामा आयो– रुपचन्द्र विष्ट ‘रुदाने’ ।

पञ्चयातको जर्जर व्यवस्थाविरुद्ध अन्दोलन त के बोल्नसमेत प्रतिबन्ध रहेको समयमा ‘थाहा रिभुलेसन’ले त्यो समयमा साम्पाङले जस्तै  मीठो जित हासिल गर्न सफल भयो । अर्थात् पञ्चयातविरुद्ध स्वतन्त्र तवरले उम्मेदवारी दिएका जनपक्षीय उम्मेदवार विष्टले २०३९ सालमा राष्ट्रिय पञ्चयातसभामा जित दर्ता गर्दा राजाको समेत मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो ।

पहिलोपटक जितेका उनले राष्ट्रिय पञ्चयातमा प्रत्येकपटक जनताको कुरा उठाए, शासकलाई भ्रष्ट्राचार नगर्न मञ्चबाट थर्काए । फलस्वरुप २०४३ सालमा पनि उनी विजयी बने ।

जनताको समस्यालाई ‘फिल्ड’मै उत्रेर समाधान गर्ने मात्र नभइ आफ्नो चुनावी पर्चा बेच्दै चुनावमा उठेर उनले गौरवशाली जित हासिल गरे । कुनै व्यक्ति राज्यसत्तामा पुगेपछि सबैको हुनुपर्छ, कुनै दलको हुनुहुँदैन, जनताले दिएको एक–एक मतको कदर जस्तोसुुकै परिस्थितिमा पनि गर्नुपर्छ भन्ने अठोट लिएका रुदानेले सांसद भवनमै भ्रष्ट राजनीतिक नेता, भ्रष्ट प्रशासनको सातो लिएका थिए ।

उनले राज्यको हरेक विकास खर्च, हरेक आम्दानी आमजनताले ‘थाहा’ पाउनुपर्छ तब मात्र देश विकास हुन्छ, तब नागरिकले विकासको अनुभूति गर्न पाउँछन् भन्ने मानक स्थापित गर्न खोजे । हुन त त्यसबेलाको शासकले अहिलेका साम्पाङलाई जस्तै ‘पागल’को आरोप नलगाएको होइनन्, तर पनि रुदाने डटिरहे, लागिरहे ।

साम्पाङले सम्झाएको ‘थाहा रिभुलेसन’

हर्क साम्पाङको अफिसियल फेसबुकमा उनले ‘हर्क साम्पाङ अ रिभुलेसन’ नाम राखेका छन् । उनको लाखौं फलोअर्स छन् । मकवानपुरका विष्टले पनि त्यसबेला घरको भित्ता, सहरका ठूलाठूला कम्पाउण्ड र आफैंले कमिजमा ‘थाहा’ लेख्थे । थाहा अर्थात राज्यको हरेक विषय आम नागरिकले हुबहु थाहा पाउनुपर्ने अधिकार । उनको ‘थाहा’ अभियान र साम्पाङको फेसबुक लाइभ अभियान करिब एउटै उद्देश्यबाट प्रेरित भएको पाइन्छ । दुवैको उद्देश्य के भैरहेको छ भनेर जनतालाई सुसूचित गर्नु थियो । यो कोणबाट हेर्दा साम्पाङ र विष्टमा समानता पाइन्छ ।

अर्कोतर्फ जसरी थाहाका प्रणेता विष्ट शासकअघि निर्धक्क कुरा राख्न डराउँदैनथे राईमा पनि त्यो गुण देखिन्छ । जनताको करबाट उठेको एक पैसा पनि हिनामिना गर्नुहुन्न भन्ने सोच पनि रुदाने र राईको समान देखिएको छ । शासन गर्ने स्थानमा पुगेपछि तडकभडक गर्नुपर्ने, करोडौंको गाडी प्रयोग गर्नुपर्ने, सुविधासम्पन्न घरमा बस्नुपर्ने, नोकरचाकर राख्नुपर्ने सोचलाई राईले हटाइदिए । त्यसबेला रुदानेले पनि सोही कार्यशैली अनुसरण गरेका थिए ।

यसरी हेर्दा साम्पाङको जितलाई मकवानपुरेले रुदानेको ‘सेकेण्ड इनिङ’को रुपमा व्यख्या गरेका छन् । रुपचन्द्र विष्टको जीवनलाई नजिकबाट नियाल्ने मौका पाएका मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट भन्छन्, ‘हाल धरानमा विजयी भएका साम्पाङ र मकवानपुरे विष्टको जीवनमा धेरै कुरा समानता छ, क्रान्तिकारी स्वभाव, भुइँमान्छेको विषय उठान गर्ने जननेता, जनताको कामप्रति निकै गम्भीर हुने स्वभाव, भ्रष्टाचारलाई सबैभन्दा ठूलो पाप सम्झने नीति दुवैको एकैछ ।’

दुवैमा अर्को एक समानता पनि पाइन्छ । दवबै पात्रहरुले अरुलाई कहिल्यै पनि ठूलो नसम्झने र आफू पनि कहिल्यै अरुभन्दा ठूलो नबन्ने बानी रहेको उनी बताउँछन् । यी गुणहरुलाई मध्यनजर गर्दा रुदाने र साम्पाङ फरक समयमा देखिएका एकै प्रवृत्ति भएका मानिस हुन् ।

धराने जनताको भाषामा भन्ने हो भने साम्पाङ उनीहरुको आशाको दीयो हो । ४०–४२ को दशकमा मकवानपुरे जनताको भाषा रुदानेप्रति पनि सोही आशा थियो । नेपाल प्रेसबाट