Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुन्दै अचम्म ! अचानक निस्कने आगोले हाँडीखोलामा त्रास

मनहरी–मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ रुन्चेडाँडामा सुन्दै अचम्म लाग्ने घटनाले सबैको ध्यान तानेको छ ।
तीन दिनअघिदेखि स्थानीय बासिन्दाको घरमा आफै आगो उत्पन्न हुने घटनाले स्थानीयलाई अचम्मित मात्र पारेको छैन, त्रास फैलाएको छ ।


स्थानीय हिरालाल मुक्तान, धनबहादुर मुक्तान र नरबहादुर मुक्तानको घरमा यस्तो देखिएको हो । आगो सल्केर कपडा तथा खरका छानाहरु समेत जल्न थालेपछि उनीहरु तनावमा छन् । ‘आफ् से आफ् आगोको राँको देखिन्छ, पानी हालेर निभाउँदा कुनै आवाजै नआई निभ्छ’, महिला वडा सदस्य पम्फा रोक्काले भनिन् । यस्तो घटना भएपछि पीडितले स्थानीय जनप्रतिनिधिहरुलाई गुहारेका थिए ।

आगोका कारण घरको छानो समेत जलेको छ भने घरमा रहेका अधिकाँश कपडाहरु जलेका छन् । ‘मानिसले लगाएका कपडा बाहेक अन्य कपडाहरु जलेको पाइएको छ’, रोक्काले भनिन् ।

दिनहुँजसो यस्तो समस्या दोहोरिएपछि मंगलबार मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसहितको टोलीले घटनास्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले जलेका कपडाहरु, गोठका खरका छानाहरु जलेका अवशेष तथा कुखुराका खोरहरुमा लागेको आगलागी देखेको बताए । ‘हामी जाँदा चाहिँ आगो बलेको देख्न पाएनौँ’, अध्यक्ष् उप्रेतीले भने–‘मंगलबार बिहानसम्म आगो देखिएको थियो भन्ने जानकारी पायौँ ।’


आफू घटनास्थल पुग्ना साथ चाडबाडको बेला बिचल्ली भएको भन्दै स्थानीय महिलाहरुले रुवाबासी गरेको उनले सुनाए । प्रतिउत्तरमा उनले समस्या समाधानका लागि गाउँपालिकाको तर्फबाट पहल हुने भन्दै आश्वस्त पारेका थिए ।
घटना दोहोरिन थालेपछि स्थानीयबासिन्दाले झाँक्री तथा लामाहरुलाई ल्याएर देखाएका छन् । कतिपय अबस्थामा झाँक्री बिद्यामार्फत टुनामुना लगाएर पनि यस्तो गर्न सकिने स्थानीयको अनुमान छ । आगोलागी हुने बित्तिकै घरका मान्छेहरु काँप्ने गरेकाले पनि भूतप्रेत वा टुनामुनाले यस्तो भएको स्थानीयहरु अनुमान लगाउँछन् । स्थानीयले मंगलबार दिउँसो पनि लामा गुरुलाई घटनास्थल लगेर पुजाआजाको विधि अपनाएका छन् । 

कारण यो पनि हुनसक्छ
आगलागी हुने भनिएका तीनवटा घरमध्ये एउटा घरमा सोलार सिस्टम जडित छ । १३० वाटको सोलार सिस्टमका कारण पनि कहीँकतै विद्युत चुवावट भएर समस्या आएको हुन सक्ने अनुमान छ । तर, आगलागी भएका कपडाहरुमा पानी हाल्दा कुनै आवाज नै नआई बिस्तारै निभ्दै जाने भएकाले त्यो सम्भावना पनि कमजोर मानिएको छ ।

त्यसो त घरनजिकै इन्टरनेट सेवा प्रदायक कम्पनीले टावर स्थापना गरी आफ्नो वायरलेस सिस्टम खडा गरेका छन् । ती सिस्टममा भएको लिकेजको प्रभावका कारण पनि आगलागी देखिन सक्ने अनुमान गर्न सकिन्छ । कतिपय मानिसहरु चाहिँ ग्याँस खानी रहेकाले ग्याँस लिकेज भई आगो उत्पन्न भएकोसम्म अनुमान लगाउँछन् । यसबारे आफूले बिज्ञहरुको खोजी गरिरहेको र छिट्टै नै घटनाबारे अनुसन्धान गरी निराकरणका लागि जुटेको गाउँपालिका अध्यक्ष उप्रेतीले प्रतिक्रिया दिए ।

मनहरी डटकमबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०