Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सम्बृद्ध थाहाः कस्को के प्रतिवद्धता ?

थाहा नगरपालिकाको विकासकालागि बृहत्त बहस गरिएको छ । नगरलाई कसरी सम्वृद्ध बनाउने भन्ने विषयमा केन्द्रीत भई २९ वैशाखमा थाहानगरको झम्केश्वर मावि स्थित सामुदायिक भवनमा अन्तरक्रियात्मक कार्यक्रम गरी यस्तो बहस गरिएको हो । पर्यटकीय नगरी थाहामा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संस्थाहरुको संयुक्त रुपमा विकास बहसको आयोजना गरेका हुन् । अन्तरक्रियामा नगर प्रमुख लवशेर विष्टले प्रमुख आतिथ्यता रहेको थियो । 

विष्टले नगरमा अहिलेसम्म भएका योजनाको विवरण प्रस्तुत गर्दै भावी योजनबारे समेत जानकारी गराएका थिए । बजेट अनुसार कतिपय विषयगत कार्यमा उपलब्धी चित्त बुझ्दो नभएकोले आगामि दिनमा अनुगमन र मूल्उयाङ्कनलाई कडा पारिने प्रमुख विष्टले बताए । उनले भने–‘बजेट दिएपछि उपलब्धी आउनुपर्छ, छलछाम भए कारबाही गर्छु ।’ अन्तरक्रियामा उपप्रमुख खड्ग गोपालीले कार्यक्रममा आएका जिज्ञासाहरुको विषयमा बताएका थिए । इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामाले गाउँपालिकाको पर्यटकीय विकासको सम्बन्धमा कार्यपत्र प्स्तुत गरेका थिए । उनले समग्र उत्तरी मकवानपुरको पर्यटन विकास तथा प्रवद्र्धनका लागि अन्तर स्थानीय तहबीचको सम्बन्ध र योजना निर्माणमा समेत सहकार्य हुनुपर्ने बताए । भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले विकासमा साझेदारी र सहकार्य गरेर अघि बढ्न सकिने बारे प्रतिवद्धता जनाइन् । 

कार्यक्रममा थाहा नगरपालिका वडा नं. ६ निवासी तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, सहप्राध्यापक कुमार थापा, उद्योग मन्त्रीका प्रमुख स्वकीय सचिव तथा थाहानगर निवासी नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य सन्तोष विष्ट, रेडियो पालुङको अध्यक्ष विष्णुहरी ढकाल, बुद्धिजीवी तथा चार्टर एकाउन्टेन उमेश ढकाल, सामान्य प्रशासन मन्त्रालयका सहसचिव भरत ढकाल, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की, सहकारीकर्मी महेश्वर सुवेदी लगायतको उपस्थिति थियो । 

कार्यक्रम प्रस्तावित रोटरी क्लव अफ थाहाका संयोजक अच्युत्तमप्रसाद ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । थाहा नगरपालिकामा क्रियाशील संघसंस्थाहरुको सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । ‘विगतको भन्दा अझ व्यापक ढंगले जान खोजिएको छ, थाहानगर घर भई नगरबाहिर बस्दै आएका बुद्धिजीवीहरुको समेत विशेष सहभागिता रहेकाले कार्यक्रम महत्वपुर्ण ढंगले सफल रह्यो’ संयोजक  ढकालले भने । पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, लायन्स क्लब अफ थाहागर, थाहानगर उद्योग वाणिज्य संघ, थाहानगर मिडिया एसोसिएसन, थाहा कला केन्द्र, दामन रेडक्रस, पालुङ रेडक्रस, बज्रवाराही रेडक्रस, सामुदायिक सेवा केन्द्र, प्रस्तावित रोटरी क्लब अफ थाहा, नगरस्तरीय सामुदायिक वन उपभोक्ता महासंघ, जनकल्याण एल्मुनाइ एसोसिएसन, पाण्डुकेश्वर क्षेत्र विकास समिति, एभरेष्ट युवा विकास क्लब लगायत संघसंस्था सञ्जालमा छन् । अन्तरक्रिया पछि थाहा घोषणापत्र समेत जारी गरिएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०