nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शैक्षिक गुणस्तर सुधारका लागि प्रोत्साहन पुरस्कारः थाहानगरका कुन विद्यालय अब्बल ?

मकवानपुरको थाहा नगरपालिकामा स्तरीय आधारभुत तह कक्षा ८ उतिर्ण परिक्षा २०७५ को पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । 

नगरस्तरीय आधारभुत तहको नतिजा अनुसार उत्कृष्ट नतिजा ल्याउन सफल संस्थागत तथा सरकारी विद्यालयहरुका विद्यार्थी, विषयगत शिक्षकहरु र विद्यालयलाई थाहा नगरपालिकाले पुरस्कार वितरण तथा सम्मान गरेको हो । नतिजा पश्चात गरिने पुरस्कार तथा सम्मानले विद्यार्थी र शिक्षक सबैलाई शैक्षिक गुणस्तर सुधार गर्नु पर्ने कुरामा प्रोत्साहन मिल्ने उदेश्यले कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले बताए । उनले आधारभुत तहको नतिजा दुधको दुध, पानीको पानी जस्तै गरि प्रकाशन गरेको ठहर गरे ।
कार्यक्रममा संस्थागत विद्यालयका ३ छात्र तर्फ हिमालयन इङलिस स्कुलका रोहित कार्की प्रथम, हिमालयन कै परिवर्तन स्याङ्तान द्वितीय र प्रदिप राज बर्तौला तृतीय भएका छन र ३ छात्रा तर्फ पालुङ इङ्लिस स्कुलका बिनिता स्यङ्तान प्रथम,  पालुङ इङलिस स्कुलका स्मारिका ढकाल द्वितीय र इअन एकेडेमीका दिक्षा थापा मगर तृतिय भएका छन् ।

सरकारी विद्यालयका ३ छात्र तर्फ सुनौलाका महेस गोपाली प्रथम, जनकल्याणका विश्वास ढकाल द्वितीय र सुनौलाका सुरज थोकर तृतीय भएका छन् र  ३ छात्रा तर्फ बज्रबारही मा वि का स्वस्तिका थापामगर प्रथम, सुन्दरी देवी मा वि का सरिना थिङ द्वितीय र जनकल्याण मा वि का पुजा गोपाली तृतीय भएका छन्  । उनिहरुलाई क्रमश २५ सय, २ हजार र १५ सय सहित प्रशंसा पत्र प्रदान गरेको छ ।

नगर भित्र रहेका विद्यालयहरु मध्येमा संस्थागत तर्फ इअन इङ्लिस एकेडेमी ९० प्रतिशत ल्याएर प्रथम, सरस्वती बोर्डिङ स्कुल ८८ प्रतिशत ल्याएर द्वितीय, र हिमालयन इङलिस सेकेन्डरी बोर्डिङ स्कुल ८१ प्रतिशत ल्याएर तृतीय भएका छन्  यस्तै सामुदायिक तर्फ सुनौला मा वि ३७ प्रतिशत ल्याएर प्रथम, सुन्दरी देवी मा वि ३५.७ प्रतिशत ल्याएर द्वितीय र बागेश्वरी मा वि २२.३ प्रतिशत ल्याएर तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाइ क्रमश ६०, ४० र २० हजारको चेक सहित सम्मान पत्र प्रदान गरिएको छ ।

विषयगत शिक्षकहरुमा सुनौला मा वि का कुमार मिजार, सरिता कर्की, मिना महर्जन, ॐ प्रकाश, देबेन्द्र गोपाली, अमिता गोपाली, बज्रबाराही मा वि का सुनिल महर्जन र सुन्दरी देवि मा वि का मुकेश गोलेलाई नगद रु ५ हजार सहित सम्मान पत्र प्रदान गरेको छ ।

विद्यालयहरुलाई प्रदान गरिएको पुरस्कारको चेक शैक्षिक प्रगतिको लागी के काम मा प्रयोग गर्ने भन्ने प्रतिवद्दता सहित नगरमा चिठी पठाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै स्वच्छन्द भैरव मा।वि।का प्रधानाध्यापक विष्णु दाहालले ३, ५ र ८ कक्षाको परिक्षा नगरले सञ्चालन गरिरँहदा ठुला कक्षाको राम्रो नतिजाका लागी साना कक्षालाइ नै पहिलो प्राथमिकता दिन आवश्यक रहेको सुझाए ।

परिक्षाको समिक्षा गर्दै सुन्दरी देवी मा वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनायक गोलेले परिक्षामा टाढाको परिक्षा केन्द्रमा जान विद्यार्थीलाई दुख दिनु भन्दा होम सेन्टरमा वा नजिकको विद्यालयमा परिक्षा केन्द्र बनाउनु पर्ने तर त्यसको लागी वि व्य स समितिका पदाधिकारी बढी खट्नु पर्ने बताए । उनले नगर भित्र एग्रीकल्चर, सिभिल इन्जिनियर, फरेष्टी लगायतका प्राविधिक शिक्षा पढाइ भैरहेकाले विद्यार्थीहरु जुन विषय पढ्न चाहन्छ त्यो पढ्न र पढाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने सुझाब व्यक्त गरे ।

परिक्षाको समिक्षा गर्दै परिक्षा समितिका सदस्य सुरेन्द्रमान प्रधानले परिक्षा उत्कृष्ट रुपमा सम्पन्न भए पनि विद्यालयमा राजनितीज्ञ नभएर शिक्षक हुनु पर्ने बताए । राजनितीले विद्यार्थीलाई पर्ने असरलाई मध्येनजर गर्दै राजनीति गर्ने व्यक्ति विद्यालयमा नभएर शिक्षकको व्यवहार हुनुपर्ने बताए । उनले  संस्थागत विद्यालयलाई पनि सामुदायिक सरह हेर्नका लागी अनुरोध गरे ।
कक्षा ८ को परिक्षामा कुल ७२० जना विद्यार्थीले परीक्षा दिएका थिए । जसबाट नगरले ८२.२५ नतिजा प्राप्त गरेको छ । नगरले प्राप्त गरेको यस नतिजाको ठुलो हिस्सा भने संस्थागत विद्यालयको रहेको नगर शिक्षा समितिका सदस्य शशिधर सुवेदीले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले नतिजामा वृद्धि भएको छ ।

उनले परीक्षा संचालनमा सैद्धान्तिक तर्फ न्युन नम्बर ल्याउने विद्यार्थीको प्र्‍याक्टिकलमा पुरा पुर्णाङ्क दिएको, प्रश्नपत्र बाहिरीएको, शिक्षकले नै चिट चोर्न मद्दत गरेको लगायतका क्रियाकलाप विषयमा दुख व्यक्त गरे ।
नतिजा संतोषजनक नरहेको बताउँदै अधिकांश विद्यार्थी नम्बर थप गरेर पास भएको प्रती दुख व्यक्त गर्दै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले विद्यार्थीहरु शतप्रतिशतले पास भएको भए सिर उठाउन सकिने बताए । उनले विद्यार्थी र विद्यालयहरुको प्रतिस्पर्धाको कडा रुप देख्न आतुर भएको बताए । 
शिक्षाको सुधार गर्न भौतिक तथा मेसिनरी सामग्रीले नरोक्ने बताउँदै हाल सम्म पनि नगरमा शिक्षा गुणस्तर सुधारको लागी कुनै विद्यालयबाट माग नआएको तर भौतिक र मेशिनरीको लागी भने अनेकन माग आएको प्रती दुख व्यक्त गरे । उनले अत्यन्तै कम नम्बर ल्याएका विद्यालयलाई अर्को कार्यक्रम गरेर छलफल गर्ने,  विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान कार्य गर्ने, परिक्षाको समस्या र सुझाबहरुको समिक्षा गर्ने लगायतका योजन रहेको जानकारी समेत दिए । 

थाहा नगरपालिका नगरपालिकाको कार्यालयको आयोजनामा आञ्चालित कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिको सभाध्यक्षता, नगर प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।