nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ल्होसार सम्झाउँदै मनहरी महोत्सव 

तेस्रो मनहरी महोत्सव सुरुवातीको चौथो दिन अर्थात बुधवार महोत्सलाई ल्होसारमय बनाइने भएको छ । नेपाल तामाङ घेदुङ संघ ४ नं क्षेत्रीय समितिको संयोजनमा तामाङहरुको महान्पर्व सोनाम ल्होसार विशेष कार्यक्रम आयोजना हुन लागेको हो । माघ १५ गते आयोजना गर्न लागिएको ल्होसार विशेष कार्यक्रम महोत्सव स्थलको भौतिक संरक्षणमा क्षति पु¥याउने गरी हावाहुरी आएपछि रोकिएको थियो । 

रोकिएको कार्यक्रमलाई ल्होसार विशेषको रुपमा बुधवार मनाउन लागिएको हो । महोत्सवको मूल मञ्चमा तामाङ समुदायको नेतृत्वले आफ्नो औपचारिक कार्यक्रम गर्नेछ भने चर्चित गायक विश्व दोङले मञ्च तताउनेछन् । त्यसका अलावा आस्था कला केन्द्रको नृत्य तथा अन्य तामाङ सेलोहरुमा नृत्य प्रस्तुत हुने बताइएको छ । 

आफ्नो समुदायका मानिसहरुलाई महोत्सवमा आउन सजिलो होस् भनेर संस्थागत रुपमै ३ सय वटा टिकट खरिद गरिएको छ । तामाङ घेदुङ संघका अध्यक्ष टंकबहादुर मुक्तानले पूर्व सहायक मन्त्री तिलकबहादुर नेगीसहित तामाङ समुदायका पत्रकार, कलाकार, गायक, नायक, खलनायक, डाक्टर, इन्जिनियर, स्नातकोत्तर उत्तीर्ण, नेपाली सेना, प्रहरी लगायतलाई सम्मान गर्ने कार्यक्रम राखिएको बताए । 

यसैबीच महोत्सवमा हालसम्म १ करोड ५० लाख रुपियाँको कारोबार भएको छ । मूल आयोजक समारोह समितिका संयोजक तथा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालले अवलोकनकर्ताहरु निरन्तर बढ्ने क्रममा रहेको बताए । मंगलबार ख्यातिप्राप्त गायक प्रजापति पराजुली, सुनिल पण्डित लगायतले सांगीतिक प्रस्तुति दिएका थिए । त्यसैगरी अन्य लोकदोहोरी गायकगायिकाहरुले गीतसंगीत प्रस्तुत गरेका थिए । 

माघ १६ गतेदेखि सुचारु भएको महोत्सवमा २ वटा स्टल रहेका छन् । २ लाख जनाले अबलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ५ करोड कारोबार हुने लक्ष्य राखिएको छ । कृषि, अटो, बाल उद्यान, पोशाक, होटल लगायतका स्टलहरु महोत्सवमा रहेका छन् ।