nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रुपचन्द्रको जन्मथलोमा थाहाको व्यवहारिक अभ्यास

रुपचन्द्र विष्ट, धेरैले चिनेको नाम । र, कतिपयले उनको व्यवहार पनि चाल पाएका व्यक्ति हुन् । उनी भन्थे–‘थाहा पा भाते ।’ भात मात्र खाने काम केही नगर्नेलाई रुपचन्द्र विष्ट भाते भन्थे । थाहा सबैले पाउनुपर्छ भन्ने मान्यता राख्थे । साना गतिविधिहरुको पनि आफै माइकिङ गरेर थाहा दिन्थे । र, त उनको पूर्ण कदको शालिकमा उनले हातमा माइक समाएको देख्न सकिन्छ । थाहानगरको विकास घर प्राङ्गणमा पूर्ण कदको शालिक छ । विष्टको जन्म थलो नगरपालिका घोषणा हुँदा पालिकाको नाम पनि उही ‘थाहा’ राखियो । मकवानपुरको ‘थाहा’ नगरपालिका । नगरपालिकाले अहिले ‘थाहा’ लाई व्यवहारमै कार्यान्वयनमा ल्याएको छ । मुलुकमै विपदका बेला खरिद गरिएका औषधि उपकरण्कोे विषयमा विवाद भैरहेको बेला थाहाले कोरोना संक्रमण रोक्न गरेका प्रत्येक क्रियाकलापको सुक्ष्म तथ्यांक राख्ने गरेको छ । सानातिना खर्चको पनि स्पष्ट हिसाब राख्न नगर प्रमुख लवशेर विष्टले विशेष सर्कुलर नै गरेका छन् । विपद्का बेलामा मौका छोपेर लोभ गर्नेहरु पनि हुन सक्छन्, त्यसैले यसप्रति थाहा नगरपालिका सचेत रहेको मेयर विष्ट बताउँछन् । 

कोरोना संक्रमण रोक्ने प्रयत्नका लागि नगरपालिकाले ४० लाख रुपैयाँ छुट्याएको छ । दाताहरुले पनि रकम दिएर कोष बढाइरहेका छन्, आवश्यक सामाग्री थपिदिएकाछन् । यी सबैको स्पष्ट हिसाब राखिएको मेयर विष्टले बताए । उनी भन्छन्–‘हिसाब राख्ने मात्र होइन, हामी हरेक दिन कोषको मौज्दात रकम, प्राप्त भएको रकम, सामाग्री र ति रकम खर्च भएको शिर्षकसहित दिनदिनै सार्वजनिक गर्छाैं ।’

डाक्टर सहितको क्वारेन्टाइन

थाहा नगरपालिकाले मुटुको धड्कन, ज्वरो, प्रेसर, सुगर देखाउने डिजिटल मोनिटरसहितको क्वारेन्टाइनमा ५ वटा हाइकेयर रुम बनाएको छ । २० वटा नर्मल रुम छ । हैसियत र विज्ञता अनुसारका देशैभरी नगरपालिकाहरुले क्वारेन्टाईन कक्ष निर्माण गरिरहेका छन् हामीले अलि फरक काम गरेका छौं, नगर प्रमुख विष्टले भने । उनी थप्छन्–‘क्वारेन्टाईन कक्ष मान्छे थुन्ने ठाउँ होइन, अत्याधुनिक र सुविधासम्पन्न हुनुपर्छ ।’ यस्तो क्वारेन्टाईन कक्षमा विरामी र चिकित्सकलाई खाना, नास्ता र चिया बनाउन छुट्टै एकजना सहयोगीको पनि व्यवस्था गरिएको छ ।

कोरोनाको लक्षण पाका पुस्तामा पनि देखिन सक्छ उनीहरुको समेत केयर गर्न क्वारेन्टाइनमा हाइ केयरको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

कोरोनाले बनेको दरिलो संयन्त्र

थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका गतिविधिमा समन्वय गर्न र अभिलेख राख्नका लागि नगरमा एउटा छुट्टै पाँच सदस्यीय सचिवालय बनाइएको छ । विहानदेखि दिउँसोभरीका सबै सूचना बेलुकी ५ बजे सचिवालयमा आईपुग्छन् । 

नगरभरी रहेको नौ वटै स्वास्थ्य संस्थाका विरामी परीक्षणसमेतको अपडेट पनि ५ बजे आईपुग्छन् । दैनिक ज्वरोको विरामी कति आए नगरको सचिवालयमा अभिलेख हुन्छन् । तथ्याङ्क विश्लेषण गरिन्छ, अनि भोलिपल्टको योजना बनाइन्छ  । यो थाहा नगरपालिकाको दैनिक काम नै हो । 

विदेशबाट आएकाहरुको पनि १४ दिन नकटेका कति, कटेका कति, २१ कटेका कति वा नयाँ कोही भित्रिएकी भने दिनदिनै नगरपालिकाले तथ्याङ्क अद्यावधिक गर्दछ । तथ्यांकमात्र होइन, खाद्यान्नको अवस्था, जनताका गुनासा आदि सबै ५ बजेसम्म नगरपालिकाले आफ्नो अभिलेख तयार गरिसकेको हुन्छ ।

दैनिक रुपमा प्राप्त तथ्यांक र समिक्षा सहितको प्रतिवेदन नगरपालिकामा फाईलिङ हुने मात्र होइन, यो त सञ्चारकर्मी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, संघीय सरकार, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय सबैतिर इमेल मार्फत पठाउने मेकानिजम थाहा नगरपालिकाको छ । प्रमुख विष्टले भने, ‘गाउँ, टोलदेखिका सबै तथ्यांक राष्ट्रियस्तरमा पुग्छ, यसले हामीलाई थप बलियो बनाएको छ ।’


नाकामा हेल्थ डेस्क 

गाडिको अभावमा लकडाउनपछि थाहा नगरमा काठमाण्डौंबाट हिंडेरै चन्द्रागिरीबाट घर फर्किनेहरुको थाहा नगरपालिकाले चन्द्रागिरी र आग्राको भोर्लेमा हेल्थडेस्क राखेको छ ।  हेल्थडेस्कले आगन्तुकको ट्राभल हिस्ट्रि लिन्छ, स्वास्थ्य चेकजाँच गर्छ, थर्मागनले ज्वरो नाप्छ अनि मात्र उनीहरुले थाहानगर प्रवेश पाउँछन् । 

थाहा नगरपालिकाले गरेका प्रयत्नले नगरवासीमा पनि सुरक्षाको अनुभुति भएको चित्लाङका बुद्धरत्न मानन्धर बताउँछन् । ‘कोरोना भित्रिंदैन भनेर ठोकुवा त कसले गर्न सक्छ र ? तर, हामी सक्दो प्रयास गरिरहेका छौं–उपप्रमुख खड्ग गोपालीले भने ।


टोल टोल नै लकडाउन

थाहा नगरपालिकाका १२ वटै वडा सदस्यलाई टोल टोलको जिम्मा दिएको छ । जिम्मा दिइएको टोलमा आउने नयाँ मानिस वा विदेशबाट आउने मानिस देख्ने बित्तिकै पहिले परामर्श दिने र यसपछि अवस्था अनुसार क्वारेन्टाईनमा लैजानु पर्ने भए वडा सदस्यले सिफारिस गर्ने व्यवस्था नगरपालिकाले मिलाएको    छ । 

यदि घरमै बस्नुपर्ने अवस्था देखिए यसका लागि छुट्याईएको एक जना डाक्टर र २ जना नर्सको टोलीले रेखदेख गर्दछ । यसरी पहिचान भएका ६९ जना नियमित सम्पर्कमा रहेको मेयर विष्टले जानकारी दिए । उनीहरुलाई दैनिक फलोअप हुन्छ ।