Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रित्तै फर्किए जन्ती, खेर गयो भोज
गेगनेमा रोकियो बालविवाह 

केही दिन अघि मकवानपुरको साविक गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ् (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान आतुर देखिन्थे भने केटीका बाबुआमा पनि छोरीलाई विवाह गरी पठाएर ढुक्क हुने सोचमा थिए । तर न कसैले दुलही पाए न कसैले ज्वाँई । स्थानीय सामाजिक अभियन्ताहरुले बालिकाको अभिभावकले जबरजस्ती गरिदिन लागेको विवाह रोकिदिएपछि विवाहघरबाट न दुलही अन्मिन प¥यो, न त विवाहको भोज नै कसैले खान पाए । स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी बालिकाको विवाह हुँदैछ भन्ने थाहा पाएपछि हत्त न पत्त पुगेका सामाजिक अभियन्ताहरुले विवाहमात्र रोकेनन्, आगामी दिनमा उमेर नपुगी विवाह गरेमा सामाजिक कारवाही गर्ने चेतावनी समेत दिए । 

केटापक्षका केही आफन्त र केही स्थानीयको उपस्थितीमा गाउँमा खासै जानकारी नदिई हुन लागिरहेको विवाह स्थानीय बाल संरक्षण समिति गोगनेको अगुवाईमा रोकिएको हो । केटा र केटी पक्षका बिचमा कुरा छिनोफानो गरेर तीन–चार दिनकै बिचमा विवाहको तयारी गरिएको थियो । विवाहको कुरा छिनिएपछि तनावमा रहेकी बालिकाले कसैलाई आफ्नो विवाह हुदैंछ भन्ने कुरा गरिनन् ।

विद्यालयका एक जना शिक्षकले बालिकालाई तनावको अवस्थामा भेटाएपछि घरबाट जबरजस्ती विवाह गरिदिन लागेको थाहा भएको थियो । उमेरै नपुगी विवाह नगर्नका लागि बालिकाको अभिभावकलाई आग्रह गर्दा पनि आफ्नो छोरीको विवाह गर्न अरुले सिकाई रहनु नपर्ने जवाफ फर्काएका थिए । अन्तत ः शिक्षकमार्फत बाल संरक्षणका क्षेत्रमा क्रियाशील बालसंरक्षण समितिमा कुरा पुग्यो र रातारात बनाइएको योजना असफल भयो । आफ्नो विवाह रोकिएपछि बालिका दङ्ग छिन् भने सामाजिक अभियानमा लागेका अभियन्ता पनि खुसी छन् । ‘विवाह गर्दिन भन्दाभन्दै जसरी पनि विवाह गर्न घरबाट दबाब आयो ।’ बालिकाले भनिन्,‘कलिलै उमेरमा विवाह हुन लागेकाले भविष्य के हुने हो भन्ने चिन्ताले न राम्ररी खान मन लागेको थियो न निदाउँन नै सकेको थिए । ’उमेर नपुगी विवाह नगरिदिन आफ्ना बाबुआमा सहमत बनेकोमा खुसी लागेको उनले बताइन् । ‘अब उमेर पुगेमात्र विवाह गर्ने कुरा बाबुआमाले बुझ्नु भयो, यसैमा म खुसी छु । ’ उनले भनिन् । 

बाल संरक्षण समिति गोगनेका अध्यक्ष रामबहादुर थिङ्ले गाउँमा बालबालिकाको सवालमा रहेर काम गर्ने आफूहरुको अभियान भएकाले बाल विवाह रोक्नु आफ्नो जिम्मेवारी भएको बताए । ‘बाल विवाह लगायत बालबालिकाको संरक्षणका सवालमा हामी काम गर्ने गर्छौं। ’ उनले भने, ‘कहिलेकाँही हाम्रो अभियान सार्थक बन्दा खुसी लाग्दो रहेछ । ’ विवाह रोक्नका लागि अभिभावकलाई राम्ररी आग्रह गर्दा नमानेपछि प्रहरीमा पुग्ने चेतावनी दिएपछिमात्र विवाह स्थगि भएको समितिका सदस्य बुद्घिमाया मोक्तानले बताइन् । ‘जसरी पनि एक जना बालिकाको भविष्य अन्धकार हुनबाट रोक्यौं ।’ उनले भनिन, अब पढाई पूरा गरेर उमेर पुगेपछि मात्रै विवाह हुने भएपछि बालिका पनि तनावमुक्त बनेकी छिन् । ’ 

बालबालिकाको सवालमा काम गर्न सरकार मातहतको गाउँमै रहेका बाल संरक्षण समितिले बाल संरक्षण सम्बन्धि गरेको यो एउटा प्रतिनिधीमूलक कार्य हो । मकवानपुरका गाउँगाउँमा रहेका बाल संरक्षण समिति स्थानीय बाल संरक्षणको सवाल पहिचान गरेर ति सवाल सम्बोधन हुने काममा लागिपरेका छन् । बाल संरक्षण समितिलाई आवश्यक तालिम तथा आर्थिक सहयोग युनिसेफ नेपालको सहयोगमा बाल कल्याण समाज मकवानपुरले पु¥याउँदै आएको छ ।

मकवानपुरको गोगनेका अलावा चुरियामाई, पदमपोखरी, हाडीखोला, नामटार, सरिखेत, फापरबारी, शिखरपुर, राइगाउँ, बेतिनी, धियाल लगायत साविक १५ वटा गाविसमा जोखिममा रहेका बालबालिकालाई घटना व्यवस्थापन कार्यमार्फत संरक्षणका लागि सघाउ पु¥याउने काम भइरहेको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीले जानकारी दिए । ‘स्थानीय बालसंरक्षणको सवाल पहिचान र ति सवाल सम्बोधनका लागि आवश्यक कार्ययोजना गाउँगाउँमा रहेका बाल संरक्षण समितिले बनाउँछन् र ति कार्ययोजना कार्यान्वयनका लागि हामीले आर्थिक सहयोग पु¥याउँने गर्दछौं । ’उनले भने, ‘ युनिसेफको सहयोगमा बालविवाह, बालश्रम, बालहिंसाविरुद्घ गाउँगाउँमा चलेका अभियान प्रभावकारी बनेका छन् ।’ 

मकवानपुरका विभिन्न साविकका १५ वटा गाविसमा रहेका बाल संरक्षण समितिका सदस्यलाई क्षमता अभिवृद्घि गर्न सघाउ पु¥याउँदै बालबालिकाको सवालमा जागरणमूलक कार्य भइरहेका छन् । नेपालमा बालसंरक्षणको क्षेत्रमा क्रियाशील युनिसेफ नेपालको सहयोगमा सञ्चालन भइरहेको घटना व्यवस्थापन कार्यमार्फत जोखममा रहेका बालबालिकाको संरक्षणमा टेवा पुगिरहेको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । उनका अनुसार आपतकालीन अवस्थामा आर्थिक सहयोगदेखि आवश्यक जिविकोपार्जन सहयोगमार्फत बालबालिकालाई जोखिममा पर्नबाट रोक्ने काम गरिएको छ । उनले भने,–‘परियोजना अवधिमा ५० जना भन्दा बढी प्रत्यक्ष र अरु धेरै अप्रत्यक्ष रुपमा लाभान्वित हुने काम हामीले स्थानीय बाल संरक्षण समितिमार्फत गरिरहेका छौं ।’ सरकारको नीति अन्तर्गत बालबालिकाको संरक्षणका लागि विभिन्न अभियान सहित आफूहरु क्रियाशील रहेको उनले बताए ।  

-शिव चौलागाई, मकवानपुर



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०