nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यसरी ऋषेश्वर आइपुगेका थिए लामागुरु रिग्जेन, २६ जेठमा अन्त्येष्टी गरिने

Rigjen-Guru-1654192713.jpg

नेपालकै प्रशिद्ध ऋषेश्वरमा ६ दशकदेखि साधनामा रहेका ऋग्जेन लामाको ९४ वर्षको उमेरमा निधन भएको छ । गत मङ्गलबार १७ जेठ राती १० बजे ध्यान केन्द्रमै रहेको बेला उनको निधन भएको उनकी सुपुत्री छेकी लामाले थाहा टाइम्सलाई जानकारी दिइन् । 

ऋषेश्वर आएर ५७ वर्षदेखि निरन्तर ध्यान र जपमा रहेका रिग्जेनको शबलाई अहिले ध्यानस्थलमै लामा गुरुको शवासनमा राखिएको छ । उनको शवलाई २६ जेठमा विधिपूर्वक अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । उनी ५७ वर्ष अघि ऋषेश्वर आएर खुल्ला ध्यान केन्द्रमा बसेका थिए ।

को हुन् रिग्जेन लामा ?

उनी आजभन्दा ९४ वर्षअघि भुटानमा जन्मिएका थिए । ७४ प्रतिशत बौद्ध धर्मावलम्बी रहेको भुटानमा उनी सम्भ्रान्त परिवारमा जन्मिएका थिए । सानैदेखि गुम्बाको संगतमा रहेका रिग्जेन बौद्ध धर्म शिक्षामा अब्बल रहेका कारण भुटान सरकारले उनलाई उनको इलाकाको धर्माधिकारी अर्थात् इलाका प्रशासन प्रमुखको जिम्मेवारी दिएको थियो । तर उनलाई अझै बौद्ध साधनामा रहने र राजनीतिक रुपमा प्रशासनिक प्रमुखको रुपमा कार्य गर्ने मन नभएकोले सम्पूर्ण जायजेथा छोडी श्रीमतीलाई साथ लिई रातको समयमा इलाका छोडे । त्यसपछि भारत हुँदै नेपाल प्रवेश गरेका लामा करिब ५ वर्षपछि ऋषेश्वर आइपुगेका थिए ।

रिग्जेन कसरी आइपुगे ऋषेश्वर ?

गुरु ऋग्जेन लामा भुटान छाडेपछि भारत हुँदै नेपालको पूर्वी नाकाबाट नेपाल प्रवेश गरेका थिए । त्यतिखेर त्रिभूवन राजपथबाहेक नेपालमा गाडी चल्ने अर्को बाटो थिएन । नेपालमा सबैभन्दा पूरानो बौद्ध गुम्बा काठमाडौँको स्वयम्भू हो भन्ने थाहा पाएका उनी सोध्दैखोज्दै स्वयम्भू आइपुगे । स्वयम्भूमा केही समय उनी त्यहाँका लामा गुरुसँग बसे । त्यतिबेला स्वयम्भूका लामा गुरुले उनलाई साधनाको लागि नेपालमै प्रशिद्ध स्थल छुमी झ्याङछुप रहेको जानकारी दिए । खुल्ला ध्यान केन्द्रको रुपमा नेपालमै एक मात्र स्थल छुमी झ्याङछुप रहेको स्वयम्भूका लामा गुरुले बताए । छुमी झ्याङछुप भनेको स्थानीय क्षेत्रमा चर्चित् ऋषेश्वर क्षेत्र हो । ऋषेश्वरलाई बुद्ध धर्मावलम्बीहरुले छुमी झ्याङछुप भन्दछन् ।

त्यसबेलासम्म ऋषेश्वरमा काठमाडौँका नेवार जातिका लामा रहेका थिए । उनलाई सबैले नेवार लामा भन्दथे । त्यतिबेला तन्त्रका माध्यमले लामा गुरुहरुले बालीनाली जोगाउन भयङ्कर असिना वर्षालाई पनि एकोहो¥याउन सक्छन् भन्ने विश्वास गरिन्थ्यो । ऋषेश्वरमा रहेका नेवार लामाको साथमा हालको थाहा नगरपालिका वडा नम्बर २ मा बस्ने एक जना महिला र शिखरकोट गोपाली गाउँमा बस्ने महिला पनि ध्यानमा जाने गरेको बुढापाकाहरु बताउँछन् । 

स्वयम्भूका लामा गुरुले खुल्ला ध्यान केन्द्रको रुपमा अपार भूमि दामन रहेको बताएपछि रिग्जेन लामा श्रीमतीको साथ सोधखोज गर्दै ऋषेश्वरको जङ्गलमा आइपुगे । यहाँ रहेको पुरानो गुम्बामा उनीहरु बस्न थाले । सोही बीच उनीहरुको दुई सन्तान भए । उनीहरुसँगै थाहा नगरपालिकाका प्रथम मेयर लवेशर विष्टका हजुरबा ९ महिना बसेका थिए । त्यस्तै शिखरकोटका केही व्यक्तिहरु पनि उनीहरुकै संगत गरी बसेका थिए । हालका ओसो तपस्वी गुणचन्द्र विष्ट पनि ऋषेश्वरमा लामो समय ध्यान गरी बसेका थिए । 

बैद्ध धर्ममा यस्तो छ ऋषेश्वरको महत्व

ईसाको आठौं शताब्दीमा तिब्बतमा स्रङचङ गम्पो (राजा ठ्रिसोङ देहु चेन)को शासन थियो । उनी तिब्बतको तेत्तिसौं राजा थिए । त्यस समय तिब्बतमा बोन्पो धर्म प्रचलित थियो । स्रङचङ गम्पोले आफूलाई बौद्धमार्गीका रूपमा चिनाउन नेपाली चेली भृकुटीसँग विवाह गरेका थिए । भृकुटीले बौद्ध धर्मको प्रचार तिब्बतमा गरेकी थिइन् । भृकुटीबाट प्रभावित स्रङचङ गम्पोले बौद्ध धर्मको रक्षा र प्रचार प्रसार गर्न पद्मसम्भवलाई ७४७ मा तिब्बतमा बोलाए ।  त्यस समय तिब्बतमा सैतानहरूले दुःख दिएका थिए। तिनीहरूले त्यहाँ गुम्बा निर्माणमा बाधा उत्पन्न गराएका थिए । उनीहरूको सैतानी कार्यले बौद्ध मठ भत्कने गर्दथ्यो । उनीहरुले दिनभर गुम्बा निर्माण गर्दथे तर भोलिपल्ट विहान उठेर हेर्दा सबै भत्किएको हुन्थ्यो  । 

तिव्वती राजाबाट निम्तो आएपछि त्यहाँका सैतानहरुलाई तह लगाउन पद्मसम्भवलाई अझ शक्ति सञ्चय गर्नुपर्ने भयो । यसको लागि तिव्वत प्रस्थान गर्नुअघि उनले नेपालका पहाडका गुफाहरुमा बसेर साधना गरे । नेपालमा उनले करिब ८ वर्ष साधना गरे । यस क्रममा उनी व्योमकुट पर्वत हालको दामन–सीमभञ्ज्याङको जङ्गलमा आइपुगेका थिए । यहाँको रसुवा र तिव्वततिर फर्किएको एक ओडार(गुफा)मा बसेर यिनले साधना गरे ।  पछि यिनी रसुवाकै नाका भएर तिव्वत गएका थिए । 

यात्रा गर्ने क्रममा जहाँजहाँ यिनले योग साधनाले तपस्या गरे त्यहाँ त्यहाँका गुफाहरूमा विभिन्न निधिहरू सञ्चित गरेको किंवदन्ती छ ।  दामनको गुफामा साधना गर्दा पद्मसम्भवले गुफाको ढुङ्गामा तान्त्रिक विधिबाट आफ्नो अनुहार उतारेका थिए । उक्त अनुहार अहिले पनि छँदैछ । प्राणीहरुको तिर्खा मेटाउन यिनले आफूले साधना गरेको गुफानजिकै ढुङ्गामा बज्र(फुर्वा) प्रहार गरेर पानी निकाले । ढुंगाको कन्दराबाट निकालिएको मूल अहिले पनि छ ।  त्यहाँ कुवा बनाइएको छ । 
पद्मसम्भव जुनजुन ठाउँमा बसे त्यसत्यस ठाउँमा तन्त्रविद्याबाट उनले केही न केही छाडेका छन्  । त्यसैले बौद्ध धर्मावलम्बी अझ वज्रयान सम्प्रदाय पद्मसम्भवले तपस्या गरेको गुफालाई पवित्रस्थल मानी धार्मिक भ्रमण गर्न रुचाउँछन् । दामनको महत्व पनि यसैमा छ । 

तिब्बत पुगेर पद्मसम्भवले आफ्ना तन्त्रमन्त्रको साधनाबाट ती सैतानलाई नियन्त्रणमा लिए। त्यहाँ उनले बौद्ध मठ निर्माण कार्य नसकेसम्म अर्थात् ७४९ सम्म रहेर रेखदेख गरे। यसरी उनले बौद्ध धर्ममा तन्त्रमन्त्रको प्रयोग गरे। त्यही क्रममा यिनले नेपालमा आफूले साधना गरेका स्थानहरुको बारेमा तिब्बतमा चर्चा गरे । यसरी चर्चा गर्ने क्रममा यिनले दामनमा तपस्या गरेको गुफालाई सम्भोट लिपिमा छुमी झयाङ्छुप भनी लिपिवद्ध गराए । अहिले तिब्बती तथा बौद्धमार्गीहरु ऋषेश्वरलाई छुमी झ्याङ्छुपकै रुपमा सम्झेर आउँछन् । ऋषेश्वर आउने बौद्धमार्गीहरुले ढुंगाको कापबाट निस्केको पानी लिएर जानुको कारण पनि पद्मसम्भव कनेक्शन नै हो ।

ऋषेश्वर क्षेत्रलाई खुल्ला ध्यान केन्द्रको रुपमा विश्वमै प्रशिद्ध मानिन्छ । गुरु पद्म संभवले तिव्वतमा गरेको चर्चाले यसको महत्व बढाएको हो । तिव्वती छ्योइ(पुस्तक) मा यसबारे सविस्तार चर्चा गरिएकोे छ । ऋषेश्वरमा तिव्वतीहरु बढी भन्दा बढी आउनुको कारण पनि यही हो । उत्तरतर्फ फर्किएको ऋषेश्वरमा हिमालोन्मुख आशनमा बसेर खुल्ला ध्यान र साधना गर्दा खास मोक्ष प्राप्त गर्ने लामाहरुको तर्क छ । त्यही भएर ऋषेश्वर क्षेत्रमा रिग्जेन लामासँगै विभिन्न स्थानका लामाहरु करोडौँ जपको लक्ष्य लिएर ध्यान गरी बसेका छन् ।