Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

यमपञ्चककाे चाैथाे दिन गाेवर्धन पुजा अाज

आज गोबरधन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषिप्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबरधन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ ।

गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।

आजको दिनको अर्को महत्वपूर्ण सांस्कृतिक रौनक हो, देउँसी ! अनि तपाईको के छ त योजना ? जाने हैन त देउसी खेल्न ?

बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिकदस्ता जसलाई देउँसे भनिन्छ । यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउँसी हो । आउनुहोस, हाम्रो पात्रो परिवारको यो तिहारको देउँसी अडियो कोसेली स्वीकार गर्नुहोस् ।

नेपाल सम्वत् ११३७ र म्हपुजा

आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ । नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ । नेवारी समूदायमा भने यस संवतको ब्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।