Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका महिलामा मनोसामाजिक समस्या मौलाउँदै

मानिसहरु किन घुम्छन् ? मनोरञ्जनात्मक कार्यमा किन व्यस्थ हुन्छन् ? प्रकृतिसंग किन रमाउँछन् ? जोसुकैले पनि सहजै उत्तर दिन सक्छन् आफूलाई मानसिक तथा शाररीक तनाबबाट मुक्त हुन । हो, यहि मानसिक तनावबाट मुक्त हुन थाहा नगरपालिका क्षेत्रमा देशभरका धेरै मानिसहरुले आफ्नो गन्तव्य बनाउँछन् । यहाँको प्राकृतिक सुन्दरता, शितलता र मनोरम दृश्यमा केही पल व्यतित गर्दा पनि मन मष्तिस्क नै ताजा र तनाव रहित बनाउन आइपुग्छन् । तर, गम्भीर विषय त यो छकि अरुलाई तनावमुक्त बनाउने यहि थाहानगरका मानिसहरुमा मनोरोगीको संख्या बढ्दै गएको छ । यहाँको प्राकृतिक सुन्दरताले यहाँकै मानिसको तनाव किन हटाउन सकेन त ? यो सबैसामु बलियो भएर खडा भएको प्रश्न हो ।

मकवानपुरको थाहा नगरपालिकामा क्षेत्रमा मात्र आर्थिक वर्ष २०७५/०७६ मा १ सय ४० जना मानिसहरु मनोसामाजिक समस्यामा परेको लाली गुराँस मनोसामाजिक मनोविमर्श सेवा केन्द्र थाहा १ ओखरबजारको तथ्याङ्कले देखाउँछ । जस मध्ये उक्त सेवा केन्द्रले ३३ जनालाई प्राथमिक मनोबैज्ञानिक सहयोग र १ सय ७ जनालाई व्यक्तिगत मनोविमर्श सहयोग प्रदान गरेको छ । मनोसामाजिक समस्या हुनेहरुमा महिलाहरुको संख्या धेरै भएको केन्द्रका मनोपरामर्शकर्ता तुलसा विष्टले बताइन् । महिलाहरुमा पनि १६ देखि १८ वर्षको किशोरीहरुमा पनि धेरै मात्रामा मनोसामाजिक समस्यामा रहेको उनले बताइन् । प्रविधिसंगै घरपरिवारका सदस्यहरुबिच सम्बन्ध फितलो बनाए पछि घरपरिवारको स–साना कुरा र समस्याले गर्दा परिवारको जिम्मेवारी बोकेका महिलामा धेरै नै असर पुग्ने गरेको हुनाले पनि मनोसामाजिक समस्या हुनेमा महिलाको संख्या अधिक भएको उनको ठम्याइ छ । नगरमा मनोसामाजिक समस्याले विकराल रुप लिन थालेपछि लालिगुँरास मनोसामाजिक मनोविमर्श सेवा केन्द्र मार्फत सर्वसाधारणहरुमा समेत मनोविमर्श सेवा प्रदान गर्ने कार्य गरिएको छ । जसमा सेवा केन्द्रले गत आर्थिक वर्षमा मात्र ३ सय ६४ जनालाई पारिवारिक मनोविमर्श सेवा प्रदान गरेको छ । परिवारका व्यक्ति तथा सदस्यहरुलाई पनि मनोसामाजिक समस्या हुन सक्ने भएकाले समस्या समाधानका लागि परिवारिक रुपमै मनोविमर्श प्रदान गरिएको विष्टले बताइन् । 
    यस्तै केन्द्र मार्फत ५ सय ८० जनालाई विभिन्न बैठक तथा छलफलको अवसर पारी सामुहिक मनोविमर्श सेवा प्रदान गरेको छ । विद्यालयका बालबालिकाहरुमा चेतना प्रदान गर्न केन्द्रले विद्यालयमै पुगेर मनोविमर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । जसमा १ हजार १ सय ६९ जनाले सहभागिता जनाएका थिए । मनोसामाजिक समस्या भएर केन्द्रको सम्पर्क सम्म पुगेकाको संख्या मात्र १ सय ४० जनाको तथ्याङ्क बाहिरिँदा केन्द्रसम्म नपुगेका र समस्या झेल्दै बसेकाको संख्या कति होला भन्ने अनुमान गर्न मुस्किल पर्ने उनको भनाइ छ ।  ति १ सय ४० जनामा पनि केन्द्रमा आएर समस्या समाधान गर्ने क्रममा अझै पनि फलोअपमा रहेकाको संख्या भने २९ जना रहेको मनोविमर्शकर्ता विष्टले बताइन् । 
    यो समस्याबाट टाढा रहनको लागि “परिवारमा दैनिक १५ मिनेट” को अभियान चलाइएको उनले बताइन् । जसको अर्थ परिवारका प्रत्येक सदस्यले आफ्नो परिवारका सदस्यहरुसँग छलफल र आत्मियताको लागि दैनिक १५ मिनेट दिएर आफ्ना समस्याहरु एकअर्कामा सुनाए पनि परिवार नै मिल्ने साथी बन्न सक्छ । जसले गर्दा हरेक समस्या परिवारमा नै समाधान हुन सक्छ । 
    यसरी आफ्ना समस्या परिवारमा साटा–साट गर्नाले कुनै पनि समस्यालाई सोचिरहने, चिन्ता गरिरहने जस्ता कुराबाट टाढा हुने गर्छ जसले मनोरोगी बन्नबाट बचाउन सक्ने उनले बताए । मनोसामाजिक समस्या भएका व्यक्तिहरु प्राय एक्लो महसुस गर्ने हुनाले परिवार नै साथी बन्न सके उपयोगी हुने उनको भनाइ छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।