Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगरका क-कस्ले पाउँछन् राहत ?

Rahat-fanda-copy-1586228863.jpg

मकवानपुर थाहा नगरपालिकाले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनबाट प्रभावित भई दैनिक गुजारा चलाउन नसक्नेलाई राहत दिने भने पछि कसले पाउने राहत भन्ने अर्को बहस शुरु भएको छ । यसका लागि नगरपालिकाले कार्यविधि नै बनाएको छ । 

थाहा नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाई प्रमाणिकरण गरिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । लकडाउनको अवस्थामा दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका अति विपन्न र अशक्त  परिवारहरुका लागि राहत वितरण गर्न नगरपालिकाले कार्यविधि बनाएको हो । 

कोरोना भाइरसको नियन्त्रणका लागि भएको लकडाउनका क्रममा थाहा नगरपालिका क्षेत्रभित्र दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका अति विपन्न र अशक्त परिवारहरुका लागि व्यवस्थित तरिकाले राहत वितरण गर्ने कार्यविधिको उद्देश्य रहेको छ । 


समितिमा को को छन् ?

थाहा नगरपालिकाको राहत सामग्री वितरण सम्बन्धी कार्यविधि, २०७६ अनुसार रहात वितरण राहत व्यवस्थापन तथा वितरण नगर समन्वय समितिको अध्यक्ष नगर प्रमुख हुने व्यवस्था रेहेको छ । 

समितिको सदस्यहरुमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सदस्य हुने छन् भने विपद व्यवस्थापन सम्पर्क व्यक्ति सदस्य सचिव रहने व्यवसथा रहेको छ । 

समितिलाई प्रभावित अति विपन्न र अशक्त परिवारहरुका लगत वडा मार्फत संकलन गर्न लगाउन सक्ने अधिकार छ । त्यस्तै आवश्यकता अनुसार राहतको मात्रा (प्याकेज) तय गर्ने, खरिद गर्ने, राहत सामग्री वितरण एवं व्यवस्थापनको जिम्मेवारी तोक्ने, राहत सामग्री वितरण एवं व्यवस्थापनको अनुगमन गर्ने वा गराउने, राहत सामग्री वितरणका लागि आवश्यक जनशक्तिको व्यवस्थापन  गर्ने, राहत वितरण सम्बन्धी गुनासो तथा उजुरी सुन्ने तथा गुनासो तथा उजुरीव्यवस्थापन गर्नेलगायतको अधिकार रहेको छ । 

वडालाई जिम्मेवार बनायो

कार्यविधि अनुसार वडा स्तरमा राहत संकलन तथा वितरणका लागि सम्बन्धित वडाको वडा अध्यक्षले संयोजन गर्ने अधिकार रहेको छ ।

वडा अध्यक्षको संयोजनमा आफ्नो वडाभित्र रहेका दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका र लक डाउनको कारण दैनिक ज्यालादारी काम गर्न नपाएकोले दैनिक जीवनयापन गर्न कठिनाई भएका घर परिवारको विवरण सम्बन्धित व्यक्तिले वा टोल विकास संस्था, बजार व्यवस्थापन समिति, स्थानिय युवा समुह÷क्लवहरु निवेदन लिई संकलन गर्ने र नगरपालिकाको कारोना रोकथाम तथा नियन्त्रण सचिवालयको निर्णयानुसार तोकिएको वडाको क्लस्टरका संयोजक वडा प्रतिनिधी मार्फत प्राप्त निवेदन उपर सिफारीस गर्नु पर्दछ । 

कस्ता व्यक्ति सिफारिसमा पर्छन् ?

वडा कार्यालयहरुले दैनिक ज्यालामा औधोगिक, कृषि वा कुनै व्यापारिक प्रतिष्ठानमा कार्यरत नगरको स्थायी वा अस्थायी वासिन्दालाई सिफारिस गर्नुपर्ने छ ।

कार्यविधि अनुसार भुमिहिन वा आम्दानीको स्रोत ज्याला बाहेक अन्य नभएको, घरवार विहिन, दैनिक आय गर्ने व्यक्तिको बन्दाबन्दी वा रोग संक्रमणका कारणले गर्दा उपस्थिती नहुँदा निजमा आश्रीत परिवार, अन्यत्रबाट आएका अलपत्र मजदुर, तत्कालै प्राकृतीक प्रकोपमा परि पुनःस्थापना भई नसकेको परिवारलाई सिफारिस गर्नुपर्नेछ । 

कस्लाई कति राहत ?

पालिकाले आफ्नो नगर क्षेत्रमा बसेका र कार्यविधि बमोजिम राहत दिनैपर्ने व्यक्ति तथा परिवारलाई राहतको प्याकेज घोषणा भएको छ ।

राहत प्याकेज अनुसार ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ लिटर तेल, २ किलो दाल र १ पोका नून र ४ जनाभन्दा बढि परिवार सदस्य भएकाहरुलाई २० किलो चामल, २ लिटर तेल, २ किलो दाल र १ पोका नूनसहितको राहत प्याकेज पाउने छन् । 

राहत दिनूपर्ने व्यक्तिहरुको सिफारिस वडा कार्यालयबाट गर्नुपर्ने र वितरणको व्यवस्था पनि वडा कार्यालयहरुबाटै गरिने कार्यविधिमा उल्लेख छ । राहत संकलन तथा वितरणको सम्पूर्ण अभिलेख थाहा नगरपालिकामा रहने व्यवस्था कार्यविधिमा उल्लेख छ ।  
 

कारवाही सम्बन्धी व्यवस्था पनि छ !

कार्यविधीमा तोकीएको मापदण्ड पुरा नभएका व्यक्तीले झुट्टा विवरण पेश गरि राहत लिनु वा दोहोरो लिन नपाइने व्यवस्था छ । 

कार्यविधीको प्रतिकुल हुने गरी राहत वितरणको लागि सिफारीस गर्ने पदाधिकारीलाई समेत प्रचलित कानुन बमोजिम कारवाही गरी त्यस्तो सिफारीस गर्ने पदाधिकारीलाई सिफारीस गरेको हदको रकमको दोब्बर रकम निजवाट नगरपालिकाले असुलउपर गर्ने कार्यविधिमा व्यवस्था छ । 

पढ्नुहोस् प्रमाणित कार्यविधि:


 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।