nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर खबर: अन्न सकिएपछि कन्दमूलको भर

IMG_20210606_175040-1622981166.jpg

घाम–पानी नछेक्ने छाप्रो, बाहिरैबाट छ्याङ्ग देखिने छाप्रोभित्र अगेनोबाट धूवाँ पुत्याइरहेको छ । कसौंडीमा टाँकीको साग उसिन्दै छन् शीतल चेपाङ (६५) । पाँच जनाको यो परिवार त्यही टाँकीको साग खाएर बिहानको छाक टार्ने सुरुमा छन् । ‘गिट्ठा र टाँकीले पेट भरेको ७/८ दिन भइसक्यो,’ मकवानपुरको राक्सिराङ गाउँपालिका–७ भैयाङका शीतलले भने, ‘खानेकुरा अरू केही छैन, मेरो घरमा मात्र होइन, गाउँभरि यस्तै छ ।’

निषेधाज्ञाअघि शीतल लोथर र भण्डारा बजार झरेर मजदुरी गर्थे । त्यही कमाइले पिठो र चामल किनेर घर लैजान्थे । अहिले बजार ठप्प हुँदा उनी गाउँमै खुम्चिएका छन् । मजदुरी गरेर आयआर्जन गर्ने बाटो बन्द भएपछि दिनहुँ परिवार पाल्न समस्या भएको हो ।

नजिकैको ओडारमा जन्मिएका शीतल ३९ वर्षअघि छाप्रोमा सरेका हुन् । २०३८ मा प्रजा विकास कार्यक्रमले छाप्रो बनाइदिएपछि उनले ओडारको जीवनबाट मुक्ति पाएका हुन् । छाप्रोमा शीतलको साथमा ४० वर्षीया सेतीमाया र छोराछोरी छन् । शीतलको चार/पाँच रोपनीजति पाखो बारी छ । त्यहाँ उब्जने मकै र कोदोले परिवारलाई मुस्किलले चार महिना मात्र खान पुग्छ । बाँकी ८ महिना ज्याला मजदुरी र गिट्ठा भ्याकुरकै भरमा घर धान्दै आएका छन् । अहिले ज्याला मजदुरी गर्न नपाएकाले समस्या भएको उनले सुनाए । ‘कोरोना भन्ने रोगले हामी डाँडाकाँडामा बस्नेलाई पनि दुःख दियो,’ उनले भने, ‘सहरमा रोग बढ्दा हामीले काम गर्न पनि पाएनौं ।’

भैयाङमा चेपाङ समुदायको मात्र बसोबास छ । स्थानीय शुक्रबहादुर चेपाङ (३९) को पनि हालत उस्तै छ । उनको घरमा पनि अन्नको दाना छैन । जंगली कन्दमूलकै भरमा विगत ६ दिनदेखि प्राण धानिरहेको बताए । शुक्रबहादुर र उनका दुई छोरा यसअघि भरतपुरस्थित ग्यारेजमा काम गर्थे । कोरोना संक्रमण बढेपछि ग्यारेज बन्द भएकाले २७ दिनदेखि उनीहरू घरमा थन्किएका छन् । ‘घर आउने बेलामा पनि साहुसँग भेट भएन, रित्तै हात फर्किनुपर्‍यो । अहिले खाद्यान्न नभएकाले सात जनाको परिवार पाल्नै धौ–धौ परेको छ,’ उनले भने । आफ्नै बारीको उत्पादनले यो परिवारलाई वर्षमा ३ महिना मात्र खान पुग्छ । ९ महिना ज्याला मजदुरी र जंगली कन्दमूलकै भर हो ।

राक्सिराङ–७ धिराङ जिल्लाकै विकट गाउँमध्येमा पर्छ । यहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन । लोथर बजारबाट त्यहाँ पुग्न १२ घण्टा हिँड्नुपर्छ । यहाँको अवस्था पनि भैयाङको भन्दा भिन्न छैन । स्थानीय रामकुमार चेपाङले दैनिक गुजारा गर्न टाँकी र भ्याकुरको विकल्प नभएको बताए । यो वडाको चरिमारा, धिराङ, दामराङ, भैयाङलगायत बस्तीमा खाद्यान्न संकट रहेको वडाध्यक्ष गोपाल चेपाङले सुनाए । ‘पहिला–पहिला पनि खाद्यान्नको समस्या हुन्थ्यो तर अहिले त हाहाकार नै भयो, टोलटोलमा भोकमरी छ,’ उनले भने ।

खाद्यान्न सकिएपछि खैराङका अधिकांश चेपाङ परिवारको दैनिकी अहिले कन्दमूल खोज्न जंगल जानु बनेको छ । राक्सिराङवासीलाई राहत वितरण गर्न दाता खोजिरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । ‘कोरोनाको कारणले मजदुरी गर्न गएकाहरू पनि घर फर्केका छन्, जसले गर्दा झन् खाद्यान्नको समस्या भएको हो,’ उनले भने, ‘स्थानीयलाई राहत वितरण गर्न सक्ने हाम्रो अवस्था छैन । कसैबाट सहयोग पाइन्छ कि भनेर दाताको खोजीमा छौं ।’ कान्तिपुरमा प्रताप बिष्टले समाचार लेखेका छन् ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)