Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा साउन यता ३० जनामा डेंगु संक्रमण

मकवानपुरमा यही साउन १ गतेयता हिजोसम्ममा हेटौंडामा ३० जनामा डेंगुको संक्रमण भएको फेला परेको छ । 
जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरका प्रमुख शशिकान्त सिंहका अनुसार, हेटौँडा अस्पतालबाट रगत परिक्षणका लागि सिफारिस भएका मध्ये १२ जना, मकवानपुर सहकारी अस्पतालमा १४ जना र हेटौंडा रेफरेन्स ल्याबमा ४ जना गरी ३० जनामा डेंगुको लक्षण देखापरेको हो । 
डेंगुको संक्रमण बढेपछि डेंगुविरुद्ध सचेतना अभिवृद्धिका लागि माइकिङसँगै डेंगु देखिएका क्षेत्रमा लामखुट्टे मार्न सर्च एण्ड डिस्ट्रोय अभियान संचालन गरी औषधि छर्ने काम अघि बढाइएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । डेंगुको निःशुल्क परीक्षणका लागि परीक्षण कीट समेत ल्याइसकिएको र स्वास्थ्यसँग सम्बन्धित निकायहरुको समन्वयमा नियन्त्रणका लागि काम सुरु गरिएको उहाँले बताउनुभयो । 
डेंगु रोगको कुनै विशिष्ट उपचार र खोपको विकास भने अहिलेसम्म नभएकाले रोगको संक्रमण देखापरेपछि चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्ने र आराम गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरका ल्याब टेक्निसियन अधिकृत भुपनारायण यादवले स्पष्ट गर्नुभयो ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु नै एकमात्र विकल्प रहेको उहाँले बताउनुभयो । 
लामखुट्टेको टोकाईका कारण सर्ने सरुवा रोगका रुपमा रहेको डेंगु लागेपछि जाडो लाग्ने, उच्च ज्वरो आउने, जीऊ तथा जोर्नी र हाड बेस्सरी दुख्ने, आँखा चलाउँदा र घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने जस्ता समस्या देखिने चिकित्सकले बताएका छन् । यस्तै रोग लागेको केही समयपछि छाल मुनी रगत जमेका धब्बाहरु देखापर्ने र रोगको जटिलता हुँदै गएपछि नाक, गिजा र शरीरका अन्य अंगहरुबाट रगत बग्ने लक्षण देखिने चिकित्सकको भनाई छ । 

स्रोतः रेडियो नेपाल