Thursday, 21st January, 2021
वि.स.

मकवानपुरगढीको जीर्णोद्धारमा मनलाग्दी

makwanpur-gadhi-2-1610464997.jpg

ऐतिहासिक मकवानपुरगढी दरबारको जीर्णोद्धार गत शुक्रबार सुरु भएसँगै ढंग नुपुगेको भन्दै विरोध पनि थालिएको छ । गढीको सग्लो भागहरु पनि भत्काइएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

जीर्णोद्धारको लागि पुरातत्व विभागले ठेकेदार परिचालन गरेको छ । निर्माण स्थलमा विभाग र ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नभई उपलब्ध कामदार परिचालन गरेर गढी दरबारका विभिन्न भाग भत्काउन लागिएको स्थानीय सम्पदा प्रेमीहरुको भनाई छ ।

मकवानपुरगढी संरक्षणमा चासो राख्दै आएका छवी अनित्य भग्नावशेष भनेर दरबारको बलियो भाग पनि भत्काउने काम हुन नहुने बताउँछन् । एतिहासिक स्थलमा काम गर्दा महत्वपूर्ण पुरातात्विक महत्वको वस्तु भेटिन सक्ने भएकाले पनि विभाग र ठेकेदारका प्रतिनिधि सहभागी उपस्थित हुनपर्नेमा अदक्ष कामदार परिचालन गरेर जथाभावी गर्न थालिएको उनले बताए ।

‘गर्न खोजिएको हो भने कतै जानकारी पनि दिईएको छैन, पर्यटकको चहलपहल हुने क्षेत्रमा निर्माणको काम थाल्दा कुनै सुरक्षा सावधानी पनि अपनाइएको छैन’, उनी भन्छन्, ‘गाउँमै उपलब्ध अदक्ष कामदार खटाएर अन्दधुन्द भत्काएर गरिने पुनर्निमाणले कस्तो नतिजा देला ?’

पृथ्वीनारायण शाहको ससुराली दरबारको मुख्य क्षेत्रमा नै गलत तरिकाले जीर्णोद्वार सुरु भएको भन्दै स्थानीयले पुरातात्विक स्थलमा जथाभवी नगर्न माग गरेका छन् ।

गाउँपालिका मौन

यो काम सकिएपछि गढी दरबार ‘आकर्षक’ बन्नेमा विश्वस्त मकवानपुरगढी गाउँपालिका मौन छ । गढी दरबार रहेको वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाखि्रन पुरातत्व विभागले मुख्य दरबार र द्वार क्षेत्रको जीर्णोद्धार गर्न आरआर एन्ड आरबीएस जेभीलाई ७७ लाख ३९ हजार रुपैयाँको ठेक्का दिएको बताउँछन् ।

विभागले नै ठेक्का लगाएकाले आफूहरुलाई योभन्दा बढी जानकारी नभएको उनले बताए । ‘अहिले भत्काउँदा गलत तवरले काम भएजस्तो देखिएपनि बनेपछि आकर्षक हुन्छ,’ उनले भने ।

स्थानीय सम्पदाप्रेमीहरु भने जिर्णोद्वारको काममा ‘आकर्षक’ भन्दा बढी मौलिकताको संरक्षण हुनपर्ने बताउँछन् । उनीहरुका अनुसार अघिल्लो वर्ष पनि गढी संरक्षण गर्ने नाममा क्रंक्रिटका संरचनाहरु खडा गरिएका थिए । ढुंगा बिछ्याउनुपर्ने गढी क्षेत्रभित्र टायलहरु बिछ्याएको छ ।

सिँढी, हात्तीको मुर्ति लगायत संरचना पनि कंक्रिटबाटै खडा गरिएका छन् । पुरातात्विक क्षेत्रमा सिमेन्ट प्रयोगलाई स्वभाविक मानिँदैन ।

मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार न्यौपाने गढी क्षेत्रलाई पुरानो संरचनामा फर्काउन पुरात्व विभाग नै लागेको बताउँछन् । ‘हामीसँग पर्याप्त बजेट छैन, त्यसैले पुरतत्व विभागसँग सहयोग मागेका छौं,’ उनले भने, ‘गढी क्षेत्रलाई पुरानै शैलीमा विकास गर्न बिभाग लागेको छ ।’

मकवानपुरगढीको ऐतिहासिकता

कुनै समयको स्वतन्त्र राज्य मकवानपुरको राजधानी रहेको मकवानपुर गढी सेन वंशीय राजाहरुको राज्य सञ्चालनको केन्द्र थियो । करिब १३२ रोपनी क्षेत्रमा फैलिएको यो नेपालको सबभन्दा ठूलो गढीदरबार क्षेत्र हो । यहाँ दरबार, ढुंगेगढी, सानोगढी लगायतका विभिन्न संरचनाका भग्नावशेष छन् । गढीभित्र ई.सं १७०८मा बनेको बंशगोपाल मन्दिर छ । यो मन्दिरभित्रको रहेको कृष्णको प्रतिमालाई फलामको साङ्लोले बाँधिएको छ । यो सम्बन्धमा एउटा रोचक किंवदन्ती रहेछ ।

कुनै समयमा भक्तजनहरुले यो मन्दिरमा प्रतीकको पाउभरि तोरिका फूलहरु टाँसिएको देखे र पुजारीलाई यसको जानकारी गराए । पुजारीले रातभर जाग्राम बसेर भगवानको चियो गरे ।

थाहा भयो कि कृष्ण भगवान राति-राति मन्दिरबाट निस्केर बाहिर जाने र बिहान भएपछि फर्किने गर्दा रहेछन् । भगवानले यसरी मन्दिर छाड्दा राज्यमा कुनै अनिष्ट आइ पर्न सक्ने देखेपछि मूर्तिलाई साङ्लोले बाँधेर राखिएको विश्वास यहाँका स्थानीयमा छ । मन्दिरका पुजारीको भनाइमा त्यतिबेला कृष्ण भगवान राति नै छतिवनको तोरी फुलेको फाँटसम्म पुगेर फर्किन्थे भन्ने किम्बदन्ति छ । तर, मकवानपुरगढी संरक्षणका अभियन्ता केदारप्रसाद न्यौपाने ५ फिट अग्लो मुर्ति भूकम्पमा ढलेपछि राजाले सlmत्री लगाएर बाँध्न लगाएको बताउँछन् ।

अभियन्ता केदारप्रसाद न्यौपानेका अनुसार हालको विसं १२०० तिर नै राजविराज क्षेत्र राज्य चलाइरहेका राजाले अस्थायी मुकामको रुपमा मकवानपुर राज्यको स्थापना गरेको बताउँछन् । मुकामपुर भन्दा भन्दै अपभ्रंश भएर मकवानपुर हुन पुगेको उनको दावी छ ।

समुन्द्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीका धेरै पुरातात्विक सामग्रीहरु हराइसकेका छन् ।

वि.सं. १८१९ मा नेपाल एकीकरणको क्रममा मकवानपुरगढी शाह वंशीय राजाको कब्जामा पर्‍यो । मुकुन्द सेनले स्थापना गरेको विश्वास गरिने यो राज्यमा लुहाङ सेन, राघव नरेन्ऽ सेन, हरिहर इन्द्र सेन, शुभ सेन र माणिक सेन, हेमकर्ण सेन, दिगबन्धन सेनले राजकाज चलाएका थिए । ७ जना सेन राजाले करिब ३०० वर्ष यो राज्यमा शासन गरेका थिए ।

हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले मकवानपुरसंग बैवाहिक सम्बन्ध जोडे । हेमकर्णले वि. सं. १७९५ मा आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिए । पृथ्वीनारायणले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना बनाएका थिए । मकवानपुरलाई युद्धमा हराउन गाह्रो हुने देखेपछि पृथ्वीनारायण शाहले चतुर्‍याइँपूर्वक ज्वाइँको सम्बन्ध गाँसेको कतिपय इतिहासकारको मत छ ।

दिग्वन्धन सेन मकवानपुरका अन्तिम सेन राजा हुन् । पृथ्वीनारायण शाहले महोदम कीर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रुद्र शाह, नन्दु शाह, काजी बंसराज पाँडे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत र काजी अभिमानसिंह बस्नेतसहित ११०० सैनिक मकवानपुरमा हमला गर्न पठाएका थिए ।

मकवानपुरगढीको शिलालेख अनुसार विसं १८१९ भदौ ९ गते भएको सो युद्धमा एकसय गोर्खाली र चारसयदेखि पाँचसय मकवानपुरे सैनिक मारिएका थिए । त्यसपछि दिग्वन्धन सेन पर्साको हरिहरपुरगढीतिर भागे ।

काठमाडौं दक्षिणको मकवानपुर राज्य जितेपछि गोर्खाली सेना अझ सशक्त भयो । त्यहाँ प्राप्त हतियार, युद्ध सामग्री र धनले गोर्खालीहरुको मनोबल उच्च बनायो । दिग्वन्धन सेनलाई सहयोग गर्न १८१९ माघ १० गते आएको तीन हजार अंग्रेजसहितको मुगल फौजलाई पृथ्वीनारायणको सेनाले मकवानपुर मकवानपुरगढी दरबार पुग्नै नदिई पराजित गरेको इतिहास छ ।

राजा महेन्द्रले २०१६ सालमा मकवानपुर गढी समेटिने गरी कान्तिपथ शिलान्यास गरे । तर, सडकमा जोडिए पनि प्रचार-प्रसारको अभावमा  मकवानपुर गढी ओझेलमा रहृयो । हेटौंडाको मुख्य चोकबाट १७ किलोमिटर सहज यात्रा गरेर पुगिने मकवानपुरगढीमा अझै पनि कमै पर्यटक पुग्छन् ।

यहाँको पुरानो कलाकौशल, दरबार, सुरक्षा पर्खाल, जेल, किल्ला सबै ऐतिहासिक-पुरातात्विक महत्वका छन् । अग्लो डाँडामा रहेको गढीबाट अनेक प्राकृतिक छटा अवलोकन गर्न पाईन्छ ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण यो स्थानमा पछिल्लो समय आन्तरिक पर्यटक क्रमशः बढिरहेका छन् । यही बेला संरक्षणका नाममा ठेकेदारले जथाभावी काम थालेपछि स्थानीयवासी गढीको ऐतिहासिकता मेटिने चिन्तामा छन् ।

तस्वीरः छवी अनित्य/ मिलन श्रेष्ठ/अनलाइनखबरबाट