Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको त्यस्तो ठाउँ जहाँ घाटु ननाचे कन्याको ज्यान जान्छ

- पुष्पराज अधिकारी
मध्यान्नको चर्को गर्मी, वरिपरी छाता ओढ्नेहरुको भीडकाबीच सात जना किशोरीहरु बिहानैदेखि नाचिरहेका थिए । जात्रा भर्न आएका प्रायः सबैका ध्यान ती किशोरीहरुको नाचले तानिरहेको थियो । आँखा नखोली एउटै शैलीमा १८ घण्टासम्म लगातार नाचिने घाटु नाच तामाङ समुदायले सम्भवत मकवानपुरको कैलाश–२ बैकुण्ठमा मात्र वर्षेनी वैशाख पूर्णिमाको भोलिपल्ट नाच्ने गर्छन् ।

बिधिपूर्वक बिहान दश बजेटबाट नाच्न सुरु गरेकी कौशिला थिङको अनुहारमा राती १२ बजेपनि थकाईको महशुस देखिँदैनथ्यो । पहिलो पटक घाटु नचेकी १३ वर्षीय कौशिका जस्तै अन्य छ जना किशोरीहरु पनि गुरु आमाहरुले गाएको गीतको लगतमा आफूलाई नचाइरहे ।

घाटुसरी(किशोरीहरु) श्रृङ्गारपटार गरेर जात्रा चौरमा आएपछि गुरु आमाहरुले बिभिन्न देवी देवताहरुको नाम लिँदै पश्चिमी भाकामा घाटु गाउन थाले । केही समयपछि किशोरीहरु आफै झुल्दै आँखा बन्द गरेर करिब २० मिनेट भुईमा झुले । गुरु आमाहरुको गीतको तालमा हाउभाउ प्रस्तुत गर्दै उठेर नाच्न थाल्दा बिहानीको करिब साढे १० बजेको थियो । गितकै तामालमा घोडा कुदाएको, लडाँई गरेको, रोपाई गरेको, ढकिया बुनेको, राजा रानीको बिवाह गरेको दृष्यले जात्रालुहरुको ध्यान खिचेको थियो । हिन्दु धर्मबाट प्रभावित उक्त नाचमा राजा परर्शुराम र रानी यमवतीको कथालाई गित र नाचमा उतारिन्छ । करिब १८ घण्टाको घाटु नाचको अन्त्यमा राजा रानीको देउराली बनाएर नाचमा प्रयोग भएका सबै सामग्रीहरु चढाएर फर्कने गरिन्छ ।

गुरुङ संस्कृतिमा रहेको घाटु नाच तामाङ समुदायले नाच्ने गरेको घटना बिरलै हो । तर मकवानपुरको कैलाश गाउँपालिका २ स्थित बैकुण्ठामा पुस्तौंदेखि यो नाच देखाइदै आएको छ । करिब तीन सय वर्ष अघि पश्चिम नेपालबाट बैकुण्ठमा घाटु नाच भित्रिएको स्थानीयहरुको अनुमान छ ।

गाउँमा धमाधम अबिवाहित केटीहरुको ज्यान जान थालेपछि तामाङ पुर्खाहरुले घाटु नाच नाच्न थालेको जनविश्वास छ । सिमे, भूमि र रिसाएको देवी देवता फकाउँदै अबिवाहित किशोरीहरु नाच्दा अकालमा नै ज्यान जाने क्रम रोकिएको धार्मिक मान्यता छ ।

गितसँगै घाटु नृत्यमा पनि आकर्षण घट्दो क्रममा रहेको छ । लामो समय अभ्यास र एक पटक नाचेपछि तीन वर्षसम्म लगातार नाच्नुपर्ने भएकाले नाच्ने केटीहरु पनि पाउन छाडेको छ । गितको उठानदेखि अन्त्यसम्म कुनै पनि शब्द नबिराई गाउनुपर्ने भएकाले नयाँ पुस्तालाई सिक्न पनि समस्या भएको गुरुआमाहरुको भनाई छ ।

घाटु नाच्न थालेपछि घाम, पानी, हावा, हुरी आएपनि गित नसकिएसम्म एकोहोरो हुने गरेको घाटुसरीहरु(नाच्ने किशोरीहरु)को अनुभव छ ।

करिब दुई हजार फिट उचाईमा रहेको बैकुण्ठबाट माछापुच्छ्रे, गणेश, धौलागिरी लगायत एक दर्जन हिमाल देख्न सकिन्छ । त्रिभुवन राजपथ अन्तर्गत पालुङबाट बैकुण्ठसम्म करिब ३७ किलोमिर ट्रयाक खोलिएको छ । बैकुण्ठ डाँडामा बाह्रै महिना नसुक्ने विष्णु कुण्ड र करिब एक घण्टाको दुरीमा रहेको त्यसको फेदीमा पाँच वटा दरबार रहेको महादेव गुफा रहेको छ । चिसो हावापानी र मनोरम दृष्यावलोकन गर्न सकिने बैकुण्ठमा घाटु नाचलाई पर्यटनसँग जोडेर युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ काम गरिरहेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो ।

तामाङ समुदायको फरक पहिचानको रुपमा स्थापित भएको घाटु नाचलाई जोगाउनु सबैको कर्तब्य हो ।

हेर्नुहोस् भिडियो

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०