nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्पपीडितको पीडाः मकवानपुर थाहानगर फुर्केकी सीताको अझै त्रिपालमुनि बास

थाहा नगरपालिका ११ फुर्केकी सीता गुरुङ १९ महिनादेखि त्रिपालमुनि कष्ट खेपिरहेकी छिन् । उनलाई चिसो बढेसँगै डेढ वर्षे छोरो जोगाउन सकस छ । गुरुङको एउटी छोरी पनि छन् । उनले घर छाएकी त्रिपालले दुई वर्षा र एक हिउँद ट¥यो । उनको हरियो रंगको त्रिपाल थोत्रिइसकेको छ । प्वाल परिसकेको छ । त्रिपालबाट सिरेटो र शीत भित्रै छिर्छ । 

सीतालाई चिसोकै कारण बालक छोरा सुताउन हम्मे पर्छ । ‘आगो बालेर तातो बनाएपछि मात्र सुत्छ,’उनले भनिन्, ‘चिसोले गर्दा उसलाई ज्वरो र रुघाखोकी लागेको छ ।’ भूकम्पले घर भत्केपछि भिरालो सुर्कोमा त्रिपाल टाँगेर बस्दै आएका आमाछोरा । फुर्केका अधिकांश घर भत्किएका छन् । सरकारले जस्तापाता खरिद गर्न दिएको १५ हजार रुपैयाँले थुप्रैले टहरा हालेका छन् । अनुदान पाएपछि केहीले घर बनाउन थालिसके तर सीताले सरकारले दिएको कुनै रकम पाइनन् । थाहा नगरपालिका  भवनमा वितरण गरिएको त्रिपाल र कम्बल मात्र उनका हात परे । त्यतिबेला सीता तीन महिने शिशु च्यापेर राहत बुझ्न गएकी थिइन् । 

पति रामबहादुरले कति पैसा लिए उनलाई जानकारी नै छैन । घर भत्केपछि रामबहादुर पनि एक महिना जति त्यही त्रिपालमुनि बसे । २०७२ जेठ १५ गते गाउँकै अर्की महिलासँग बिहे गरेपछि उनी सीतालाई एक्लै पारेर हिँडे । भूकम्पपीडित परिचयपत्र पतिकै नाममा थियो । जस्तापाता खरिद र न्यानो कपडाका निम्ति सरकारले दिएको पैसा उनैले बुझेर लगेका छन् । आवास अनुदानको पहिलो किस्ता रकमका लागि सम्झौता पनि गरिसके । उनी अहिले कान्छी पत्नीसँग काठमाडौंमा बस्छन् । सीता र छोराछोरीलाई भर दिने कोही छैन ।