nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिक्री  [कविता]

CVa-1620528826.jpg

बिक्री 

-बिर्खे अञ्जान

आयातित विचार 
जब टुप्पोको राजमार्गबाट
एकाएक खप्पर तर्फ हानिन पुग्छ
तब आदर्शको इतिहास 
अचानक गर्लम्म भत्किन थाल्छ
क्रमशः शरिरको इन्द्रियले 
भनेकै समय छोडिदिन्छ काम गर्न 
भ्रमित लाग्छन् --
 स्थापित मान्यताका दस्तावेज 
आयातित तर्कहरूको मुस्लोमा
 थिचिन पुग्छ -- संस्कृति र मानव सभ्यता ।

-- आँखाबाट खसिरहेको पीडाको झरना
-- मुटुमा दन्किरहेको आक्रोशको आगो
र , पैतलाले बर्षौ देखि बोकिरहेको यातनाको पहाड 
अेा सरकार !
 कहाँ लिपिबद्ध छ
उपेक्षाको पहिरोले पुरिएको मान्छेको अभिलेख 
अनिकाल रत्यौली खेलिरहेको चुलो
र , भोक बाँचिरहेका पेटको गणना
कुन तथ्यांकमा भेटिन्छ ?
देखिन्छ या देखिदैन 
 सरकारी ऐनामा
 एक मुठ्ठी माटोको खातिर लडिरहेका 
शरणार्थीहरूको सुकुम्बासी अनुहार ।

तिरस्कारको पसल थापेर 
बदनामको व्यापारमा हिडेका तस्करहरू
पल्टाउँदैछन् -- संविधानको धाराहरू
लुटेर आमाको अस्मिता 
या रेटेर ससाना नानीहरूको गला
राष्ट्रकै सिमा बेचेर फर्केका देशद्रोहीहरू
लेखिरहेछन् आफ्नै हातबाट -- कानुनको किताब ।

गिद्धहरू
धरहराको अग्लो टुप्पोबाट
अलाप्दैछन् -- अमनचैनको कुरा
उता न्यायालयमा विराजमान जल्लाद
फैसला सुनाउँदै छ आफु अनुकूल 
घुम्ने मेचमा बसेर ब्वाँसो 
दैनिक जारी गर्छ -- अध्यादेश 
प्रतिपक्ष नामको चलाख स्याल पनि 
बिरोध गरे झैं 
समर्थनको लाल मोहर लगाइरहन्छ सदनमा ।

" समृद्ध नेपाल "
 कुनै पेय पदार्थको बिज्ञान जस्तै 
बजिरहन्छ रेडियोमा 
आयातित पोशाकमा सजिएको
कथित बौद्धिक मानिएका
कुनै व्यक्तिको तस्बिर देखाएर 
सुखी नेपालीको हेट लाइन छाप्छ चर्चित अखबारहरू।

कुनै बेला यस्तो लाग्छ --
 सिङ्गै धर्ती एउटा व्यापार केन्द्र हो

-- पार्टीले सिद्धान्त बेच्छ
-- सरकारले आश्वासन बेच्छ
-- पत्रकारले कलम बेच्छ
-- बुद्धिजीवीले आदर्श बेच्छ ।

रोजेको चिज किन्न पाइने
भएको सामान बेच्न पाइने
आखिर सबैको प्रिय ठाउँ बजार हो ।

कृपया याद राख्नु महोदय !
 तपाईं मान्छे नै रहन चाहानु हुन्छ भने
किमार्थ स्वाभिमान नबेच्नु / इमान नबेच्नु ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)