Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बन्ला त थाहा बसपार्क ?

निर्माण घोषणा भएको डेढ दशकपछि थाहानगरमा बसपार्क बन्ने तरखर भएकोे छ । थाहा नगरपालिका वडा नम्बर ४ नार्खुढाँडमा बसपार्क निर्माण प्रक्रिया अघि बढाइएसंगै बन्ने पक्का भएको हो ।   नगरपालिका घोषणा नहुँदै यहाँ १७ वर्षअघि तत्कालिन दामन–पालुङ नगर विकास समितिले बसपार्कको सोच ल्याएको थियो । वि.सं. २०५८ सालमा तत्कालिन नगर विकास समितिका अध्यक्ष नेत्रमान प्रधान नेतृत्वको समितिले ल्याएको बसपार्क बनाउने योजनाले मुर्तरुप पाउने आशा पलाएको छ । त्यत्तिबेला इन्द्रायणी चौर पूर्वपट्टी क्षेत्रको २८ रोपनी क्षेत्रफलमा पालुङ बसपार्क प्रस्ताव गरिएको थियो । हालको थाहा नगरपालिका वडा नं. ३ मा पर्ने उक्त ऐलानी परती जग्गामा बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भएको थियो । 

थाहा बसपार्क निर्माणका लागि जग्गा सम्याउने कार्य हुँदै । फोटोः विकासखबर डट.कम.

नगर विकास समितिले बनाएको डिपीआरको आधारमा भौतिक योजना मन्त्रालयले उतिबेलै ४५ लाख रुपियाँ विनियोजन   गरेकोमा साविकका दामन र पालुङ गाविसले निर्माण सहमति दिन ढिलाई गर्दा बजेट फ्रिज भएको प्रधानले बताए । उनले भने–‘एकातिर अनुमतिमा ढिलाई अर्कोतर्फ बजार क्षेत्रबाट अन्यत्र बसपार्क गएपछि व्यपार हुन्न भन्ने बजार क्षेत्रका मानिसहरुको सोचबाट योजना तुहाइयो, अहिले ढिलै भएपनि ठाउँ फेरेर योजना कार्यान्वयनमा आएको छ, यसमै खुशी  छु ।’ राजनीतिक नियुक्तिको आधारमा नगर विकास समितिको अध्यक्ष पाइने भएको हुँदा काम गर्दागर्दै सरकार फेरियो, नगर विकासको नेतृत्व फेरियो अनि एकले शुरु गरेको योजना अर्को नेतृत्वले निरन्तरता नदिने प्रतिशोधका कारण बसपार्क बन्न नसकेको प्रधानको भनाइ छ । उनको नेतृत्वमा रहेको समितिमा तत्कालिन एमालेका प्रेम केसी, राप्रपाका भिम बहादुर भोम्जन, काँग्रेसका कमल गोपाली, गणेश लामा, शेर बहादुर गोपाली लगायत थिए ।

वि.सं. २०५८ सालमा बसपार्क बनाउने बजेट नै फ्रिज भयो ,वि.सं. २०६४ सालमा बसपार्क बनाउने योजनाले फेल खायो तसर्थ अब बन्ला त बसपार्क ? यो आम थाहानगरबासीको प्रश्न हो । त्यसैले जनप्रतिनीधिको प्रभाव नागरिक सामु प्रस्तुत गर्न भएपनि यो योजनालाई पूर्णता दिनू पर्दछ ।

प्रधानको नेतृत्वपछि दामन–पालुङ नगर विकास समितिको अध्यक्षमा तत्कालिन राप्रपाका कृष्णध्वज कार्की, काँग्रेसका भरत लामा, भरत गोपाली तथा नेकपा माओवादीका अरुण रायमाझी नगर विकास समितिको अध्यक्षमा मनोनित भएका थिए । तत्कालिन बसपार्क निर्माणका योजना अनुसार शिखरकोट घर्तिखोलाहुँदै पालुङदबाट पनि बसपार्क पुग्ने तथा थानाबजारबाट र जेसीजमार्गको बाटो स्तरीकरण गरेर बसपार्कलाई एकीकृत गर्ने डिपीआरमा उल्लेख थियो । बसपार्कमा टिकट घर, खानेपानी, शौचालय, पालेघर र कम्पाण्ड निर्माणको विस्तृत योजना    रहेको थियो । ‘मन्त्रालयले विनियोजन  गरेको बजेटले योजना भनुसार काम गर्न पुग्थ्यो तर, पद खुस्किहाल्यो प्रधानले   भने ।’

तत्कालिन दुई दामन र पालुङ गाविसले सहमती नजनाउँदा बन्न नसकेको बसपार्क स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएपछि कार्यारम्भ भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ मा सार्वजनिक जग्गाको संरक्षण, अभिलेखीकरण र उपयोगको समेत अधिकार भएकोले सोही बमोजिम सार्वजनिक जग्गामा थाहा नगरपालिकाले बसपार्क निर्माण गर्न लागेको हो । 

बसपार्क निर्माणको लागि थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद विरोध खतिवडाले ५० लाख रुपैयाँ रकम विनियोजित गरेको मेयर लवशेर विष्टले जानकारी दिए । विष्टका अनुसार बसपार्क चालु आर्थिक वर्षभित्रै संचालनमा ल्याउने लक्ष्य छ । बसपार्क क्षेत्र भन्ने वित्तिकै फरक ढंगले हेरिने हुँदा थाहा बसपार्कमा सुरक्षा तथा किनमेल गर्ने बजारकै रुपमा विस्तार   गरी फरक परिचय दिने बताए । उनले भने–‘हामीले नार्खुढाँडमा सुविधासम्पन्न बसपार्क बनाउने गरी जग्गा व्यवस्थापन गरेका छौं ।’

निर्माणाधिन थाहा बसपार्क निर्माण स्थलसम्म पुग्ने सडक ट्रयाक निर्माण भएको छ । फोटोः विकासखबर डट.कम.

बसपार्कको अभावमा राजमार्गको र भित्री सडकको दायाँबायाँ सवारीसाधनहरू राख्ने गरेकाले नगरपालिकाले बसपार्क निर्माण गर्न लागेको विष्टले बताएरु। नयाँ र पर्यटकीय नगरपालिका भएकाले सवारीसाधनको व्यवस्थापन गर्न थाहा नगरपालिकाको बसपार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको सांसद विरोध खतिवडाले बताए । 

थाहा नगरपालिकाबाट काठमाडौं र हेटांैडा यात्रुवाहक सवारीसाधनहरू छुट्ने गरेका छन् भने तरकारी ढुवानी गर्ने दर्जनौं सवारीसाधन दैनिक आउजाउ    गर्छन् । शुक्रबार र शनिबार आन्तरिक एवं बाहय पर्यटकहरू सवारीसाधनहरू लिएर थाहा नपाको विभिन्न भागमा अवलोकन गर्न आउने गरेका छन् । ‘नगरपालिका भित्र बसपार्क अनिवार्य बनाउनुपर्ने भइसकेको छ,’ थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले भने, ‘बसपार्क नहुँदा थाहा नगरपालिका अव्यवस्थित देखिएको छ ।’ मकवानपुरको क्षेत्र २ मा पर्ने थाहा नगरपालिका साविक ६ वटा तत्कालीन गाविस समेटेर बनेको छ ।

सुरुवात गर्ने स्थानीय निकाय, काम गर्ने स्थानीय सरकार !

थाहा बसपार्कको नाम तत्कालिन दामन गाविस र दामन–पालुङ संयुक्त आर्थिक विकास सहयोग समितिले दिएको हो । दामन गाविस र आर्थिक विकास समितिले हाल बसपार्क निर्माण स्थलमा थाहा बसपार्क निर्माण गर्ने गरी बजेट विनियोजन गरेको थियो । ति दुई निकायले ४०/४० हजार रुपियाँ बजेट विनियोजन गरेको तत्कालिन थाहा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष उकेशचन्द्र केसीले जानकारी दिए । 

वि.सं. २०६४ सालमा विनियोजित बजेटबाट बसपार्क निर्माण स्थल सम्याउने, ढुङ्गा फुटाउने कार्य गरेको भएपनि सहज बाटो अभावका कारण निर्माण कार्यका लागि वर्षेनी बजेट विनियोजन हुन नसकेको केसीले बताए । बसपार्कको नाम जुराउनको लागि उतिबेला ज्योति रायमाझी, अरुण रायमाझी, बलराम बल तथा उकेशचन्द्र केसीको बैठक नै बसेको थियो । ‘बैठकले नाम जुरायो थाहा बसपार्क तर सडक लैजान सहमति नहुँदा दशक वित्यो, अहिले सडकका लागि सहमती जुटेकोमा खुशी छ’–केसीले भने । उनले आफूले थालेको कामलाई नगरले गौरबको योजनाको रुपमा निर्माण थालनी भएकोमा हर्ष व्यक्त गरे । 

गाविस छँदै संयुक्त रुपमा थाहा बसपार्क नाम राखिएको र अहिले थाहा नगरपालिकाले त्यसैलाई निरन्तरता दिएर काम गरेकोमा स्थानीयहरु हर्षित छन् । 
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।