nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

"प्रधानपञ्चको छोरी बिहेकै दिन भगाइदिएँ"
कृष्णमुरारी भण्डारी

Prem-Bdr.-1476264919.jpg

मैले पढेर केही पनि जानेको छैन, सबै ‘परेर’ मात्र जानेको हुँ ।
पढ्न त ‘क-ख’ पनि जान्दिन । प्रेम भनेर सही गर्न चाहिँ सक्छु । यो पनि विद्यालय सञ्चालक समितिको अध्यक्ष भएपछि गर्नैपर्छ भनेर ।
नभई नहुने भएपछि कनीकुथी १५ दिन लगाएर सिकेको हुँ । बूढापाका भन्थे, ‘बूढो सुगालाई जति धान खुवाए पनि बोल्दैन ।’ हो रै’छ । त्यसैले पाल्न समाउनेहरू सुगा, मैनाका बचोरा नै खोज्दा रहेछन् । मलाई जुनसुकै काम दिनूस् फत्ते गर्छु तर लेखपढ गर्न सक्दै सक्दिँन ।

मेरो नाम ‘प्रेम’ भन्दा अगाडि कुन र पछाडि कुन अक्षर आउँछ, मलाई पत्तोसम्म छैन । पढेपछि के हुन्छ भन्ने चाहिँ मलाई राम्रोसँग थाहा छ । त्यसैले मेरा पाँचवटै छोराछोरीलाई क्याम्पस त पढाएँ-पढाएँ, यो भेगकै केटाकेटीलाई उच्चशिक्षा दिलाउन प्राथमिक विद्यालयलाई उच्च माविसम्म पुर्‍याएँ, सञ्चालक समिति अध्यक्ष भएर । मेरो जीवनको सफलता भनेकै यही हो ।

मैले पढ्न पाएको भए मेरा सन्तान अझ धेरै सक्षम र सभ्य हुन्थे होलान् । म त झन् के-के हुन्थेँ-हुन्थेँ । मलाई पढ्न नसकेकोमा कुनै दुःखमनाउ छैन । मेरो परिवारमा विद्या भित्रिएकोमा साह्रै सन्तोष छ ।

मेरा धेरै बालबच्चा भए पनि सबैले उच्चशिक्षा पाए । दुर्गम गाउँको खनीखोस्री खाने भए पनि हामी बूढाबूढीबाहेक परिवारमा सबै शिक्षित छन् ।जेठी छोरी त शिक्षिका नै बनिसकी ।

मेरो जीवनमा यस्तो हुनु महाआश्चर्य हो । म टुहुरो हुँ । अर्काको भाँडा माझ्दै, भारी बोक्दै, गिट्टी कुट्दै, कुल्लीको जीवन गुजारेर यो अवस्थासम्म आइपुगेँ । बाबु रुपा नेगी म चौध महिनाको हुँदा बित्नुभयो । गर्भे टुहुरो मेरो भाइ अढाई महिनाको नपुग्दै आमाले पनि संसार छाड्नुभो । मेरो बापट्टिकी हजुरआमा हुनुहुन्थ्यो रे ! त्यसपछि उहाँलाई सघाउन मेरी आमापट्टिकी हजुरआमा पनि हाम्रो घर आउनुभएछ । हामी शिशुहरूलाई माया गरेर दिदीले खेलाउनुहुन्थ्यो रे, आमा मरेको डेढ महिनापछि उहाँ पनि स्वर्गे हुनुभएछ । त्यसको महिना दिनभित्रै भाइ र दुबै हजुरआमा (मावली र घरकी) पनि बित्नुभएछ ।

त्यसपछि अब म र मेरो दाइमात्र बाँकी भयौँ । अब यी पनि मर्छन् र रुपा नेगीको वंशै मासिन्छ भनेर दाइलाई मेरी ठूलीआमा (आमाकी दिदी) ले थाक्रे गाविस, राम्चेमा लग्नुभएछ । २१ महिना उमेरको मलाई चाहिँ माइला-बाका छोरा पूर्णबहादुर नेगीले गैह्रीखर्क लगेछन् ।

दाइ सात-आठ वर्षको भएपछि कमाउन भनेर घट्टेखोलामा गएर गिट्टी कुट्न थालेछ । त्यहीँ ट्रकको ढालाले बूढीऔँला च्यापेछ । ट्रक अगाडि बढ्दा दाइलाई लछारेर बूढीऔँला छिनेछ । मोटो नसा कुमदेखिको एक हात तानिएर बाहिर निस्किएछ । दाइको पनि मृत्यु भएछ । यसरी हाम्रो परिवारका मबाहेक बा, आमा, दिदी, दाइ, भाइ, हजुरआमाहरू सबै सकिनुभयो । अनि हाम्रो घर, जग्गा र भाँडाकुडाका निम्ति आफन्तबीच तानातान भएछ । मेरो पैतृक ३६ रोपनी जमीन थियो । ठूलीआमाको छोरा मङ्गले र प्रधानपञ्च कर्णबहादुर लामाले त्यो आ-आफ्नो नाममा पारेछन् । नापी हुँदा ११ रोपनी भने मेरो नाममा लेखिएको रहेछ । त्यो पनि मङ्गलेले प्रधानपञ्चसँग मिलेर लालपूर्जा आफ्नो हातमा पारेको रहेछ-रुपा नेगीको छोरो दमैसिं मै हूँ भनेर ।

मेरो खास नाम दमैसिं हो । नाम बिगारेर दमै भएको होइन ।

गाउँमा केटाकेटी कलिलैमा मर्ने भएकाले ‘तल्लो जात’ का दमै-कामीलाई ‘बेच्ने’ चलन रहेछ । जुन जातले किनेको छ, त्यही नाम राखिने रहेछ ।

मेरो दाइको नाम पनि ‘सार्की’ राखिएको रहेछ । दिदीलाई कामीले ‘किनेका’ रहेछन्, त्यसैले उसको नाम ‘कामी’ रहेछ । गर्भे टुहुरो भाइको नाम ‘गर्पु’ राखिएको रहेछ । ‘पानी नचल्ने’ जातलाई बेच्दा पनि मबाहेक कोही बाँचेनन् । त्यसैले यसलाई छोए मरिन्छ भनेर मलाई पनि पछिसम्म गाउँलेहरू छुँदैनथे । कसैको घरमा गएँ भने धपाइहाल्थे, ‘ए, तँ जा-जा ।’ आफ्ना छोराछोरीलाई तर्साउँथे, ‘योसँग खेल्न हुन्न, मरिन्छ’ भनेर । मलाई देख्यो कि मान्छेहरू कुरा गरिहाल्थे, परिवारै यसरी विनाश भयो भनेर ।

ठूलीआमाकहाँ सानैदेखि काम गर्नुपथ्र्यो । बाख्रा चराउने, मुडखोलाबाट पानी बोकेर

राम्चेसम्म पुर्‍याउने र अरु पनि काम गर्नपथ्र्यो । अरुका कुरा सुन्दा र आफूले गनुर्प रेको दुःख देख्दा मलाई ठूलीआमाकहाँ बस्नै मन लाग्दैनथ्यो । कमाउन पाए गरेर देखाइदिन्थे भन्ने लागिरहन्थ्यो । म नौ वर्षको भएँ । नौ पुगेपछि बुद्धि आउने रहेछ । अनि एक दिन केही नभनी ठूलीआमाकहाँबाट काम खोज्न निस्केँ । मलाई घर छाडेर एक्लै कहीँ कतै गएको अनुभव थिएन ।

ढोडको थुप्रोमा रात बिताएँ । झिसमिसेमै उठेर हिडेँ । नौबिसे नजिकको जुँगेखोलामा ढुङ्गा कुटेर पैसा कमाउन सकिन्छ भन्ने सुनेको थिएँ ।

छ बज्दा म जुँगेखोलामा पुगिसकेको थिएँ ।  त्यहाँ मैले चिनेको एउटै अनुहार देखिन । बेस्सरी भोक लागेको थियो । गोजीमा एक पैसा थिएन । दुई-तीन घण्टासम्म मान्छेहरू भएको ठाउँमा चक्कर काटिरहेँ । एउटा क्रसरमा गाउँको एउटा मान्छे देखेंँ ।

उहाँले पनि मलाई चिनेर सोध्नुभो, ‘ए दमैं, तँ किन आएको ?’
मैले भनेँ, ‘काम खोज्न ।’
उहाँले भन्नुभो, ‘तँ जस्तो फुच्चेलाई कसले काम दिन्छ ?’
मैले भनेँ, ‘मलाई खानलाउन दिए पुग्छ ।’
उहाँले भन्नुभो, ‘ल पख्, त्यसो भए !’

आफूलाई पकाएको खाना बाँडेर मलाई पनि खुवाउनुभो । साहू केशरसिंह बल पनि आइपुगे । उहाँले साहूलाई भन्नुभो, ‘यसलाई पनि काम गर्न दिनुपर्‍यो ?’

साहूले त उल्टै हप्काए, ‘यो डोकोभन्दा सानो भुरोलाई के काम दिनु ?’

उहाँले आँसु झार्दै मेरो सबै जना मरेको ‘कथा’ सुनाए । अनि साहूले भोलिपल्टदेखि काममा लगाए । बिहान उज्यालो भएदेखि साँझसम्म काम गर्नुपर्थ्यो । मैले त्यहाँ एक महिना २५ दिन काम गरें । साहूले दिनको दुई रुपैयाँको दरले एक सय २५ रुपैयाँ दिए ।

त्यो पैसाबाट मैले एक जोर चप्पल, गञ्जी, कट्टु र पाइजामा किनेर लगाएँ ।बाँकी ९५ रुपैयाँ बोकेर ठूलीआमाको घर गएँ । ठूलाबा र आमालाई त्यो पैसा लगेर दिएँ । उहाँहरू ज्यादै खुशी हुनुभयो ।

तीन-चार महिना ठूलीआमाकै घरमा बसेँ । मलाई लाग्यो, ‘गाउँमा बाख्रा चराएर उन्नति हुन्न, काम गर्न वाहिर नै जानुपर्छ ।’

मङ्गल दाइ रसुवाको बाटो खन्दा राम्चेमा पेट्टी-ठेकेदार बनेका रहेछन् । उहाँ गाउँमा कुल्ली लिन आउनुभएको थियो । मलाई पनि जाऊँ भन्नुभो । साइट हेर्ने ओभरसियर थिए, आङकाजी शेर्पा । म सानो भएकोले उहाँको भात पकाउने, भाँडा माझ्ने र कोठा सफा गर्ने काममा लगाइएँ । आधा दाइको र आधा शेर्पाकोमा तीन महिना काम गरें । मङ्गल दाइसहित २२ जना कुल्लीको पैसा पनि नदिई ठेकेदार भाग्यो ।

उसले ज्याला त दिएन-दिएन, आफूले लगाएर गएको चप्पल र कट्टु पनि च्यातिइसकेको थियो । नाइकेले बाटामा गहुँ भुटेर खुवाउँदै काठमाडौं बसपार्क ल्यायो । ‘ल, अब घर जान खर्च’ भनेर दुई-दुई रुपैयाँ बाँड्यो । फेरि ठूलीआमाको घर गएँ, तीन मोहर ट्रक भाडा किनाराका मान्छे,र छ तिरेर । उहाँले पैसा नल्याएको भनेर राति घरभित्र छिर्नै दिनुभएन ।

म बेस्मारी रोएँ । छिमेककी छ्यामाले सुन्नुभएछ, बोलाउनुभो । मलाई ‘टुहुरो कहाँबाट आइस्’ भनेर माया गर्नुभो । मकैको खोले पकाएर खान दिनुभो ।

भोलिपल्ट गाउँ डुलेँ । गोपाल लोप्चान चाबहिलको ओम अस्पतालअगाडि पर्खाल लगाउने पेट्टी-ठेकेदार रहेछन् । मैले आफ्नो दुःख सुनाएँ । उहाँलाई भनेँ, ‘मलाई खान मात्र दिनू, बरु ज्याला चाहिन्न ।’

उहाँले भन्नुभो, ‘ल हिँड् ।’

हामी चार-पाँच जना ‘प्लेटफारम’ ट्रक चढेर चाबहिल हिँड्यौँ । मेरो कट्टु फाटेको थियो । बाटोमा उहाँले जिस्क्याउनुभो, ‘तेरो कट्टुबाट मुसा निस्कियो ।’ नौबिसे पुगेपछि ट्रक रोक्नुभो । एउटा कट्टु किनिदिनुभो । मेरो लाज ढाकियो । चाबहिल पुगेपछि कुल्लीले खाएर बाँकी रहेको खाना खान दिए । म अति भोकाएको थिएँ । खूब मीठो भयो ।
भोलिदेखि काम गर्ने तय भयो ।

हामीसँगै गएका अष्ट पहिला पनि चाबहिल गैसकेका रहेछन् ।
उनले भने, ‘ए दमाईं ल हिँड्, तँलाई म चाबहिल डुलाउँछु ।’

हामी डुल्न हिँड्यौँ । चाबहिल चोकबाट चुच्चेपाटीतिर पाँच-छ घरअगाडि पुगेपछि धुञ्चेमा मैले भात पकाएका ओभरसियर आङ्काजी शेर्पा भेटिनुभो । उहाँले छक्क परेर सोध्नुभो, ‘दमै, तिमी मलाई खाना खुवाउने मान्छे, कहाँबाट यहाँ आयौ ?’

मैले आफ्नो दुःखका कथा सुनाएँ, ‘पैसा नल्याएको भनेर घरमा पनि पस्न दिनुभएन ठूलीआमाले । दुःख पाएँ । फेरि कुल्ली काम गर्न आएको ।’

शेर्पाले भन्नुभो, ‘तिमीलाई मिल्ने काम छ । पैसा पनि दिन्छ, खान-लाउन पनि दिन्छ । मसँग हिँड ।’

मैंले भनेँ, ‘गोपाल दाइलाई नभनी मिल्दैन ।’ शेर्पा गोपाल बस्ने ठाउँमै आउनुभो । उहाँले गोपाललाई भन्नुभो, ‘म यसलाई विदेशीकहाँ काम मिलाइदिन्छु, यसको कल्याण हुन्छ । बरु तपाईंले खर्च हालेर ल्याउनुभएको होला यसलाई, ल लिनूस् यो पैसा ।’

शेर्पाले गोपाललाई दुई सय रुपैयाँ र आफ्नो नाम ठेगाना दिनुभो । गोपालले लिन मान्नुभएन । उहाँले पनि यो दुःखीलाई सेवा गर्नुपर्छ भन्नुभो । गोपालले मलाई सोध्नुभो, ‘दमै, तँ जान्छस् त ?’ मैले भनेँ, ‘पाए त जान्थेँ ।’

शेर्पाले ट्याक्सी रोक्नुभो । मलाई आफूसँगै त्यसैमा चढाउनुभो ।

ट्याक्सीमा बस्दा त म अचम्मैमा परेँ, सिट त कस्तो गद्धावाल रहेछ ! अनि ड्राइभरलाई हेरेँ । दामेचौरकै दाइ हुनुहुँदोरहेछ । मैले बोलाएँ, ‘दाइ दाइ !’ उहाँ बोल्दै बोल्नुभएन । उहाँलाई त मसँग बोल्दा पनि मरिन्छ भन्ने डर रहेछ । उहाँको नजरमा म त कालको बीउ नै रहेछु ! तैपनि मैले ‘दाइ’ भन्न छोडिन, उहाँ मरिगए बोल्नुभएन ।

ट्याक्सी डिल्लीबजार, पीपलबोटको उकालोबाट दायातिर कच्ची बाटोमा मोडियो । अनि मलाई डर लाग्न थाल्यो । हाम्रो भाषामा यस्तो बाटो लागेपछि भन्थे, ‘गण्डक से चापता भोर्पा ।’ जसको अर्थ हुन्छ- ‘भूतलाई दिन मान्छे लाने बाटो !’

ट्याक्सी रोकियो । शेर्पा घण्टी बजाउन थाल्नुभो । मैले फेरि ड्राइभरलाई ‘दाइ-दाइ’ भनेँ । उहाँ बोल्दै बोल्नुभएन । साँझको बेला थियो । अकस्मात एउटी महिलाले ढोका खोल्नुभो ।

शेर्पाले हात समातेर मलाईभित्र लग्नुभो । ढोका आफैँ बन्द भयो । भुइँ टिलिक्क सफा थियो । ढोका खोल्ने महिला पातली अग्ली हुनुहुन्थ्यो ।मलाई लाग्यो, ‘पक्कै यो किचकन्ने हो ।’ म डरले थर्थर कामेको थिएँ । मनमा लाग्यो, ‘कहाँबाट भूतको घाटमै आइपुगियो । आज यहीँ मर्नै लेखेको रहेछ ।’

त्यो महिलाको खुट्टातिर हेरेँ । मैले सुनेको किचकन्नेको जस्तो उल्टो फर्केको छ कि भनेर । त्यस्तो देखिँन ।

उहाँहरूले के-के कुरा गर्नुभो । त्यसपछि मलाई मेरा सबै लुगा खोल्न भन्नुभो । कोठाभित्र तातोपानी भएको सानोपोखरीमा माडी-माडी नुहाइदिनुभो ।मलाई लगाउन नयाँ लुगा ल्याएर दिनुभो । मेरो लुगा चाहिँ बाहिर लगेर मट्टीतेल खन्याएर डढाइयो । खान दिनुभो । मेरो सुत्ने ठाउँ देखाइदिनुभो । महिलाले भन्नुभो, ‘अबदेखि तिम्रो नाम कामी होइन, प्रेमबहादुर हो ।’ शेर्पा जानुभो- भोलि भेटौँला भनेर । म चाहिँ रातभरि सुत्न पनि सकिन, मरिन्छ होला भनेर । भोलिपल्ट एउटी दिदी आउनुभो । म राम्ररी नेपाली बोल्न पनि जान्दिनथेँ । तैपनि उहाँका कुरा सुनेँ । उहाँ चाहिँ मान्छे नै हो भन्ने लाग्यो मलाई । धेरै कुरा सिकाउनुभो । माझेका भाँडा पनि त्यहाँ पुछेर राख्नुपथ्र्यो । भुइँ पुछ्नुपथ्र्यो । ठूलो स्वरमा बोल्नु हुन्नथ्यो ।

ठीक समयमा सुत्नु र उठ्नु पर्थ्यो। खाना ग्यासमा पाक्थ्यो । लुगा सधैँ सफा लगाउनुपर्थ्यो । कपाल पनि समयमा काट्नु र कोर्नुपथ्र्यो । नुहाइधुवाइ गरिरहनुपर्थ्यो ।

म लगातार अढाई वर्ष बसेँ त्यहाँ । त्यही कम्पाउण्डमा साइकल सिकेँ । मलाई किन-किन घर जान मन लाग्यो । मैले कोरियन बूढीआमैलाई घर जान्छु भनेँ । उहाँले को-को छन् घरमा भनेर सोध्नुभो । सबैलाई पुग्ने गरी लुगाफाटो र खाने कुरा झोलामा हालेर लैजान भन्नुभो । हिँड्नुअघि पच्चीस सय रुपैयाँ पनि दिनुभो- तिम्रो पैसा भनेर । म ठूलीआमाको घर पुगेँ । सुरुमा त कसैले चिनेन । शायद गोह्रो,मोटो, फूर्तिलो चट्ट परेको र सुकिला लुगा लगाएकाले होला ।

ठूली आमाले भन्नुभयो, ‘अब तेरो बिहे गर्नुपर्छ ।’

मैले हाँसेर भनेँ, ‘अहिल्यै कहाँ बिहे गर्नु ? पहिला घर व्यवहार मिलाउनुपर्‍यो । मेरो नाममा घरजग्गा नामसारी गर्नुपर्‍यो, अनि पो बिहे ठूलीआमा !’

त्यो सुनेपछि बूढी त मसँग रिसाउन पो थाल्नुभो । उहाँले भन्नुभो, ‘के मिलाउनु छ र ? घरमा दाइ बसेको छ । जग्गा बारीमै छ ।’
मैले भनेँ, ‘त्यसरी कहाँ हुन्छ ? मेरो नाउँमा हुनुपरेन ?’

अझ रिसाएर भन्नुभो, ‘आफूले पालेको कुकुरले आफैंलाई टोक्छ भनेको यही हो ।’

त्यसपछि मलाई के गरूँ-गरूँं भयो । बाबुको नाउँको घर-जग्गा आफ्नो नाउँमा ल्याउन नागरिकता चाहिन्छ भने गाउँलेहरूले ।
नागरिकता बनाउन सिफारिस चाहिने रहेछ । प्रधानपञ्च कर्णबहादुर लामालाई गएर भनेँ, ‘मलाई सिफारिस बनाइदिनुस् ।’

उहाँले भन्नुभो, ‘तिम्रो नागरिकता बनाउन तिम्रो बाबुको नागरिकता चाहिन्छ ।’ मैले भनेँ, ‘मेरो बाबुआमाको नागरिकता थियो कि थिएन, तपाईंलाई नै थाहा होला ।’

उहाँले भन्नुभो, ‘कुनै हालतमा त्यो नभई हुन्न ।’

त्यसपछि मलाई गाउँमा बस्नै मन लागेन । मलाई बाबुआमाको नासो घरजग्गा आˆनो पार्ने हुट्हुटी लाग्यो । फेरि कोरियनकहाँ फर्किएँ र डेढ वर्ष बसेँ । त्यसपछि भनेँं, ‘अब म यहाँ बस्दिनँ, घर जान्छु ।’ कोरियन बूढीआमै त रुन थाल्नुभो, ‘तँलाई हुर्काएँ । अब लायक भइस्, जान्छु भन्छस् ।’

मैले भनेँ, ‘अर्को मान्छे राख्नूस्, अब जान्छु । बरु मलाई अहिलेसम्मको तलब पनि चाहिन्न ।’

बूढीआमा त झन् चिच्याएर रुन थाल्नुभो । शेर्पालाई भनेँं, ‘मेरो घरमा यस्तो छ भनिदिनूस् । मलाई नागरिकता बनाउनु छ ।’
सबै कुरा भनेपछि बूढीले नौ हजार रुपैयाँ दिँदै भन्नुभो, ‘नागरिकता तिम्रो सम्पत्ति हो । यही पैसाले बनाउनू ।’

म गाउँ फर्किएँ । सीधै प्रधानपञ्चकहाँ गएँ र सिफारिश बनाइदिन भनेँ । उहाँले भन्नुभो, ‘म सक्दिँन ।’

मेरै घरमा म बाहिरिया बनेँ । मङ्गल दाइले पनि घरमा टेक्न दिन्न भन्नुभो । म रन्थनिएर ताउमा परेको माछाजस्तो भएँ । गाउँमै हल्लिने-रल्लिने गर्न थालेँ । गाउँमा एउटी माइलीदिदीको होटल थियो । उहाँले मलाई सधैँ भनिरहनुहुन्थ्यो, ‘हिम्मत नहार् केटा ।’
उहाँ मलाई खान पनि दिनुहुन्थ्यो तर कहिल्यै हिसाब गर्नुभएन । उहाँ भन्नुहुन्थ्यो, ‘एउटा अभागीलाई सहयोग गरेर धर्म गर्दैछु ।’
मलाई भने ‘कहाँ जाऊँ, के गरौँ’ हुन्थ्यो ।

एक दिन थाहा पाएँ, ‘तिलकबहादुर नेगी भन्ने मन्त्री छन्, प्रायः काठमाडौं बस्छन् ।’ म पनि नेगी भएकाले आशा जाग्यो- यिनले सहयोग गर्छन् कि ! उनी पुरानो बानेश्वरमा बस्दा रहेछन्, मन्त्री खुस्केपछि बबरमहल सरेछन् । उहाँकहाँ गए र आˆनो व्यथा सुनाएँ । उहाँकहाँ नियमित जान थालेँ । गयो, बस्यो । खान दिइहाल्थे । घरमा भएकालाई पनि साइनो लगाएर बोल्न थालेँ । उहाँकी बूढी, छोराछोरीलाई काममा सघाउन थालेँ । बिस्तारै म त्यो घरमा प्रिय हुन थालेँ ।

एक दिन मकवानपुरबाट दाबा आएका रहेछन् । उहाँलाई नेगीले भन्नुभो, ‘यो यस्तो हो । यसको समस्या नागरिकता नहुनु हो ।’
दाबाले भन्नुभो, ‘म एक-डेढ हप्ता बस्छु यहाँ । तिम्रो नागरिकता म बनाइदिन्छु ।’

मलाई भगवान भेटेजस्तो लाग्यो । अनि फेरि एकपटक गाउँ गएँ । प्रधानपञ्चलाई भनेँ, ‘मलाई नागरिकताको सिफारिश बनाइ दिनूस् ।’

उहाँले मलाई कुकुरलाई भन्दा पनि नराम्रो गाली गर्नुभो । उहाँले धम्क्याउनुभो, ‘कुनै हालतमा तेरो नागरिकता बन्दैन । मलाई अब फेरि आएर जिस्क्याइस् भने नौ डाँडा कटाइदिन्छु ।’

मैले त रिसले आँखै देखिँन । अनि भनेँ, ‘म विदेशी हो र ?
तिम्रैअगाडि मैले नागरिकता बनाएर देखाएँ भने के गर्छौ ?’
उहाँले भन्नुभो, ‘तैंले नागरिकता बनाइस् भने म तेरो मूत
खान्छु ।’

मैले पनि भनेँ, ‘त्यसो भए तिमीलाई मूत खुवाएरै छाड्छु ।’

त्यहाँका मान्छेहरूले मलाई सम्झाए र भने, ‘तिमी सानो भएर यस्तो बाघसँग जुध्न हुन्छ ? बेकार ज्यान खतरामा पर्छ ।’

गाउँलेले मलाई तानेर अलि टाढा लिएर गए । मैले भनेँं, ‘मेरो अपराध के ? यही गाउँको भएर मैले नागरिकता नपाउने ? मेरो बाबुको सम्पत्ति पनि मेरो नहुने ? देउताले त मेरो बाआमा मारेर दण्ड दिए-दिए, अब गाउँलेले पनि मिलेर मेरै घर-जग्गा खाइदिने ?’

मैले गाउँलेहरूलाई चिया, चुरोट खुवाएँ । उहाँहरूले मलाई समर्थन गर्नुभो । सबैले भन्नुभो, ‘हो, तिमीलाई अन्याय गरे ।’
मेरो २७ रोपनी जग्गा प्रधानपञ्चले आफ्नो नाउँमा गराएको रहेछ ।

मेरो नाउँमा भएको ११ रोपनी जग्गा पनि मङ्गल दाइले दमैसिं मैं हुँ भन्ने नागरिकता बनाएर खानीखोलाको बैंकमा राखेर पैसा निकालेछ ।
मैले त्यहीँ भनेँ, ‘नागरिकता निकालेर बाको जग्गा मेरो नाममा पार्न सकिँन भने एक्लो ज्यान हो, यिनलाई पनि बाँकी राख्दिन ।’

म काठमाडौं हिडेँ । दाबा फर्कनुभएछ । तिलकबहादुर नेगीकै घरमा भेटेँ । उहाँलाई सबै कुरा सुनाएँ । उहाँले भन्नुभो, ‘यो त ज्यादै अन्याय हो । ल हेटौंडा हिँड, तिम्रो नागरिकता बनाउन आजै जाऊँ ।’

नेगी बूढासँग पनि कुरा गर्नुभो । ट्रक चढेर राति १२ बजेतिर हेटौँडा पुग्यौँ । भोलिपल्ट बिहान दाबाले मलाई सोध्नुभो, ‘तिम्रो फोटो छ कि छैन?’

मैले भनेँ, ‘छैन ।’

पीपलबोटमा लगेर फोटो खिचाउनुभयो । दुई घण्टामा फोटो लिइयो, आठ रुपैयाँ तिरेर । जिल्ला प्रशासन कार्यालय गएपछि तिलकबहादुर नेगीको ठेगाना राख्नुभएछ । उहाँकै दाजुको छोराको छोरा बनाइदिनुभएछ । हजुरबा र मेरो बाको नाम भने जे थियो, त्यही राखिदिनुभएछ । नागरिकता बन्यो । त्यसपछि होटलमा उहाँले नै खाना पनि खुवाउनुभयो । नारायणघाट हुँदै मुग्लिनको बाटो गाडी चढेर म फर्किएँ । नौबिसे झरेर सिमलडाँडा दिदीकहाँ आएर बसेँ । 

खुशीको खबर पनि सुनाएँ । भोलिपल्ट गाउँमा गएर सबैलाई भनें ।

त्यसपछि प्रधानपञ्चकहाँ गएर सबैका अघिल्तिर कराएँ । कर्णबहादुर र मङ्गलेलाई औँलाले देखाउँदै भनेँ, ‘तिमीहरू मेरो जग्गा दिन्छौ कि म मुद्दा हालौँ । मैले मेरो नागरिकता बनाएँ । नम्बर चाहिन्छ भने दिन्छु ।’

प्रधानपञ्च कर्णबहादुरले यत्ति मात्र भने, ‘तँ मभन्दा जान्ने र ठूलो भइछस् !’ मङ्गलेले घोसे मुन्टो लगायो । म मुद्दा हाल्न पुलिस चौकी र अदालत गएँ तर सुनुवाइ भएन । फेरि तिलकबहादुर नेगीकहाँ आएर भनेँ । उहाँले गाउँमा गएर भनिदिनुभो, ‘यस्तो नगर, यो टुहुराको देऊ ।’ प्रधानपञ्चले हुन्छ भने । तर पछि दिएनन् । प्रहरीलाई पनि भन्न लगाएँ, उहाँसँग हुन्छ भने । तर काम चाहिँ गरेनन् ।

प्रधानपञ्चले छोरीको बिहे गरिदिन लागेका रहेछन् । थाहा पाएँ, केटीलाई केटो मन परेको रै’नछ । कहिलेकाहीँ मसँग उनका आँखा जुध्थे । मैले पनि मौका यही हो भनेर बिहेकै दिन भगाइदिएँ । विधिपूर्वक माइली दिदी कहाँ गएर बिहे गरें । मेरो स्वार्थ थियो, ससुरा भएपछि मेरो जग्गा पनि प्रधानपञ्च कर्णबहादुरले फिर्ता देलान् । मैले श्रीमतीलाई माइत पठाइदिएँ, सम्बन्ध सुध्रने आशमा । मलाई ज्वाइँ भन्नु त कता-कता, बिहे गरेर आएकी छोरीलाई रातारात अर्कैसँग बिहे गरेर भगाइदिएछन् । श्रीमती पनि लापत्ता भएपछि म त पागलजस्तै भएँ । एक वर्षपछि श्रीमती यहाँ छिन् भनेर सुराकी पाएँ । फेरि गएँ, दोस्रो पटक पनि भगाएर उनैसँग बिहे गरें । त्यति गर्दा पनि प्रधानपञ्च बूढाले जग्गा फिर्ता दिएनन् ।

मङ्गलेले दमैसिं मै हुँ भनेर बैंकमा राखेको जग्गा लिलामीमा चढ्यो  । सावाँको डबल भनेर पाँच हजार आठ सयमा जग्गा निखनेँ । यसो गर्न पनि बैंकका कर्मचारीलाई चारसय घुस खुवाउनुपर्‍यो ।

छुटेको पाँच रोपनी जग्गा आˆनो नाममा पारेँ । ससुराले खाएको जग्गा भने लिन सकिँन । उनी पनि मरे, सकियो ।

यो त भयो दमैसिंको रामकहानी । म दमैसिं प्रेमबहादुर नेगी लामा बनेँ । पछि चाहिँ गाउँकै कायापलट भयो । हाम्रो गाउँ ५० सालको बाढीले क्षतिग्रस्त बनेको थियो । गाउँमा ‘एनआरएमपी’ भन्ने संस्था सहयोगका लागि आएको थियो । त्यसबाट प्रौढ कक्षा चलायौँ ।

(कृष्णमुरारी भण्डारीको  पुस्तक "किनाराका मान्छे"बाट)