Saturday, 25th September, 2021
वि.स.
.-1624118193.jpg

दुर्लभ वनस्पति ‘भोटेलहरा’ खोजीको यात्रा संस्मरण
रघुराम पराजुली

Raghu-1627716909.jpg

‘भोटे लहरा’को खोजी सन्दर्भ
मकवानपुरमा दुर्लभ वनस्पति भोटे लहरा फेला परेको सन्दर्भमा यसको खोजी यात्राको चर्चा गर्ने जमर्को गरेको छु । नेपालमा अत्यन्तै दुर्लभ मानिएको ‘भोटे लहरा’का मकवानपुरमा हालसम्म आठ बोट फेला पारिएको छ । यसको संरक्षणको लागि सम्बन्धित सामुदायिक वन समूह र वडासँग सहकार्य गरिएको छ ।

जुन दिन विभागबाट सरुवा भई वनस्पति अनुसन्धान केन्द्र मकवानपुरमा हाजिर हुने कार्य भयो, सोही दिनदेखि नै मेरो मनमा उब्जिएको विषय थियो ‘भोटे लहरा’ । मकवानपुरमा धेरै वर्ष पहिले भोटे लहरा पाइएको रे ! तर हाल चाहिँ सो वनस्पति मकवानपुरमा भेटिएको छैन भनिन्छ, तसर्थ यसको खोजी गर्न सकियो भने त राम्रो नै हुने थियो भन्ने मनमा थियो ।

एकातिर उक्त वनस्पतिको खोजी पनि हुने अर्कोतर्फ वनस्पतिको क्षेत्रमा अध्ययनको नयाँ कार्य थपिने भन्ने थियो । केही दिनमा नै वनस्पति अनुसन्धान केन्द्रमा काम गर्ने अनुभवी कर्मचारीहरू, स्थानीय व्यक्तिहरूसँगको भेटघाटको क्रममासमेत मैले यो ‘भोटे लहरा’ भन्ने वनस्पति चिन्नुहुन्छ ? भन्दै इन्टरनेटका फोटाहरू देखाउँदै खोजी नीति गरिरहेको थिएँ । यत्तिकैमा उक्त वनस्पति धेरै वर्ष पहिले वृन्दावन वनस्पति उद्यान क्षेत्र आसपासबाट सङ्कलन गरिएको थियो भन्ने थाहा लागेपछि उद्यान परिसरमा पटक-पटक खोजी गरेँ चिन्न पनि सकिएन र भेटिएन पनि । तत् पश्चात् कार्यालयका कार्यक्रमहरूको कार्यान्वयनको सिलसिलामा मकवानपुर भित्रका विभिन्न स्थानहरूको भ्रमण गर्दा मेरो भित्री ध्यान भोटे लहरामा नै केन्द्रित हुने गरेको थियो । जसको कारण क्रमशः कार्यालयका साथीहरूलाई पनि शेयर गर्न थालेँ कि हामीले भोटे लहराको पहिचान गर्न सक्नुपर्दछ ।

यो हाम्रो सम्पत्ति हो, दुर्लभ वनस्पति हो । जसले पहिले फेला पार्न सक्छ होला उसलाई म व्यक्तिगतरूपमा रु एक हजार पुरस्कार नै दिलाउँछु भनेर हाम्रा अफिसका कर्मचारी तथा फिल्डका कृषक दाजु, भाइ, दिदी, बहिनीहरूमा आह्वान नै गरेको थिएँ । यसै क्रममा हामी मनहरी, लोथर फापरवारी, गढी, भैँसे, चुरियामाइ, भिमफेदीलगायतका क्षेत्रहरूमा पटक-पटक खोजी गरिरहेका थियौँ । म आफू कार्यालय प्रमुख भएको र कार्यालय प्रमुखले नै चासो दिएको हुनाले अन्य कर्मचारीहरू साथीहरूले पनि भोटे लहराको खोजीमा तत्परता देखाइ नै रहनुभएको थियो तर सफलता कहीँ कतै मिलेको थिएन ।

बिदाको दिनमा हेटौँडा आसपासका क्षेत्रमा म आफू एक्लै पनि भोटे लहरा कतै भेटी पो हाल्छ कि भनेर खोजीमा निस्किरहन्थेँ । तर निर्क्योल गर्न सकिरहेको थिइन । यत्तिकैमा यस पहिले भोटे लहराको खोजीमा संलग्न साथी मित्र पाठक जीसँग पटक पटक फोन सम्पर्क गर्थेँ अनि मेसेन्जरमा फोटाहरू पठाउँथे भोटे लहरा पो हो कि भनेर चिन्नुस् भनेर तर सफलता हात परेको थिएन । अनि मित्र जीले पनि भोटे लहराको खोजीमा म तातेरै लागेको बुझ्नु भए होला र सल्लाह दिनुभयो कि सर एक पटक तनहुँको ढोरवाराही क्षेत्रमा पुगेर यो भोटे लहरा चिन्नुस् अनि सजिलो होला सर चिन्न भन्नुभयो । मलाई सल्लाह ठिकै लाग्यो । मैले विभागका महानिर्देशक ज्यूसँग अनुमति लिएर दुई जना कर्मचारी साथी सहित त्यहाँ पुगेँ ।

मैले सोही क्रममा विश्व शान्ति जैविक विविधता उद्यान पोखरामा कार्यरत अधिकृत साथी धर्मराज कोइराला जीलाई पनि बोलाएको थिएँ । संयोगले ढोरबाराही क्षेत्रमा कोन सहितको भोटे लहरामाथि मेरा आँखा पर्न गए । पछि यसलाई भोटे लहरा नै भएको निर्क्योल गरियो । मकवानपुर फर्किँदै गर्दा अब त जुनसुकै तवरले मकवानपुरमा खोजी गरी फेला पार्नुपर्छ भन्ने अठोट जागेर आएको थियो र आत्मविश्वास पनि बढ्यो किनकि अब नचिन्ने समस्या पक्कै पनि रहँदैन भन्ने भयो । त्यस पश्चात् मैले कहिले साथीहरूसँग त कहिले एक्लै यसको खोजीमा जुटिरहेकै थिएँ तर फेला परिरहेको थिएन ।

काठमाडौँ जानुपर्ने थियो अनि हेटौडादेखि भिमफेदी हुँदै काठमाडौँ जाने सडक मर्मत कार्यको कारण म कान्ति लोकपथ हुँदै जाने विचार गरेँ । यो बाटो काठमाडौँ पहिलो पटक यात्रा गर्दै थिएँ । यात्रासँगै मनमा बाटोमा कतै दायाँ बायाँ भोटे लहरा त फेला पर्छ कि भन्ने पनि थियो । वि‍‍.स २०७८ साल वैशाख १४ गते मकवानपुरको बकैया गाउँपालिकाको वडा नं ११ मा पर्ने ठिंगन क्षेत्रमा संयोग नै भन्नुपर्छ सिमात पुलनिर पुगेपछि गाडी रोकेर म करिब दुई सय मिटर दुरीमा खोजी गर्दै थिएँ ठ्याक्कै भोटे लहराको कोनको झुप्पामा आँखा पुग्यो । नजिक गएँ नियालेँ सानो हाँगा लिगें अनि फोटाहरू खिचेँ, हर्ष विभोर थिएँ । पछि चालक साथीलाई बोलाएर देखाएँ । उहाँ पनि खुसी हुनु भयो । मेरा जीवनमा असाध्यै खुसीका पहलहरू केही होलान् ती मध्येको एक महत्त्वपूर्ण पहल यो पाएँ, निकै नै रमाएँ । विभाग जाँदै भएको हुनाले यसको साना नमुनाहरू हर्वेरियमको लागि साथै लगेँ र विभागमा महानिर्देशक ज्यू समक्ष ताजै भोटे लहरा नमुना देखाउने मौका समेत पाएँ । हुन त युद्ध नै जितेको त होइन तर पनि आफ्नो भित्री मनबाट पलाएको अठोट पूरा हुँदा म निकै निकै खुसी भएँ र यो खुसी धेरै साथीहरूलाई पनि बाँडे । सञ्चार माध्यमहरूमा पनि भोटे लहरा फेला परेको समाचारले राम्रै चर्चा पायो ।

तत्पश्चात् अफिसका अन्य साथीहरू लिएर भोटे लहराको थप बिरुवाको खोजी गर्ने तथा स्थानीय सरोकारवालाहरूसँग समन्वय गर्ने तय गरेँ । सोही अनुरूप बकैया गाउँपालिकाको वडा नं ११ का वडाध्यक्ष श्री गोपाल बहादुर नेसुर, सिउले सामुदायिक वनका अध्यक्ष श्री इन्द्र बहादुर स्याङ्गतान लगायतका स्थानीय व्यक्तिहरूसँग छलफल गरी भोटे लहरा भेटिएको क्षेत्र जहाँ यसका तीन वटा वोटहरु रहेका छन्, सो क्षेत्रको संरक्षणको लागि तारबार गर्ने र एक सूचनामूलक बोर्ड राख्ने कुरा मात्र भएन कि तुरुन्तै काम पनि गरियो । सोही अवसरमा मैले यी तीन बोट बाहेक अरू बोट फेला पार्ने व्यक्तिलाई रु एक हजार रुपैयाँ म व्यक्तिगत तवरले नै दिन्छु भनी उद्घोष गरेँ । केही दिनमा नै स्थानीय शेर बहादुर लो जीको फोन आयो र जानकारी भयो कि भोटे लहराका थप तीन बोट भेटिए । अनि निकै खुसी हुँदै भारी वर्षा, चिप्लो अनि हिलो बाटो, पुरानो गाडी, जुका आदिको कुनै वास्ता नै नगरी साथीहरूसहित फिल्डमा पुगियो र थप तीन बोट भोटे लहरा नै भएको पहिचान गरियो । यो सँगै भोटे लहराका बोट सङ्ख्या ६ पुग्यो ।

भोटे लहराको अहिलेको प्राकृतिक उपलब्धता भने केवल सङ्खुवासभा, तनहुँ र मकवानपुरमा मात्र रहेको कुरा पछिल्ला वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट थाहा लागेको छ । सबैभन्दा ताजा यसको प्राकृतिक उपलब्धता भनेको मकवानपुर रहेको छ ।

शेर बहादुर लो जीलाई प्रोत्साहन रकमा उपलब्ध गराउँदै गर्दा मलाई पुन उद्घोष गर्न आयो कि अब फलसहितको भोटे लहरा फेला पार्ने व्यक्तिलाई रु एक हजार प्रोत्साहन मिल्नेछ । त्यसको एक हप्ता पनि नबित्दै मलाई जानकारी आयो कि फलसहितको भोटे लहरा पनि फेला पर्‍यो । फलसहितको बोट फेला पार्ने व्यक्तिहरू स्थानीय कृष्ण लामा र पासाङ स्याङ्गतान हुनुहुन्छ । उहाँहरू दुवैले एकैसाथ फेला पार्नुभएको हुनाले दुवै जनाले संयुक्तरूपमा रु एक हजार प्रोत्साहन प्राप्त गर्ने कुरा बताइसकेको छु । म मौसम अलि ठिक होस् अनि आउँछु भनेको छु । यहाँनेर एक हजार रुपैयाँ कुनै ठूलो कुरा त होइन । यो सानो रकम हो तर मानिसहरूमा यसले जुन हिसाबले भोटे लहराका बोटहरूको खोजी गर्न उत्प्रेरणा जगायो, यो गहन विषय हो । उहाँहरूले महत्त्वपूर्ण वनस्पति भोटे लहराप्रति देखाउनुभएको सद्भाव नै ठूलो हो ।

भोटे लहरा परिचय
भोटे लहरा सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो । यसको सबै भन्दा ठूलो महत्त्व भनेको त नेपालमा यसको प्राकृतिक उपलब्धताको सुनिश्चित गर्नु नै हो । वनस्पति जगतको निटेसी (Gnetaceae) परिवारवारमा पर्ने Gnetum जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनहरूले देखाएका छन् । जसमध्ये नेपालमा पाइने प्रजाति Gnetummontanum हो । यसको स्थानीय नाम भोटे लहरा हो । यो दुर्लभ वनस्पतिको सूचीमा पर्दछ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि), २०७३ को पक्ष राष्ट्र भएको कारण यसको कार्यान्वयनको लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ । साइटिस महासन्धिमा रहेका तीन वटा अनुसूची मध्ये भोटे लहरा अनुसूची ३ मा पर्दछ ।

भोटे लहराको अहिलेको प्राकृतिक उपलब्धता भने केवल सङ्खुवासभा, तनहुँ र मकवानपुरमा मात्र रहेको कुरा पछिल्ला वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट थाहा लागेको छ । सबैभन्दा ताजा यसको प्राकृतिक उपलब्धता भनेको मकवानपुर रहेको छ । भोटे लहरा ढिलो बढ्ने सदाबहार वनस्पति हो । यो एक लहरा खालको वनस्पति हो । भाले र पोथी बिरुवा अलग-अलग हुने भएको कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवाहरू विस्तार नभएको हुन सक्छ । दम खोकीमा फल उपयोगी हुने अध्ययनहरूले देखाएका छन् । भने यसको लोकता बन्दुकको झोला बनाउन उपयोग हुने गरेको देखिन्छ ।

चीन, भारत, म्यानमार, थाइल्याण्ड कम्बोडिया जस्ता मुलुकहरूमा पनि यो वनस्पति पाइन्छ । यो वनस्पतिका पातहरू लामा, चौडा र हरिया हुन्छन् । काण्डमा गाँठा र अन्तरगाँठाहरु हुन्छन् । काण्ड पनि कडा खालको हुन्छ भने प्रजनन अङ्गकोरूपमा बाहिरबाट हेर्दा पिपलासँग पनि झुक्किन सकिने अनि झट्ट हेर्दा यार्सागुम्बाको जस्ता आकार भएका कोणहरू हुन्छन् । यसको काण्ड, पात तथा यसका कोणहरूबाट सहजै अरू वनस्पतिबाट छुट्टाउन सकिन्छ । भाले कोणहरू पोथी कोणभन्दा तुलनात्मकरूपमा छोटा हुन्छन् । परागसेचन हुन सक्यो भने पोथी कोनमा फल लाग्दछन् । यी फल पाक्दा राता पहेँला रङ्गका हुन्छन् । यस्ता फलहरू खाने पनि गरेको अध्ययनहरूले देखाएका छन् ।

राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाको अभिलेखअनुसार सन् १९६५ मा सबैभन्दा पहिले एम एल बेनर्जी नेतृत्वको टिमले पूर्वी नेपालको सिदुवा क्षेत्र आसपासबाट ‘भोटे लहरा’ सङ्कलन गरेका थिए । यसैगरी सन् १९६६ मा मकवानपुर वृन्दावन वनस्पति फार्म क्षेत्रबाट सङ्कलन भएको देखिन्छ भने बीचको अवधिमा रतुवाखोला, चुलाचुली, चितवन, संखुवासभाका विभिन्न स्थान र तनहुँबाट हर्वेरीयम सङ्कलन भएको देखिन्छ । यस अगाडि सङ्खुवासभाको नुम क्षेत्र, तनहुँको ढोरफिर्दी, ढोरबाराही मन्दिर क्षेत्रबाटसंकलन भएको अभिलेख जानकारीमा आएको छ ।

निष्कर्ष

धेरै वर्ष पहिले मकवानपुर जिल्लाबाट सङ्कलन भएको तर बीचको लामो अवधिसम्म यस वनस्पति प्राकृतिक अवस्थामा फेला नपर्नुले यो वनस्पति नेपालबाट नै हरायो कि भन्ने आशङ्का रहेकामा थोरै स्थानमा मात्र भए पनि यो वनस्पति फेला परेकोमा मकवानपुरमा पहिले फेला पारिएको भनिएको स्थानमा फेला नपरी नयाँ स्थानमा हालसम्म ८ वटा बोट फेला पर्नु पक्कै पनि उपलब्धिको विषय हो । यसबाट वानस्पतिक अध्ययन अनुसन्धानका कार्यहरूमा व्यापकता ल्याउनु आवश्यक रहेको स्पष्ट नै हुन्छ । भोटे लहरा जस्ता दुर्लभ एवं सङ्कटापन्न अरू थुप्रै वनस्पतिहरू हुन सक्छन् । यस्ता वनस्पतिहरूको पहिचान गरी वासस्थानको खोजी एवं संरक्षणमा तत्परता देखाइनु आवश्यक छ । सोही अनुरूपका नीति एवं कार्यक्रमहरूको समेत जरुरत छ । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले यसको प्रजनन विधिको अध्ययन कार्यलाईसमेत एक साथ अगाडि बढाउँदै छ।

लेखक वरिष्ठ वैज्ञानिक अधिकृत हुन् ।



jhamka-1624645162.jpg
ict-nepal-1625344508.gif
corona_ad-1626692113.gif
thah-COO-1587359073.png
balsram-1625416970.jpg
IMG_20210817_182710-1629204149.jpg
239373963_289010124458427-1629544843.jpg


thaha-ad1-1629699206.jpg

thaha-ad2-1629699300.jpg
thaha-ad3-1629699344.jpg
thaha-ad4-1629699560.jpg
thaha-ad5-1629699604.jpg