Dashai-Thaha-Nagar-1728205351.gif
Saturday, 12th October, 2024
वि.स.

मकवानपुरका सामुदायिक रेडियोका चुनौति र अबको बाटो

article-kashi-dai-1695556969.jpg

-शिवकुमार काशी

आम मानिसहरु आजभन्दा अढाइ दशकअघि सम्म रेडियो भनेकै रेडियो नेपाल मात्र हो भनेर चिन्दथे । २००७ सालमा बिराटनगरमा स्थापना भई सिंहदरबार काठमाडौँ सारिएको प्रजातान्त्रिक रेडियो नै अहिलेको रेडियो नेपाल हो । जसलाई हामीले सानो उमेरदेखि नै सुन्दै आइरहेका थियौँ, छौँ ।
तर, अढाई दशकअघि एउटा क्रमभंगता भयो ।

रेडियो नेपालको मात्रै आधिपात्य रहेको नेपाली रेडियो तरंगमा निजी क्षेत्रबाट पनि पहिलो पटक काठमाडौँमा रेडियो सगरमाथा खुल्यो र निजी क्षेत्रबाट पहिलोपटक नेपालीरेडियो तरंगमा आमजनताको स्वर बज्न थाल्यो । त्यसो त रेडियो नेपालमा कार्यक्रम चलाउन, कार्यक्रमभित्रको पात्र बन्न कि त निकै प्रतिभाशाली हुनुपथ्र्यो, कि त राजदरबारका मान्छे हुनुपथ्र्यो कि त सरकारका नजिक मान्छेहरु हुनुपथ्र्यो । यसरी २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहमार्फत पहिलोपटक रेडियो तरंगमा निजी क्षेत्रले चालेको पाइलाले थप सार्थकता पाउँदै गर्दा देशभर रेडियो खुल्ने अभियान सुरु भयो ।

रेडियोको इतिहाँस सम्झँदा मकवानपुरको हेटौँडाको नाम छुटाउन मिल्दैन । व्यवसायिक रुपमा पहिलोपटक मकवानपुरको हेटौँडास्थित मनकामना एफएम र पूर्वको कोशी एफएम निजी क्षेत्रका पहिलो व्यवसायिक रेडियोको रुपमा इतिहाँसमा दर्ज छ । यद्यपि आज हामी निजी क्षेत्रको रेडियोबारे यसरी खुला छलफल गरिरहँदा हेटौँडाको मनकामना एफएम बन्द भइसकेको छ । तत्कालीन नारायण अञ्चलमै हलचल ल्याएको मनकामना एफएम् बन्द भएपछि सुरु भएको रेडियो अभियानले अहिले मकवानपुरमा मात्रै रेडियोको संख्या १७ पुग्नै लागेको छ ।

मकवानपुरको पहिलो सामुदायिक रेडियो पालुङ हो । उत्तरी क्षेत्रको थाहानगरमा रहेको यो रेडियोको इतिहाँस निकै नै लामो छ । गाउँको एउटा अग्लो डाँडामा राखिएको माइक, एम्लीफायर र एउटा कोठा व्यवस्थापन गरी निर्माण गरिएको अस्थायी स्टुडियोको यात्राबाट अहिलेको आधुनिक रेडियोमा बिस्तार भएको रेडियो पालुङ मकवानपुरको सामुदायिक रेडियोको पिता नै मान्नुपर्छ ।

सामुदायिक रेडियो र व्यवसायिक रेडियोबीच फरक

आम मानिसहरुले रेडियो सेटमा सुन्ने गरेका सबै रेडियो स्टेशनलाई एकै रुपमा लिन्छन् । उनीहरुको उद्देश्य रेडियोबाट जानकारी, सूचना, शिक्षा, मनोरन्जन हासिल गर्नु हो । जुनसुकै रेडियो स्टेशनबाट ती कुराहरु प्राप्त गर्न सकिन्छ भन्ने आम पाठकको बुझाई छ । नेपालमा प्रचलित राष्टिूय प्रसारण ऐन २०४९ अन्तर्गत दर्ता भएका रेडियो स्टेशनहरु सरकारको दृष्टिकोणका हिसावले एकै हो भन्ने परिभाषा लाग्न सक्छ ।

तर, सारकुरा त्यसो होइन । निजी क्षेत्रको भनिएपनि गैरनाफामुखी ढंगले स्थापना गरिएका र समुदाय केन्द्रित रेडियोको रुपमा सामुदायिक रेडियोको परिभाषालाई हामीले भुल्नुहुँदैन । सामुदायिक रेडियोहरु नाफाको सिद्धान्तमा हुँदैनन्, उनीहरु आम समुदायको मुद्दा, सामान्य मानिसको रेडियोमा पहुँचबृद्धि, स्थानीय कृषि, पशु, शिक्षा र सामुदायिक विकासका सबालहरु समाचारका रुपमा, रेडियो कार्यक्रमका रुपमा, नाटकका रुपमा, जिंगलका रुपमा प्रसारण गरिरहन्छन् । अर्थात अझ सरल ढंगले भन्नुपर्दा सामुदायिक रेडियो बजार ९पुँजी० केन्द्रित हुँदैनन् ।

नाफा कमाउने उद्देश्य नरहेपछि बजारमा पुजीकेन्द्रित रहेर निर्माण गरिएको भद्दा रेडियो सामग्रीहरु प्रसारणमा यी रेडियोहरुले प्रसारणमा बन्देज लगाउन सक्छन् भने गाउँमा बाख्रा हराएको वा खोप अभियान चलाउने बिषयलाई प्राथमिकता दिन्छन् । त्यसैले निजी क्षेत्रभित्र पनि व्यवसायिक रेडियोभन्दा सामुदायिक रेडियोको महत्व यसरी बुझ्नुपर्दछ । त्यसैले सामुदायिक रेडियोका पत्रकार समाज, समुदाय, पछाडि पारिएका बर्गको अधिक रुपमा प्रतिनिधित्व गर्छन् भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।

मकवानपुरमा रेडियोको अबस्था
मकवानपुरको पहिलो सामुदायिक रेडियो पालुङ हो । उत्तरी क्षेत्रको थाहानगरमा रहेको यो रेडियोको इतिहाँस निकै नै लामो छ । गाउँको एउटा अग्लो डाँडामा राखिएको माइक, एम्लीफायर र एउटा कोठा व्यवस्थापन गरी निर्माण गरिएको अस्थायी स्टुडियोको यात्राबाट अहिलेको आधुनिक रेडियोमा बिस्तार भएको रेडियो पालुङ मकवानपुरको सामुदायिक रेडियोको पिता नै मान्नुपर्छ ।

बिहान उठ्ने बित्तिकै गाउँघरबाट संकलित समाचारलाई माइकमार्फत समाचार बाचकले सुनाउने र माइकमा सुनेको समाचार चियापसल,चौतारीहरुमा बिहानपख ध्यान दिएर सुनेर समुदायले फाइदा लिने त्यो मोडललाई ‘अडियो टावर’ भनिन्थ्यो । पालुङ बहुद्देश्यीय सहकारी संस्थाले अगुवाई गरेको त्यही अडियो टावरबाट सुरु भएको मकवानपुरको सामुदायिक रेडियोको यात्रा अहिले बृहद् बनेको छ ।

मकवानपुरमा अहिले रेडियो पालुङ, रेडियो मकवानपुर, रेडियो शक्ति एफएम, रेडियो मनहरी एफएम, रेडियो इन्द्रसरोबर, रेडियो निकास, रेडियो सन्देश र रेडियो झुरझुरे अस्तित्वमा छन् । यसो भनिरहँदा मकवानपुरमा रहेको सामुदायिक रेडियो हालसम्म बन्दको सूचिमा छैनन्, जसोतसो सञ्चालन भइरहेको खुसीको सञ्चार यहाँ प्रस्तुत गरिरहँदा व्यवसायिक रेडियोहरु मनकामना एफएम (हेटौँडा), नेशनल एफएम (हेटौँडा), रेडियो आवाज (पालुङ) र प्रतिध्वनी एफएम (पालुङ) पूर्ण रुपमा बन्द भइसकेको अबस्था छ ।

सामुदायिक रेडियोका समस्या

सामुदायिक रेडियो आफैमा समुदायको अगुवा रहेपनि यसले समाजबाट उचित साथ, सहयोग, सम्मान पाउन नसकेको अबस्था छ । त्यसका लागि सामुदायिक रेडियोहरु पनि जिम्मेवार छन् । उनीहरुले सामुदायिक भूमिका निर्बाह गर्ने सकेनन् कि रु बजारकेन्द्रित हावातिरै सामुदायिक रेडियोहरु बगे कि रु भन्ने प्रश्न हामीतिरै तेर्सिन्छ ।

यो प्रश्नको जायत जबाफ कामबाट हामीले दिन सकेनौँ भने हामी र समुदायको सम्बन्ध सकिन्छ र हामी अरु रेडियोभन्दा फरक हुन सक्दैनौँ । त्यसैले पहिलो कुरा त हामीले सामुदायिक आवाज बनाउन सक्यौ कि सकेनौ रु पछाडि पारिएका बर्ग, समाज, समुदाय, जाति, परिबेशको प्रतिनिधित्व हामीले गर्न सक्यौ कि सकेनौँ भनेर आफूलाई समिक्षा गरेर जानुपर्ने आवश्यकता छ ।

त्यसका अलावा पछिल्लो समय रेडियो सुन्ने स्रोताहरु घट्दै जानू, अनलाइन प्रविधिको विकास हुनु र हामी स्वयम् त्यो प्रविधिमा अभ्यस्त नहुनूले पनि सामुदायिक रेडियोहरुलाई चुनौति बढ्दो क्रममा छ ।

कोरोना संक्रमणपछि थिलो थिलो भएको बजारबाट सोचेजस्तो विज्ञापनहरु प्राप्त हुन नसक्नु, स्थानीय सरकारहरुबाट पनि उचित साथ र सहयोग नपाइनु लगायतका कारण रेडियोहरु आर्थिक संकटमा छन् । रेडियोमा काम गर्ने पत्रकारहरु पलायन भइरहेको अबस्था छ । उनीहरुको पेशागत
सुरक्षा एकातर्फ चुनौति बनिरहँदा आर्थिक सुरक्षाको सबाल पनि प्रखुख रुपमा आएको छ ।

अबको बाटो
अब सामुदायिक रेडियोहरुको एकता जरुरी छ । मकवानपुरमा रहेका ८ वटा सामुदायिक रेडियोको एकताले नै सामुदायिक रेडियोको अर्थ, औचित्य पुष्टि गर्नुपर्ने देखिन्छ । सामुदायिक रेडियोहरुको छाता संगठन केन्द्रीय रुपमा र प्रादेशिक रुपमा स्थापना भएपनि सामुदायिक रेडियोहरुले आर्थिक, भौतिक र सैद्धान्तिक रुपमा त्यसको पूर्ण रुपमा अनुभूत गर्न नपाएको तीतो सत्यलाई पनि हामीले नकार्नु हुन्न ।

यद्यपि, स्थानीय स्तरमै सामुदायिक रेडियो प्रसारक संघलाई मजबुत बनाए लैजाने, मकवानपुरका १० वटै स्थानीय तहसँग समन्वकारी भूमिका निर्बाह गरी सामुदायिक कार्यक्रमहरुको उत्पादन, प्रसारण, बिषय उठानलाई ध्यान दिने, उनीहरुबाट आर्थिक सहायता प्राप्त गर्ने कुरालाई अबको बाटो बनाएर अघि बढ्नुको बिकल्प छैन । अर्को तर्फ मकवानपुर बागमती प्रदेशको राजधानी भएको जिल्ला पनि हो ।

त्यसर्थ प्रदेश सरकारबाट प्राप्त हुने सहायतालाई यस संस्थाले अधिकतम रुपमा अपनाएर जानुपर्छ र त्यसको अगुवाई गर्नुपर्छ भन्ने कुरामा हामी दृढ भएर लाग्नुपर्छ । हेटौँडा जस्तो औद्योगिक क्षेत्र रहेको सहर, निजी क्षेत्रको समेत राम्रै आर्थिक कारोबार भएको सहर भएकाले निजी क्षेत्रलाई समेत अँगालेर जानुपर्ने अर्कोतर्फको पाटो छ । त्यसो भएमा रेडियो र सरकारहरुबीचको समन्वय, निजी क्षेत्रसँगको सहकार्यतालाई हामीले सहज बनाउन सक्छौँ ।