Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङमा ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र संचालन हुने

ज्येष्ठ नागरिकहरुमा एकान्तपन हटाई जीवनप्रति थप मोह, उत्साह र फुर्तिपना बढाउन दिवा सेवा केन्द्र संचालन हुने भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–२स्थित पाण्डुकेश्वर मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।

पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरीले पाण्डुकेश्वर मन्दिर परिसरमा दिवा सेवा केन्द्रका लागि भवन निर्माण शुरु गरिएको बताए । छोराछोरी, बुहारी, नातिनातिनीहरु आआफ्नै दैनिक काममा व्यस्त रहने र ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरु घरमा एक्लो जीवन विताउन बाध्य हुँदा ज्येष्ठ नागरिकहरुमा विभिन्न समस्या देखिएको भन्दै स्थानीय समाजसेवी अच्युत्तमप्रसाद ढकालले दिवा सेवा केन्द्र संचालनको अभियान शुरु गरेका हुन् ।

केन्द्रको भवन निर्माणका लागि अहिले व्यक्तिगतरुपमा सहयोग संकलन शुरु गरिएको छ । पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको लेखा समिति संयोजकसमेत रहेका ढकालले आफ्नो वर्षभरिको भत्तामा रकम थपेर दिवा सेवा केन्द्रको लागि ३५ हजार रुपैया हस्तान्तरण गरेका छन् ।

दिवा सेवा केन्द्र संचालनमा आएपछि स्थानीय क्षेत्रका ज्येष्ठ नागरिकहरु दिउँसोको समयमा केन्द्रमा आउने, सामूहिकरुपमा भोजन, भजन कीर्तन गर्नुका साथै आपसमा भलकुसारी गरेर दिन विताउने छन् । ज्येष्ठ नागरिकहरुका लागि वृद्धाश्रम निर्माण गर्दा छोराछोरीमा वृद्ध आमाबुबा प्रतिको दायित्व तथा अभिभारामा कमी आउने तथा सामाजिक विचलनको स्थिति आउने भएकोले वृद्धवृद्धाको आश्रय स्थलको रुपमा नभई भेटघाट स्थलको रुपमा दिवा सेवा केन्द्र स्थापना गर्न लागिएको पाण्डुकेश्वर क्षेत्र विकास समितिको भनाइ रहेको छ ।