nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

परिवर्तनकी "प्रतिमा"

प्रतिमा दोङ । मकवानपुर फाखेल गाविसमा जन्मिएकी एक किशोरी हुन् । उनी फाखेल गाविसको वडा नम्बर ५ पौवा गाउँमा बस्छिन् । आफ्ना पुराना यादका पानाहरु जो कोहीलाई उनी पढाउँछिन्, सुन्नेलाई सुनाउँछिन् । उनी अतित्का कुरा सम्झिदै भन्छिन्–‘मेरो दैनिकी नै वनपात थियो ।’ दुई चार जना आफ्ना घाँस दाउरा गर्ने दौतरी बाहेक उनको अन्त संगत नै थिएन । बाबु आमाको जोडबलले स्कूल त जान्थिन् तर पढ्न भनेपछि ज्वरो फुट्थ्यो । स्कूलको १०–४ बल्ल बल्ल कटाउँथिन् । उनलाई पढ्न भन्दा पनि वनपात नै मन पथ्र्यो । साथीसंगीसंग रमाइला कुरा गर्न, गित गाउँन, रुखमा सत्तिसाल खेल्न पाइने भएपछि उनी घरमा भन्दा बढि वनमा रमाउँथिन् । सकेसम्म स्कूल छल्थिन्, विहान वन जाँदा स्कूल जाने समय घर्क्याएर प्रतिमा दोङ मात्र घर आउँथिन् । बाबु आमालाई विभिन्न बहाना बनाएर स्कूल छलेरै छाड्थिन् । यसरी नै उनको कक्षा १० सम्मको दैनिकी चल्यो । १० कक्षामा फेल भएपछि उनलाई स्कूल जानै मन लागेन । स्कूल नै छोडिन । साथीभाइसंग खेल्ने, वनपात गर्ने, भन्छाको काम गर्न तिर नै उनको दैनिकी झाँङ्गिदै गयो । प्रतिमासंग घर छाडेर कतै जान आँट थिएन । नजिकैको पाटीचौर बजारमा किनमेल गर्न जान पनि साथी चाहिन्थ्यो । दुईजना जम्मा भको ठाउँमा बोली नै फुट्न गाह्रो हुन्थ्यो । ‘संसार भनेकै पौवा गाउँ, पाटीचौर बजार यति न होला ।’ यहि सम्झन्थे, प्रतिमाले भनिन् । 

पौवा गाउँकी प्रतिमाको दैनिकी अहिले धेरै परिवर्तन भइसकेको छ  । दोङ गाउँकै परिवर्तनिकी प्रतिमा बनेकी छिन् । अहिले गाउँमा उनलाई परिवर्तनकी संवाहक ठान्छन् । कठिन दैनिकीबाट गुज्रिएकी प्रतिमाको जो कोहीले पनि खुलेर प्रशंसा गर्छन् । परिवर्तन उनमा बाबुआमा र उनीबाट मात्र संभव भएन । नारीसीप सृजना केन्द्रले गाउँमा संचालन गरेको छलफल केन्द्र उनका लागि ‘ओखती’ सावित भयो । कुन कुरा ठीक, कुन कुरा बेठीक भनेर छुट्याउन सक्ने क्षमता कमी भएकी प्रतिमाको मानस्पटल पहिलेको तुलनामा ठ्याक्कै उल्टो भएको छ । १० कक्षामै पढ्न छोडेको सम्झँदै उनी पछुतो मान्छिन् । उनी गम्भीर हुँदै भन्छिन्–‘त्यत्ती बेला पढ्ने बुद्धि फिरेको भए म निकै अघि बढ्न सक्थे होला पढाई ठूलो कुरा रहेछ ।’ ‘अहिले व्यवहारिक र सामाजिक अभियानमा कमसेकम अघि बढेकै छु, यसैले मन सन्तोक पारेकी छु’–उनले भनिन् । छलफल केन्द्रमा सहभागी भएपछि प्रतिमा विभिन्न संरचनामा आवद्ध छिन् । फाखेल कृषि सहकारी संस्था लिमिटेडमा पनि प्रतिमा आवद्ध भएकी छिन् । गाउँकै महिलाहरुले संचालन गरेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रतिमा नियमित बचतकर्ता पनि हुन् । बचतको कुरा गर्ने वित्तिकै उनले भनिन्–‘महिनाको १० रुपियाँ बचत गर्नुपर्छ भन्थे, म भने त्यस्ले के हुन्छ र भनेर वास्तै गर्दिन थिए ।’ आफूमा आएको परिवर्तनको प्रसंग कोट्याउँदै भनिन्–‘महिनाको १० रुपियाँ नभएर होइन, महत्व नबुझेर बचत नगरेको रहेछु ।’ अहिले सहकारीमा थोरबहुत बचत पनि गरेको छु–प्रतिमाले भनिन् । प्रतिमालाई नेपालमा जन्मेपछि नागरिक भइहाल्यो नि भन्ने लाग्थ्यो, उनको त्यो धारणा पनि परिवर्तन भएको छ । फाखेलको भेटमा उनले आफूले नागरिकता बनाइसकेको सुनाइन् । उनले भनिन्–नागरिकता त निकै महत्वपूर्ण कुरा पो रहेछ, उमेर पुगेर पनि नबनाएकाहरुलाई आजभोलि सम्झाइदिने गरेको छु ।

गाउँघर सफा भए मात्र हामी स्वस्थ हुन्छौं भन्ने कुरामा प्रतिमा सहमत छिन् । फाखेलको प्रत्येक वडामा वडास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समिति गठन भएको छ । प्रतिमा वडा नम्बर ५ स्तरीय समितिको सचिव हुन् । प्रतिमासंग विभिन्न समिति र समूहको मायन्युट लेख्ने राम्रो दख्खल छ । आफू उपस्थित भएको भेलाहरुमा आफै माइन्युट लेख्न अघि सर्छिन्, सवालहरुमा घनिभूत छलफल गर्ने क्षमता उनमा पलाएको छ । प्रतिमा महिला जागरण छलफल केन्द्रको पनि सचिव हुन् । समाजमा केही परिवर्तन गरौं भन्ने अठोट लिएकी उनमा नकारात्मक सोच्ने बानी नै छैन । उनलाई गाउँमा हिँसा गरेको मन पर्दैन, कुदृष्टिले हेर्नेलाई पनि सम्झाए सुध्रिन्छन् भन्ने विश्वास लाग्छ । प्रतिमा प्रष्ट्याउँदै भन्छिन्–‘इज्जतमाथि दाग लगाउने हिसाबको व्यवहार भएकालाई मुलुकले हदैसम्मको कार्बाही गर्नुपर्छ ।’ फाखेलमा बाल विवाह बढ्यो भन्ने समाचारहरुले आफूलाई दुःखी तुल्याउने उनको भनाइ छ । सभा सम्मेलनमा बालबालिकाले मोबाइल प्रयोग गरेकै कारण बाल विवाह बढ्यो भनेर भाषण गर्नेलाई उनको सुझाव छ । उनले सुझाउँदै भनिन्–बालबालिकालाई सामाजिक संजाल नचलाउ भनेर गाली होइन बुझाउनु पर्छ, उनीहरुलाई अधिकार होइन कर्तव्य सिकाउनुपर्छ ।

ठीक सवालमा सही कुुरा गर्न पछि नपर्ने प्रतिमा, जीवनलाई नै परिवर्तनको मोडमा पु¥याउने छलफल केन्द्र नै आफ्नो विद्यालय भएको सुनाउँछिन् । ‘विद्या बाँडे घट्दैन, झन बढ्छ ।’ उनले भनिन्–‘नारी सीप श्रृजना केन्द्रले ल्याएको परिवर्तन मेटिदै मेटिदैन, बरु फैलिन्छ ।’

(प्रतिमा दोङसंगको कुराकानीमा आधारित)
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।