sankalpa-1664788877.jpg
Tuesday, 4th October, 2022
वि.स.
PACO20790614-1664550304.jpg

पद्मसम्भव र दामन कनेक्सन 
कुमार नेगी

bhutan-padmasambhav-2-102-1661147129.jpg

पद्मसम्भव को हुन् ?
बौद्ध धर्मअनुसार जीवहरूको जन्म चार प्रकारले हुन्छ । यही मान्यताअनुसार गर्भबाट जन्मने, अण्डाबाट जन्मने, पसिनाबाट जन्मने र अलौकिक रूपमा प्रकट हुने हुन्छ । जसमध्ये पद्मसम्भव मातापिताको समायोगविनै उपपादुकरूपमा अर्थात् अलौकिक रूपबाट जन्मिएको विश्वास गरिन्छ । तिनै अलौकिक चामत्कारिक बालकलाई नै पद्मसम्भव भन्ने गरेको पाइन्छ । उनको जन्म आठौं शताब्दी अर्थात् सन्  ७१७ मा भएको मानिन्छ ।
पाकिस्तानमा पर्ने स्वाट उपत्यकालाई प्राचीनकालमा उड्डियान वा ओर्गेन (उर्गेन) भनिन्थ्यो । त्यहाँका राजा इन्द्रभूतिको राज्य निकै सम्पन्न थियो । जति उनको राज्यमा धनसम्पत्ति थियो, त्योभन्दा पनि विशाल उनको दान दिन आनन्द मान्ने र दानलाई नै राजाको धर्म ठान्ने खुला र उदारवादी मन थियो । फलस्वरूप उनले राज्यमा भएका सबै धनसम्पत्ति गरिबदुःखीलाई बाँडेर सकेका थिए । राज्यको कोष सबै बाँडेर सकिएकाले उनलाई ठूलो आपत् पर्योे। उनलाई धनसम्पत्ति सकियो भनेर चिन्ता पर्नुभन्दा पनि अब राज्यका गरिबदुःखी जनता माग्न आउँदा म के दिउँला ? खाली हात कसरी पठाउँला भन्ने चिन्ताले सताएको थियो ।

पद्मसम्भव यतिसम्म दानप्रेमी थिए कि आफ्नो आँखासम्म पनि अरूको हितार्थ दान दिएका थिए । उनका पुत्र एवं उत्तराधिकारीको मृत्यु हुँदाखेरि उनलाई असह्य पीडा भयो। राज्यमा खडेरी परेकाले अनिकाल पैmलिएर हाहाकार मच्चियो। मानिसहरू अन्न र फलफूल काँचै खान बाध्य भए । राज्यमा बाँकी भएको धनसम्पत्ति चढाएर राजा र प्रजाहरूले बुद्धहरूको प्रार्थना गरे । करुणाका प्रतिमूर्ति अवलोकितेश्वरले यो सबै कुरा सुखावती भुवनमा अमिताभलाई ती जनताको दुःखप्रति करुणायुक्त दृष्टि पुर्या उन  अनुरोध गरे ।

तत्कालै अमिताभ बुद्धको जिब्रोबाट एक रातो प्रकाश निस्कियो । त्यो किरण उल्काझैं खसेर तल धनकोष सरोवरको बीचमा पस्यो । जहाँबाट स्वतस्फूर्तरूपले एक कमलको फूल फुल्यो । त्योसँगै उनले आफ्नो हृदयबाट एकाक्षरी मन्त्र ‘ह्री’ प्रकट गरे । त्यो अक्षर एक स्वर्ण वज्रको आकृतिमा कमलको बीच भागमा प्रकट भयो । सबै बुद्धको सार समाहित भएको त्यो एक आठ वर्षको जत्रो बालक विराजमान भएको देखियो । उक्त बालकलाई डाकिनी (देवी) हरूले घेरिराखे ।

यसरी अत्यन्तै करुणामयी बुद्धको हृदयबाट पद्मसम्भव गुरुको प्राणीहरूको कल्याणार्थ यस लोकमा पदार्पण भयो । यसैक्रममा शोकमा डुबेका राजा इन्द्रभूतिले समुद्रमा पुगेर त्यहाँबाट बहुमूल्य रत्नहरू र नागको मणि लिएर आउने अठोट गरे। अत्यन्तै जोखिमपूर्ण यात्रा गरी त्यहाँ पुगे। त्यहाँ नागहरूले विभिन्न बहुमूल्य रत्नहरू चढाएर राजाको स्वागत गरे । त्यहाँबाट उनले कल्पचिन्तामणि रत्न आदि बहुमूल्य कुराहरू प्राप्त गरे। यसलाई उनले आफ्नो कपडाभित्र लुकाएर एक प्रणिधान गरे । उनको देख्न नसक्ने भएको बायाँ आँखा तुरुन्तै खुल्यो । नागहरूको दरबारबाट फर्किसकेपछि राजाले धनकोष सरोवर वरिपरि इन्द्रेणी लागिरहेको देखे । त्यहाँ एउटा बालकलाई कमलको फूलको आसनमा बसिरहेको देखे । बालकको शरीरबाट रश्मी आइरहेको थियो । यो सपना त होइन ? भन्ने लागेर बालकलाई प्रश्न सोधे– ‘तिमी को हौ ? कहाँबाट आएका हौ ?

शरीर धान्न पद्मसम्भव मृतकहरूलाई चढाउन ल्याएका खानेकुरा समेत खान्थे । शरीर छोप्न लासहरूका कात्रो प्रयोग गर्थे । मसानमा धेरै वर्ष ध्यान गरेपछि पद्मसम्भव आकाशमा उडेर विभिन्न लोकधातुमा जान्थे । ती ठाउँहरूमा गएर गुह्य उपदेशहरूका लागि अनुरोध गर्थे ।

बालकले जबाफ दिए, ‘मेरा माता पिता छैनन् । तर, म बुद्ध अमिताभ र बोधिसत्व अवलोकितेश्वरको उपज हुँ । बुद्धले भविष्यवाणी गरेअनुसार नै म सर्वसत्व हितार्थ र गुह्य मन्त्रको धर्म प्रकट गर्न आएको हुँ ।’ यस्तो सुनेपछि राजकुमारलाई जस्तै गरी उत्तराधिकारी बनाई पद्मसम्भव (पेमाजुङ्ने) भन्ने नामकरण गरेर सिंहासनमा राखिदिए । पद्म (कमल) को फूलमा पैदा भएको हुनाले पद्मसम्भव नाम दिइएको थियो । त्यसपछि उड्डियान भूमिको समुद्रमा वाष्पीकरण भई आकाशमा बादल बन्यो र वर्षा भयो । फूलहरू फुल्न थाले र फलहरू पाक्न थाले (मुकेश लामा अनुदित पद्मसम्भवको जीवनी : सन् २००२)।

तत्पश्चात् जनताको मनबाट सबै नैराश्यता र भय हटेर गयो । पद्मसम्भव वयस्क हुँदा राजा बूढो भइसकेका थिए । राजाले पद्मसम्भवको विवाह सिंहलकी एउटी सुन्दर राजकुमारीसँग गरिदिए । त्यसपछि उड्डियानको राजा पद्मराज (पद्म ग्याल्पो) बनाइदिए । अति गोप्यरूपमा राजाले पद्मसम्भवलाई आफूसँग भएको चिन्तामणि रत्न उपहार दिए । उनले भने, ‘यसले तिम्रा इच्छाहरू पूरा गर्ने छन् ।’
राजकुमारले त्यो चिन्तामणि रत्न फिर्ता दिँदै भनेका थिए, ‘मैले देख्ने सबै चीज मेरा चिन्तामणि रत्नहरू हुन् ।’ राजालाई आफ्नो हात खोली अगाडि पैmलाउन आग्रह गरे र तत्क्षणमै उनले हातमा अर्को चिन्तामणि रत्न उत्पन्न गरिदिए । पद्मसम्भवसँग त्यति धेरै शक्ति भए पनि उनले सांंसारिक भोगविलास त्यागेर मोक्षको बाटोमा लाग्ने निर्णय गरे ।

उनले भनेका थिए, ‘जीवन क्षणिक छ, संंसारको चर्या अनन्त छ र बिछोड अपरिहार्य छ । यो त लोकको रीत मात्र हो । त्यसैले म मोक्ष प्राप्ति गर्नेतर्फ आफ्नो मति स्थिर गर्छु । पद्मसम्भवको पूर्वजन्मको केही कुकर्मको फलका कारण उनलाई मन्त्रीका पत्नी र असुर पुत्रको हत्या गरेको ठहर गरे । धन सम्पत्ति केही नदिइकन निर्वासित पनि गरिदिए । त्यसपछि उनले स्वतन्त्रतापूर्वक एक योगीको जीवन अँगाले (न्याङराल न्यिमा होसेरको काथाङ् साङ्लिङ्मा : सन् १९८७)।

अभ्यासको क्रममा भारतका आठ प्रख्यात मसानहरूमा घुम्दै पद्मसम्भवले धैर्यका साथ अभ्यास गरे । त्यसपछि उनी बोधगयाको नजिकै रहेको शीतवन मसानमा गए । लासहरूलाई आसन बनाई त्यसमाथि बसेर अति गम्भीर समाधिमा प्रवेश गरे र पाँच वर्षसम्म ध्यान गरेर बसे । शान्त स्वभावका डाकिनीहरू उनीकहाँ आउँथे । धेरै अभिषेक तथा मौखिक उपदेशहरू दिएर जान्थे ।

पद्मसम्भव बोधगयामा गएका थिए । उनले आफ्नो शरीरबाट धेरै निर्माणकार्य निकालेर बहुसंख्यक योगीहरूको समूह देखाए । त्यो दृश्य हेर्ने भीडका सबै आश्चर्यचकित भए । जब मानिसहरूले पद्मसम्भवलाई तपाईं को हुनुहुन्छ ? कुन गुरुको अनुयायी हुनुहुन्छ ? भनी सोधे। तब पद्मसम्भवले यस्तो जवाफ दिए, ‘मेरा गुरु छैनन् । म स्वयंं उत्पन्न बुद्ध हुँ।’ आउँदो पिँढीका लागि धार्मिक मार्गदर्शनको खाँचो पर्नेछ भन्ने अनुभव गरी उनले आफूलाई काय, वाक र चित्तका तीन योगहरूमा अभ्यस्त पारे। मनुष्य र अमानुष दुवै लोकका गुरुहरूसित अध्ययन गरिरहे। किनकि उनी धर्मलाई प्रभावकारी बनाउन चाहन्थे । पद्मावतीको देशमा पुगेर उनले भैषज्यविद्या पूर्णरूपले सिके । उनले रोग निदान र असंख्य उपचार विधिहरू पनि सिके (उर्गेन लिङ्पाको पेमाकाथाङ : सन् १९८७) ।

रगल भूमिमा उनले सर्वमित्र नाम गरेको पुरुषबाट देवभाषा संस्कृत र अरू भाषाहरू गरी जम्मा ३ सय ६० भाषा र ६४ वटा लिपि सिके । त्यसपछि उनले शिल्पविद्या र मृक्तिका शास्त्र पूर्णरूपले सिके। सबै कलामा निपुण भए। यति मात्र नभएर उनी सम्पूर्ण ज्योतिषविद्या, दर्शनशास्त्र, तर्कशास्त्रजस्ता भौतिक विषयहरू र सबै अरू लोकधातुका संंयुक्त ज्ञानका बारेमा ज्ञाता भए। डाकिनीहरूबाट पनि पद्मसम्भवले ज्ञान लिएको पाइन्छ । डाकिनीले विजय प्राप्त गर्न समर्थ बनाइदिइन् । उनी गुह्य मन्त्रका पनि स्वामी बने। त्यसपछि उनले दुष्करचर्या अभ्यास गरेर दिव्यदृष्टि, दिव्य श्रोत्र, दिव्य घ्राण, दिव्य जिव्हाका ऋद्धिहरू प्राप्त गरे । दुष्कर चर्या (कठोर तपस्या) ले नै उनलाई प्राणायाम (श्वासप्रश्वास नियन्त्रण)मा विकास गर्न मद्दत गर्यो । फलस्वरूप उनले चण्डाली अभ्यासमा निपुणता प्राप्त गरे ।

पद्मसम्भवको नेपाल यात्रा 
पद्मसम्भव दक्षिण भारत, श्रीलंका, इन्डोनिसिया, बर्मा, मध्यएसिया, चीनका केही प्रान्त, रुस, अफगानिस्तान, पर्सिया, इजिप्ट र अरू विभिन्न भूमि पुगे । जहाँ उनले भयंकर पहाडका देवताहरू, असभ्य जंगली मांशाहारी प्रेत पिशाचहरू र महामारी पैmलाउने राक्षसहरूलाई दमन गरे । यसैक्रममा उनी नेपाल आएका थिए ।

पद्मसम्भवले नेपालको पूर्वी भागमा पर्ने हलेसी मरतिका गुफामा दीर्घायु साधना गरेका थिए । काठमाडौं आउँदा त्यसबेला यहाँ अनेक प्राकृतिक प्रकोप भूकम्प, आँधीबेहरी आदि घटनाले भूमिलाई अस्तव्यस्त परिराखेको थियो । यसले गर्दा पशुपालन र अन्नबाली दुवैलाई क्षति भइराखेको थियो ।

पद्मसम्भव फर्पिङको याङ्लेसो गुफामा ध्यान गर्दागर्दै उनले वज्रकिल (दोर्जे फुर्वा) को भयंकर क्रोधी रूप धारण गरे । प्रतिकूल शक्तिहरूलाई नेपालमा धर्मको रक्षा गर्न प्रतिबद्ध गराए । आध्यात्मिक चर्याबाट पद्मसम्भवले भ्रान्तिका आवरणयुक्त शक्तिहरूलाई शान्तिपूर्ण जीवनको प्रवाहमा परिवर्तन गरिदिए ।

पद्मसम्भवले आफ्नो जीवनमा बुद्ध धर्मका पाँच ओटा मूर्ति स्थापना गरेका थिए । यीमध्ये नेपालमा दुई ओटा छन् । सोलु दुधकुण्ड नगरपालिका–२ को जुनबेसीको टासी थोङ्मोन गुम्बामा र मुस्ताङको घरपझोङ गाउँपालिकामा वडा नं ५ ढुम्बाको कुछाप तेरङ गुम्बामा रहेको मूर्ति यिनले स्थापना गरेका हुन् ।

पद्मसम्भवको नाम दक्षिणकाली नगरपालिकाको शेषनारायण र असुर गुफासँग पनि जोडिएको छ । शेषनारायणको गुफामा पद्सम्भवले तपस्या गरेका थिए । त्यस गुफामा दुई हातले समाउने र शिर अड्याउने निशान अहिले पनि छ । त्यहीं नजिकै वज्र र शङ्ख पनि रहेको छ। त्यसै स्थानबाट असुरा गुफामा निस्कने सुरुङ मार्ग पनि छ । यो सुरुङ अहिले टालेर सानो दुलो मात्र राखिएको छ । त्यसैगरी फर्पिङको असुर गुफामा पनि उनले तपस्या गरेका थिए । त्यस स्थानमा उनको हर्थुङ्गाको निशान छ । यस स्थानमा तपस्या गर्दा एउटा नागले तपस्यामा बाधा पारेको थियो । त्यस नागको बाधा हटाउन उनले वज्रकिला प्रहार गरेका थिए । त्यो वज्र किला अहिले पनि फर्पिङमा छ । अहिले फर्पिङमा रहेको वज्रयोगिनीको मन्दिर पनि यिनीसँग नै सम्बन्धित छ । यसको स्थापना पनि यिनैबाट भएको हो । त्यसैगरी काठमाडौं उपत्यकामा दुष्ट आत्माको प्रभावले हरेक दिन एक बालक हराउने गरेको थियो । यस स्थितिबाट उपत्यकावासीलाई मुक्ति दिन पद्मसम्भवले तान्त्रिक विधिको प्रयोग गरी दुष्ट आत्मालाई पराजय गरी वशीकरण गरेका थिए।

काभ्रे जिल्लाको तेमालको यारिनाग गुफा पनि यिनकै नामसँग जोडिएको छ । यहाँको गुफामा तपस्या गर्दा उनले यहाँका बासिन्दालाई दुःखकष्ट दिने कालो यक्षलाई दमन गरे । आफ्नो शत्रु नाश भएपछि यहाँका बासिन्दाले बौद्धधर्म स्वीकार गरी जयजयकार गरे । यहाँ पद्मसम्भवले बुद्धचित्त माला फल्ने वरदान दिनुभयो । त्यसैले यहाँ बुद्धचित्त माला पाइन्छ। यस ठाउँमा पद्मसम्भवले प्रयोग गरी छाडेका घण्टी, ढयाङ्ग्रो, बज्र, शङ्ख, किताब र गुरुको दाहिने गोडाको जुत्ताको छाप अझै देखिन्छ ।

खोटाङको हलेसी महादेवको गुफासँग पनि पद्मसम्भवको नाम जोडिएको छ । हलेसीको महादेव गुफामा यिनले तपस्या गरी अभितायुष बुद्धको साक्षात् दर्शन गरेका थिए । उनले त्यहाँ नकारात्मक ऊर्जा भएका यक्षहरूलाई पराजित गरेको किंवदन्ती छ । 

पद्मसम्भवको दामन कनेक्सन
ईसाको आठौं शताब्दीमा तिब्बतमा स्रङचङ गम्पो (राजा ठ्रिसोङ देहु चेन)को शासन थियो । उनी तिब्बतको तेत्तिसौं राजा थिए । त्यस समय तिब्बतमा बोन्पो धर्म प्रचलित थियो । स्रङचङ गम्पोले आफूलाई बौद्धमार्गीका रूपमा चिनाउन नेपाली चेली भृकुटीसँग विवाह गरेका थिए । भृकुटीले बौद्ध धर्मको प्रचार तिब्बतमा गरेकी थिइन् । भृकुटीबाट प्रभावित स्रङचङ गम्पोले बौद्ध धर्मको रक्षा र प्रचार प्रसार गर्न पद्मसम्भवलाई ७४७ मा तिब्बतमा बोलाए ।  त्यस समय तिब्बतमा सैतानहरूले दुःख दिएका थिए । तिनीहरूले त्यहाँ गुम्बा निर्माणमा बाधा उत्पन्न गराएका थिए । उनीहरूको सैतानी कार्यले बौद्ध मठ भत्कने गर्दथ्यो ।

तिव्वती राजाबाट निम्तो आएपछि त्यहाँका सैतानहरुलाई तह लगाउन पद्मसम्भवलाई अझ शक्ति सञ्चय गर्नुपर्ने भयो । यसको लागि तिव्वत प्रस्थान गर्नुअघि उनले नेपालका पहाडका गुफाहरुमा बसेर साधना गरे । नेपालमा उनले करिब ८ वर्ष साधना गरे । यस क्रममा उनी व्योमकुट पर्वत हालको दामन–सीमभञ्ज्याङको जङ्गलमा आइपुगेका थिए । यहाँको रसुवा र तिव्वततिर फर्किएको एक ओडार(गुफा)मा बसेर यिनले साधना गरे ।  पछि यिनी रसुवाकै नाका भएर तिव्वत गएका थिए ।

यात्रा गर्ने क्रममा जहाँजहाँ यिनले योग साधनाले तपस्या गरे त्यहाँ त्यहाँका गुफाहरूमा विभिन्न निधिहरू सञ्चित गरेको किंवदन्ती छ ।  दामनको गुफामा साधना गर्दा पद्मसम्भवले गुफाको ढुङ्गामा आफ्नो अनुहार उतारेका थिए । उक्त अनुहार अहिले पनि छँदैछ । प्राणीहरुको तिर्खा मेटाउन यिनले आफूले साधना गरेको गुफानजिकै ढुङ्गामा बज्र प्रहार गरेर पानी निकाले । ढुंगाको कन्दराबाट निकालिएको मूल अहिले पनि छ  त्यहाँ कुवा बनाइएको छ ।

पद्मसम्भव जुनजुन ठाउँमा बसे त्यसत्यस ठाउँमा तन्त्रविद्याबाट उनले केही न केही छाडेका छन् । त्यसैले बौद्ध धर्मावलम्बी अझ वज्रयान सम्प्रदाय पद्मसम्भवले तपस्या गरेको गुफालाई पवित्रस्थल मानी धार्मिक भ्रमण गर्न रुचाउँछन्। दामनको महत्व पनि यसैमा छ ।

तिब्बत पुगेर पद्मसम्भवले आफ्ना तन्त्रमन्त्रको साधनाबाट ती सैतानलाई नियन्त्रणमा लिए । त्यहाँ उनले बौद्ध मठ निर्माण कार्य नसकेसम्म अर्थात् ७४९ सम्म रहेर रेखदेख गरे । यसरी उनले बौद्ध धर्ममा तन्त्रमन्त्रको प्रयोग गरे । त्यही क्रममा यिनले नेपालमा आफूले साधना गरेका स्थानहरुको बारेमा तिब्बतमा चर्चा गरे । यसरी चर्चा गर्ने क्रममा यिनले दामनमा तपस्या गरेको गुफालाई सम्भोट लिपिमा छुमी झयाङ्छुप भनी लिपिवद्ध गराए । अहिले तिब्बती तथा बौद्धमार्गीहरु ऋषेश्वरलाई छुमी झ्याङ्छुपकै रुपमा सम्झेर आउँछन् । ऋषेश्वर आउने बौद्धमार्गीहरुले ढुंगाको कापबाट निस्केको पानी लिएर जानुको कारण पनि पद्मसम्भव कनेक्शन नै हो । 

श्रोत :

-उर्गेन लिङ्पाको पेमाकाथाङ : सन् १९८७ 

-न्याङराल न्यिमा होसेरको काथाङ् साङ्लिङ्मा : सन् १९८७

-गुरु पद्म सम्भवका जीवनी पद्म कथाङ

-नेगी बिष्ट, रोशन लाल, अनुवादक (२००६) अंतराभाव श्रुतविमुक्ति, आर्य पब्लिशिंग हाउस, नई दिल्ली

-लोजाङ ठिन्ले, तुङ्कार (२००२) तुङ्कार छिग्जो छेमो, टुङ् गोङ बोरिग पेटुन खाङ

-सूर्य घिसिङको लेख

-आचार्य सार्की शेर्पाको लेख

-ऋषेश्वर गुम्बाका स्व. ऋग्जेन लामासँगको कुराकानी