Sunday, 11th April, 2021
वि.स.

नर्सको सम्झनामा त्यो गाउँको दशैं, यो शहरको दशैं
सर्वदा अधिकारी

SA-Photo-1476245429.jpg

परालको टौवामुनि नाम्लोको पिङ हालेर मच्चिनुको मज्जा म आधुनिक युगको लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिनँ । दशैं आएपछि घरमै खसी काटेर मासुमा झोल हालेर खाएको स्वाद म अहिलेको दैनिक सहज हुने मटनमा पाउन सक्दिनँ ।

गाउँघरमा कोइलीको कुहु कुहुमा रमाउने यो मन अहिले भेन्टीलेटरको टुटुमा बानी परेको छ । दशैं आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँ घरमा ।

दाइ काठमाण्डौंमा बस्नुहुन्थ्यो, लाग्थ्यो दशैंमा दाइ घर आउँदा कस्तो लुगा ल्याइदिनु हुन्छ ? दाइ आउने दिन गन्दाको मज्जा नै बेग्लै हुन्थ्यो त्यसबेला ।
बाबा ममीका आँखा छलेर गाउँ भरिका साथीहरु भेला भई घर पछाडि लगाएको पिङ्ग खेल्दा रात परेको पत्तो नै हुँदैनथ्यो ।

उता पल्लो घरमा खसी काटेर रक्ति खान बोलाउँदा खुसीले मन प्रफुल्ल हुन्थ्यो ।

दशै आएसँगै गाउँ र घर वरपरको सरसफाइ एवं बाटोघाटो मर्मत गर्ने, रातो र सेतो कमेरोले घर लिप्ने जस्ता काम हुने हुँदा त्यस समयमा सबैजना व्यस्त हुन्थ्यौं ।
दशैंका बेलामा छरछिमेकमा प्रतिस्पर्धा नै चल्थ्यो, कसको घर राम्रो र सुन्दर बनाउने भनेर ।

साँझमा गाउँ घर डुल्ने त ममात्रै हुदैनथें । साझँ परेपछि पानी लिन जाँदा गल्ली छेउमा रुखको हाँगामा डोरीले बाँधेर हालेको पिङ्गमा घण्टौं हराएका क्षणहरु मानसपटलमा अहिले पनि ताजै छन् ।

अझ विजयादशमीको दिन आफन्तका घरघरमा टीका थाप्न जादाँ काटेका एक-एक टुक्रा केरा र मेवा खाँदै घर आएर पैसा गन्दाको मजा Û र, त्यो आनन्द अहिले मासिक थापिने तलबबाट कदापि पाउन सकिँदैन ।

उसबेला टीका थापेर लिइने आशिर्वादको खासै महत्व थाहा थिएन । आर्शिवाद भन्दा पनि नयाँ लुगा, र टीकापछि पाइने दक्षिणा अनि विद्यालयले दिने छुट्टी बढी नै प्राथमिकतामा पर्थे ।

टीका लगाएर सबैले दक्षिणा दिन्छन् । र माइजूले बनाएको खसीको सुकुटी मीठो हुन्छ भनेर रमाउँदै थकानको महसुससम्म नगरी घण्टौं हिँडेर मामाघर गइन्थ्यो ।
चाहे घर होस् या मामाघर, सानालाई दिने दक्षिणा सबैको भन्दा कम नै हुन्थ्यो । अरु आर्शिवादका लागि जाने गर्थे, तर आफु सानै भएर पनि होला, बढी दक्षिणाकै चासो र चिन्ता हुन्थ्यो । त्यति हुदाँ हुदै पनि सबैभन्दा थोरै दक्षिणा पाउदाँ मन सारै भारी भएर आउँथ्यो अनि लाग्थ्यो, कहिले ठुली भएर धेरै दक्षिणा लिनु ?

आहा ! त्यो बालापनको दशैं ! त्यो गाउँ घरको दशैं ! अनि त्यति नै रमाइलो दशै !

हुन त आजकाल पनि दशैं नआउने हैन । तर, आजकालको दशैंमा त्यो खुसी भेट्टाउन सक्दिनँ म । अहिलेको दशैं, त्यो दशैंभन्दा बिल्कुल फरक लाग्छ । समय, उमेर र साथीहरु उही रहेनन् । यससँगै आफ्ना खुसीहरु पनि उही रहन सकेनन् अब ।

सायद यो परिवर्तन मेरो मात्रै अवश्य नै हैन । पक्कै पनि यहाँहरुको दशैंमा पनि केही न केही परिवर्तन आएको हुनुपर्छ । मेरो अनुभवमा यो शहरको दशैं गाउँको दशैंभन्दा विल्कुल फरक छ ।

दशैं आयो भन्नासाथ अस्पतालका ईन्चार्जहरुमा नर्सहरुको काम गर्ने समय तालिका बनाउने विषय फलामको च्युुरा चपाउनुजस्तै हुन्छ । यता अस्पतालमा कार्यरत हामीजस्ता नर्सहरुलाई छुट्टी पाइएला कि नपाइएला भन्ने ठूलो चिन्ता हुन्छ । गाउँ जाने टिकट पाउनै सास्ती, पाए पनि सुरक्षितरुपमा घर पुगिएला या नपुगिएला भन्ने ठूलो चिन्ता ।

यो चिन्तै चिन्ताको दशैं भन्दा त त्यो वालापनको निश्चिन्त दशैं कयाैं गुणा वेश । तर, के गर्नु ? बगेको खोला फर्कँदैन । र, गएको उमेर पनि फर्कँदैन । समयले जहाँ पुर्‍यायो, त्यही पुग्नुपर्ने वाध्यता त मेरो मात्रै नभई सबैको उस्तै होला ।

त्यसैले जहाँ, जो जसरी रहे पनि त्यही परिवेशअनुसार खुसीका साथ दशैं मनाउनुस् । सबैलाई शुभकामना !

(सर्वदा कान्ति बाल अस्पतालकी स्टाफ नर्स हुन्)

-अनलाइनबाट साभार