Monday, 24th August, 2026
वि.स.

नगर प्रमुख विष्टको चिन्ताः तरकारीको व्यवस्थापन गर्न अन्तरपालिका बजारिकरणको पहल 

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा उत्पादन भएको तरकारले अहिले बजार पाउन मुस्किल भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बजारसम्म सहजै तरकारी पु¥याउन नसकेपछि यहाँका किसानहरु मर्कामा परेका छन् । लकडाउनका कारण थाहानगरको पर्यटन क्षेत्र त शुन्य नै छ, किसानको उत्पादनले पनि बजार नपाउँदा नगरका दुवै मुख्य आर्थिक ढोका प्रायः बन्द छ । ५० हजारभन्दा बढि जनसंख्या रहेको थाहानगरका बसिन्दाको मुख्य आम्दानीको स्रोत कृषि नै भएको नगरपाकिाले जनाएको छ । 

नगरका आफ्ना किसानले उत्पादन गरेको तरकारीले बजार नपाउने भएपछि बजार व्यवस्थापन गर्नको लागि नगर प्रमुख लवशेर विष्ट लागि परेका छन् । नगर प्रमुख विष्टले बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई समेत यस विषयमा जानकारी गराएको बताए । 

तरकारीको बजारका लागि नगर प्रमुखको दौडधुप

नगरका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि नगर प्रमुख लवशेर विष्ट यसका लागि दौडधुपमा छन् । किसानको तरकारी बजारीकरणका लागि प्रमुख विष्टले मुख्यमन्त्री कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश समेत पुगेका छन् ।  

नगरको तरकारीलाई अन्तरपालिका बजारीकरण गर्न सके किसानले सावाँ मात्र भएपनि पनि पाउने आशमा प्रमुख विष्ट भौतारिएका हुन् । प्रमुख विष्टले मनहरी, बकैया, बागमती, हेटौंडालगायतका स्थानीय तहहरुसंग समन्वय गरेर तरकारी विक्री गर्ने केन्द्रहरु संचालन गर्ने प्रयासका लागि पहल भइरहेको बताएका छन् । 

‘थाहानगरबाट तरकारीको गाडी सिधै गाउँपालिका वा उपमहानगरपालिकाले तोकिदिएको स्थानमा ल्याएर त्यहिबाट विक्री गर्न सकिन्छ कि भनी प्रयास गरिरहेका छौ’– उनले भने–‘वातावरण बनाइदिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई समेत आग्रह गरेको छु ।’ मुख्यमन्त्री पौडेल पनि यस्तो व्यवस्था गर्न सकारात्मक रहेको मेयर बिष्टले बताए ।

किसानको "कृषि चक्र" तोडिने चिन्ता

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले किसानको उत्पादनलाई बजारसम्म पु¥यान नसक्दा चिन्ता व्यक्त गरेका छन् । आफ्नो तहबाट सक्दो प्रयास गरिरहेको बताउँदै विष्टले यसका लागि अन्तरपालिका बजारिकरणको सवालमा माथिसम्म कुरा गरिसके उनले भने । 

पहिलो सिजनको तरकारी विक्रीबाट प्राप्त आम्दानीले किसानले गोलभेडा खेती गर्दछन् । त्यसलाई पनि विक्री गरी अर्को सिजनको तरकारी उत्पादनका लागि लगानी गर्छन् त्यसबाट भएको कमाइले जीवन चलाउँछन, विष्टले भने किसानको दैनिकीको चक्र नै तोडियो ।’

किसानको अहिले तत्कालको उत्पादनलाई मात्र बजार व्यवस्थापन गरिदिन सके ७५ लाख भन्दाबढीको लगानी जोगिने प्रमुख विष्टले बताएका छन् । यसका लागि मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरु गुहारिहरेको उनको भनाइ छ । ‘म पालिकाबाट किसानको तरकारी अन्यत्र लैजान जे गर्नुपर्ने हो गर्न तयार छु, कृषि मन्त्रालय र मुख्यमन्त्रीज्यूले पनि यसमा आवश्यक सहयोग गरिदिन पर्यो’, उनले भने ।


अघौटेको डेटलईन जेठको पहिलो साता
 
थाहा नगरपालिकाको १२ वटा वडा मध्ये अधिकांशमा आलु खेती गरिन्छ । तुलनात्मक रुपमा थाहा नगरपालिकाको वडा नम्बर ६, ९ र १० अर्थात चित्लाङ र बज्रवाराहीमा अहिले काउली, मुला, मटरकोसालगायतको तरकारी उत्पादनको मध्ये समय हो । यो अघौटे यहाँको बाली हो । यो क्रम जेठको पहिलो सातासम्म हुन्छ । सबैभन्दा बढि उत्पादन हुने यहि बेलामा लकडाउनका कारण तरकारी बजारसम्म लैजान नपाइएको कृषक मुक्तिनाथ उप्रेतीले जानकारी दिए । 

उत्पादित तरकारीले बजार पाउन नसके कृषकहरुको लगानी सबै खेर जाने कृषक फणिन्द्र सुवेदी बताउँछन् । किसानहरुले पहिलो छिमल पानी ओसारी–ओसारी गरेको खेतीको उत्पादनले बजार नपाए अर्को बाली लगाउनसमेत कठिन हुने कृषक सुवेदीको भनाइ छ । 

अहिले टनेल र खुल्ला रुपमा बज्रवाराही र चित्लाङमा रोपिएको काउली काट्ने समय हो । अब समयमै तरकारी नबिके काटेर बारीमै गाड्नुपर्ने बाध्यता सृजना हुने ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदीले दुःख व्यक्त गरे । काउली काटेर लगाउन ठीक्क भएको ब्याडमा गोलभेडाको विरुवा हुर्की सक्यो, बारी खाली नभए विरुवा छिप्पिन्छ त्यसैले काउलीलाई चाँडै बेच्नु पर्ने उनको भनाइ छ । 


तरकारीले यस कारण बजार पाएन 

सरकारले १३ चैतमा लकडाउन गरेपछि यातायातका सबै साधन ठप्प भए । यद्यपि तरकारी, खाद्यन्न दुधलगायतको अत्वश्यकीय वस्तु ढुवानी गर्ने साधनहरु भने संचालन भए । कोरोनाको त्रासले मानिसहरु बजारमा निस्कन कमी भए । होटल, व्यापारिक प्रतिष्ठानहरु बन्द भए । विद्यालय, क्याम्पस तथा अति आवश्यकीय सेवा प्रदायक बाहेक सबै कार्यालयहरु बन्द भए । फलस्वरुप त्यसको मार किसानमा पुग्यो र तरकारी बिकेन । ठूला तरकारी बजारहरुमा मानिसको भिडभाड भएको भन्दै सरकारले संचालनमा रोक लगाएको छ । 

थाहानगरको तरकारी पनि करिब ७० प्रतिशत काठमाण्डौंमा खपत हुने गर्दथ्यो । यससहित पोखरा, नारायणगढ, हेटौंडा लगायतका आसपासका जिल्लामा खपत हुने गर्दछ ।  तर ति शहरहरुबाट मानिसहरु पनि गाउँ फर्केपछि झन तरकारीले बजार नपाएको व्यापारीहरु बताउँछन् ।  


प्रशासनको निर्णय कार्यान्वयन सहजीकरण खोई ?

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्यत्रबाट तरकारी ल्याई बेचबिखन नगर्न व्यवशायीहरुलाई भनेको छ । मकवानपुर जिल्लामा उत्पादन भएका हरियो तरकारीले यो जिल्लाको मागलाई धान्न सक्ने भएकाले तत्काल भारत तथा अन्य छिमेकी जिल्लाबाट तरकारी आयात पूर्णतः रोक्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ । तर कार्यान्वयमा फितलो भएको पाइएको छ ।

प्रशासनले जिल्लाकै स्थानीय तहहरुमा उत्पादन भइरहेको तरकारी बजारीकरणको लागि आवश्यक समन्वय गरिदिनू पर्ने किसानहरुले बताएका छन् । यद्यपि थाहा नगरभित्र उत्पादन भएका तरकारीले बजार पाउन नसकेका कारण नगर प्रमुख बिष्ट बजार खोज्दै पालिकाहरुलाई अनुरोध गरिरेका छन् । 

कृषि सहकारीले काम गरेर देखाउ

साना किसान कृषि सहकारी सस्था बज्रवाराहीका अध्यक्ष महेश्वर सुवेदीले कृषि उपजको बजार व्यवस्थापनका लागि आवश्यक पहल भैरहेको बताएका छन् । तर, थाहा नगरपालिकामा रहेका अन्य कृषि सहकारीहरुले तरकारीलाई बजारीकरणको लागि कुनै योजना नबनाएको पाइएको छ । 

उनीहरुको सहकारी विनियम अनुसार पनि कृषकको उत्पादनलाई बजारीकरणको लागि आवश्यक सहयोग गर्नुपर्ने हुन्छ । अर्थात कृषकको हितमा काम गर्नुपर्ने व्यवस्था छ । अब तत्काल तरकारीलाई बजार पठाउन सकिएन भने थाहा नगरभित्र उत्पादित तरकारी किसानको खेतमै कुहिन्छ, अध्यक्ष सुवेदीले भने–‘यसक लागि सहकारहिरु पनि अघि सर्नुपर्ने देखिन्छ ।’



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif